Monday, April 3, 2023

६० हजारको ब्याज १० लाख तिर्न नसकेपछि घर जग्गा साहुको कब्जामा,पिडितको उठिबास

 ६० हजारको ब्याज १० लाख तिर्न नसकेपछि घर जग्गा साहुको कब्जामा,पिडितको उठिबास 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १९

    साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिबास भएको छ।

  जिल्लाको पर्सा गाउँपालिका वडा न-६ बस्ने राम इश्वर ठाकुरले ७ वर्ष अगाडी आफ्नो घर जग्गा  दृष्टिबन्धक राखेर गाउँकै एक ब्यक्तिसँग ६० हजार रुपैयाँ व्याजमा लिएका थिए। सो ६० हजार रुपैयाँको ७ वर्षमा व्याज रकमसमेत मिलाएर १० लाख रुपैयाँ भएको र सो रकम बुझाउन नसकेपछि साहुले निजको सम्पूर्ण घर जग्गा कब्जामा लिएपछि ठाकुर अहिले आफ्ना श्रीमती र बालबच्चासहित गाउँदेखि बाहिर रहेको एउटा पुरानो र जिर्ण विद्यालयमा बसिरहेका छन् ।

   आफुले  साहुलाई १ लाख २० हजार रुपैया बुझाउन तयार भएको तर साहुले भने व्याजसहित आउने सबै रकम माग गर्दै आएको ठाकुरले बताए । आफ्नो अवस्था निकैनै दयनीय रहेको र त्यति रकम दिन असमर्थ रहेको भन्दै अनुनय विनय गर्दा पनि साहुले नमानेको उनले दुखेसो पोखे।

    यसका लागि ठाकुरले पर्सा गा.पा को न्यायीक समितिमा पनि निवेदन दिएको र न्यायीक समितिले पनि ठाकुरकै  पक्षमा फैसला सुनाएको गा.पा अध्यक्ष धरेन्द्र यादव विस्पतले बताए ।

    ठाकुरका अनुसार आफुले २०७२ सालमा साहुसँग ६० हजार रुपैया श्रृण लिएको र सो रकम केही समस्याका कारण तिर्नमा ढिलो भएको थियो।आफुले काठमाडौंमा संचालन गरेको गार्मेन्ट भुँइचालोमा भत्किएर ठूलो घाटा भएको र पछि कोरोना कालमा समेत आर्थिक समस्या थपिएपछि साहुको श्रृण चुक्ता गर्न नसकेको सुनाए।साहुले गाउँमा भएको ३ धुर जग्गा पनि अदालतबाट मुद्दा गरेर आफ्नो कब्जामा लिइसकेको उनले गुनासो गरे।

   आफु साहुलाई १ लाख २० हजार रुपैया दिन तयार रहेको र न्यायीक समितिले सोही अनुसार फैसल सुनाए पनि साहु मान्न तयार नभए पछि बाध्य भएर आफुलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनुपरेको ठाकुरले बताए।

   न्यायको लागि पहल गरिदिन भन्दै ठाकुर दम्पती सरोकारवाला निकाय र समाजसेवीहरुसँग अनुरोध गरेका छन् ।


No comments:

Post a Comment