Monday, April 3, 2023

मिटरब्याजका कारण घरवार विहिन हुने अवस्था आएको पिडितहरुको गुनासो


मिटरब्याजका कारण घरवार विहिन हुने अवस्था आएको पिडितहरुको गुनासो


मनोज यादव---

सर्लाही,चैत्र २०

    सर्लाहीको हरिपुरमा आयोजित अन्तरक्रिया कार्यक्रम मार्फत दलित समुदायका मुसहर महिलाहरुले मिटरब्याजी साहुका कारण आफुहरुलाई घरवार विहिन हुने अवस्था आएको गुनासो गरेका छन् । सोमबार हरिपुर नगरपालिकाको हरिपुर बजारमा रहेको रेडक्रस सोसाइटीको सभाहलमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले  आयोजना गरेको मिटरब्याज न्यूनिकरण तथा सचेतना अभिवृद्धिको सम्बन्धमा सरोकारवाला निकाय सँग नीतिगत अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय दलित समुदायका  मुसहर महिलाहरुले यस्तो गुनासो गरेका हुन।

    साहुले घर व्यवहार धान्न र अन्य अतिआवश्यक कार्यको लागि लिएको सानो श्रृणको व्याज तिर्न नसक्ने गरि कम समयमै कयौं गुणाले वृद्धि गरि भएभरको जायजेथा कब्जामा लिएर उठिबास बनाएको उनीहरूले गुनासो गरेका थिए।मिटरव्याजीहरुले घरवार विहिन बनाउनुको साथसाथै तनाव समेत दिने गरेको पल्टनिया माझीले बताइन् ।कतिपय मिटरव्याज पिडितहरु माथि हिंसा पनि भइसकेको माझीले बताइन् ।

     कार्यक्रममा पल्टनियाको जस्तै संगिता माझी, राजो देवी माझी,बाल कुमारी  माझीलगायतले पनि  मिटरब्याजबाट झेल्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए।कार्यक्रम मार्फत पिडितहरुले सरकारले यस विषय माथि गम्भीरतापुर्वक ध्यान दिन र मिटरव्याजी साहुबाट उन्मुक्ति दिलाउन समेत माग गरेका थिए।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका हरिपुर नगरपालिकाका नगर प्रमुख  गोपाल पंजियारले मिटरब्याजको समस्या सामाजिक तबरबाट सम्वोधन गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो। उहाँले अनावश्यक ऋण नलिन र आवश्यक परेको अवस्थामा श्रृण लिनुपर्दा जाने बुझेकासँग  सरसल्लाह गरेर र होस् पुर्याएर मात्र श्रृण लिन सुझाव दिनुभयो ।

   कार्यक्रममा ,साप नेपालका कार्यक्रम संयोजक जनक कार्की,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं दलित अधिकारकर्मी राजेश पासवान,राम नरेश मण्डल,इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी नायब निरीक्षक (सई) जितेन्द्रप्रसाद साह,ओरेक नेपाल सर्लाही जिल्ला संयोजक देव कुमारी महरा,नेकपा माओवादी केन्द्रका नेता सुनिल कुमार बुढाथोकी,हरिपुर न.पा को विभिन्न वडाका वडाध्यक्ष, दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए।


No comments:

Post a Comment