Sunday, October 8, 2023

RRPK द्वारा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

 RRPK द्वारा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २१

    राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(RRPK)ले सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, पारदर्शिता र प्राप्त नतिजाको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुलाई जानकारी गराइ लेखाजोखा र मुल्यांकन गरि सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम निर्देशक शिवजी साहले जानकारी गराएको छ।

    जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष बजरंगबली साहले आर्थिक वर्ष २०७९-०८० मा संचालित कार्यक्रमहरुको सामाजिक परिक्षण प्रतिवेदन पेश गर्दै संचालित परियोजनाहरु सो को प्रगति र प्राप्त उपलब्धिहरुको बारेमा जानकारी गराएका थिए।संस्थाले सर्लाही जिल्लाको बलरा ,गोडैता तथा हरिपुर्व नगरपालिका र चन्द्रनगर,ब्रह्मपुरी,कौडेना तथा पर्सा गाउँपालिकामा दातृ संस्थाहरु वर्ड एजुकेसन इन्टरनेसनल नेपाल ,ह्याण्डिक्याप इन्टरनेसनल नेपाल ,सेभ द चिल्ड्रेन , सेसी,वर्ड भिजन इन्टरनेसनलको सहयोग बाट सिकाई,लेगो,अस्थेल,पोशन ,एनआरएन,समुन्नती ,गाल ,कोरल परियोजना संचालन गरेको छ।यस बाहेक संस्थाले आफ्नै आन्तरिक कोष र स्थानीय तहको सहयोगमा निशुल्क एकीकृत स्वास्थ्य शिविर समेत संचालन गरेको उपाध्यक्ष साहले जानकारी गराएका थिए।उनले आ.व २०७९/०८० मा संचालित परियोजना तथा क्रियाकलापहरुबाट १८ वर्ष मुनीका बालबालिका ,दलित,जनजाती,अपाङ्गता भएका ब्यक्ति र यौनिक तथा अल्पसंख्यकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको  समेत जानकारी गराए।संस्थाले आ.व २०७९/०८० मा जम्मा २३ करोड ६२ लाख ९१ हजार ९ सय ८९ रुपैया खर्च गरेको छ।
   
कार्यक्रममा सहभागी भएका लक्षित तथा लाभान्वित समुहका सदस्य तथा सरोकारवालाहरुले संस्थाले कृषि ,स्वास्थ्य र शिक्षाको क्षेत्रमा संचालन गर्दै आएको परियोजना र कार्यक्रमहरु उपलब्धिमुलक रहेको बताएका छन् । समुहमा आबद्ध भएर कृषि कार्य गर्दै आएका महिला सदस्यहरु आर्थिक कारोबारमा सक्रिय भएको बताएका छन् ।

   यो संस्थाले समावेशी ,न्याय र सम्बृद्ध आत्मनिर्भर समाजको निर्माण गर्ने उदेश्यका साथ वि.स २०६१ सालमा सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भइ विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुको सहयोग तथा साझेदारीमा समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरुको न्युनिकरण तथा शिक्षा,स्वास्थ्य ,जिविकोपार्जन,जलवायु परिवर्तन ,विपद व्यवस्थापन ,बालअधिकार प्रबर्द्धन, लैंगिक समानतता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कार्य गर्दै आएको छ।


    मलंगवा स्थित सुजाता होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामा शंकर प्रसाद कुशवाहा,उपप्रमुख कोशिला देवी,पर्सा गापाकी उपाध्यक्ष नुतन देवी मण्डल ,गोडैता नपा वडा न-१ का वडाअध्यक्ष सोजित महतो,बलरा नपा -१ का वडाअध्यक्ष सुखलाल सहनी,गोडैता नपा का स्वास्थ्य संयोजक प्रमोद पंडित,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,सरोकारवाला लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
    
 

Thursday, October 5, 2023

सर-म्याडमहरु आफ्नो छोराछोरी बोर्डिङ स्कुलमा पढाउनु हुन्छ,तर आन्दोलनको नाममा हाम्रो पढाइ बिगारी रहनु भएको छ:विद्यार्थीहरुको गुनासो

  सर-म्याडमहरु आफ्नो छोराछोरी बोर्डिङ स्कुलमा पढाउनु हुन्छ,तर आन्दोलनको नाममा हाम्रो पढाइ बिगारी रहनु भएको छ:विद्यार्थीहरुको गुनासो  

मनोज यादव---


सर्लाही,असोज १८

   सरकारसँग आफ्ना मागहरु सम्बोधन गराउन सडक आन्दोलन गर्न काठमाडौ गएका शिक्षकहरु आ-आफ्नो जिल्ला फर्किसकेका छन् ।उनीहरू सम्बन्धित विद्यालयमा हाजिर पनि भएका छन् । तर पढाउन भने सुरु गरेका छैनन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ। 
     विद्यालय शिक्षा विधेयकको विरोधमा  शिक्षकहरूको आन्दोलनका कारण देशभरका ५  लाख भन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।सर्लाहीबाट पनि सयौं शिक्षकहरु   सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए। उनीहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढ्ने सर्लाहीका हजारौं विद्यार्थीहरुको पढाई प्रभावित भएको थियो।

   आन्दोन गर्नका लागि काठमाडौ गएका सर्लाहीका शिक्षकहरु आआफ्नो विद्यालयमा फर्किसकेको भएपनि पठनपाठन सुरु गरेका छैनन् ।उनीहरू विद्यालय त गइरहेका छन् ,तर पढाउनको लागि कक्षाकोठामा पसिरहेका छैनन् । बिहान १० बजेदेखि छुट्टी नहुन्जेलसम्म दिनभरी कार्यालयको कोठा र चौरमा बसेर आफ्ना माग  र राजनीतिक विषयमा गफगाफ गरेर समय बिताउने गरेका छन् ।

     मलंगवा नगरपालिकामा  रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय किन नगएको भनि प्रश्न गर्दा "सरहरु पढाउनु हुन्न दिनभरी अफिस र चौरमा बसेर खै के-के कुराकानी गरेर बस्नुहुन्छ त्यसैले हामी विद्यालय नगइ घरमै बसेर पढाइ गरिरहेका छौं ", बताए। सरहरुको छोराछोरी त बोर्डिङ स्कुलमा पढ्छन् ।उहाँहरुको छोराछोरीले त राम्ररीनै पढाइ गरिरहेका होलान् तर हामीहरु जस्ता गरिबका छोराछोरीको त पढाइ बिग्रिरहेको छ,उनिहरुले गुनासो गरे। सामुदायिक विद्यालयका शिक्षकहरु परिक्षाको मुखमै आएर आन्दोलनको नाममा  पठनपाठन अवरुद्ध गरेर  विद्यार्थीहरुको भविष्यनै धरापमा पारेको अभिभावकहरुले गुनासो गरेका छन् ।आफ्नो अधिकारको लागि लड्नु राम्रो भएपनि आफुलेनै पढाउँदै आएको विद्यार्थीहरुको भविष्य बिगार्नु पनि नराम्रो भएको अभिभावकहरुको भनाई छ।

   अहिले मलंगवा नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको पठनपाठन बन्द गरेका छन्। जसले गर्दा विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् ।
   यस तर्फ नगरपालिकाको तुरुन्त ध्यान जान जरुरी छ।

Sunday, October 1, 2023

मलंगवामा राती लगाउँदै आएको कर्फ्यु हटाइयो,१८ गते उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा बृहत सद्भाव र्याली निकालिने

 मलंगवामा राती लगाउँदै आएको कर्फ्यु हटाइयो,१८ गते उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा बृहत सद्भाव र्याली निकालिने



लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज १४
   सर्लाहीको सदरमुकाम  मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडप पश्चात लगाइएको कर्फ्यु आजबाट पुर्णरुपमा हटाइएको छ।
   आज(आइतवार) दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला स्थित प्रदेश सभा सदस्य ,स्थानीय तहका प्रमुख,जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि ,नागरिक समाज,मानवअधिकारकर्मी तथा पत्रकारहरु लगायतको उपस्थितिमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबाट गत असोज ८ गतेबाट अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि राती ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि लगाइएको कर्फ्यु हटाइएको हो। शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले सर्वसम्मतिले राती लगाउँदै आएको कर्फ्यु पुर्णरुपमा हटाइएको प्रजिअ यादवले जानकारी दिए।

   जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले असोज १८ गते उपप्रधान एवं गृहमन्त्री समेतको उपस्थितिमा सर्वपक्षीय ,सर्वदलीय वृहत सद्भाव र्याली निकाल्ने समेत निर्णय गरेको छ।
   यसैगरी कृष्ण जन्माष्टमी पुजाको मुर्ती विसर्जनको क्रमदेखी गणेश पुजाको मुर्ती विसर्जनसम्म भएका घटनामा ढुंगामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते भएको मानवीय क्षति समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरि दोषी माथि कारबाही र पुगेको क्षतिको मुल्यांकन एवं अनुसंधान यथासिघ्र जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गर्ने निर्णय गरिएको छ।


नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्छ- अर्थ मन्त्री डा. महत

 नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्छ- अर्थ मन्त्री डा. महत  


 लोकतन्त्र समाचारदाता---        सर्लाही,१४ असोज 

     नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्ने बताउनु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको अग्रणी भुमिका हुने भएको हुदाँ कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने अर्थमन्त्री महतले भन्नुभयो ।

 नेपाल सरकारले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको अनुदान समेत दिने मन्त्री महतले बताउनु भयो । अनुदानको लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यहरु समेत गरिरहेको हुदाँ नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने मन्त्री महतले बताउनु भयो । कृषि क्षेत्रमा आत्मनिर्भर बने, देशको अर्थतन्त्र विकास हुने अर्थमन्त्री महतको भनाई थियाे । कृषी र पर्यटन व्यवसाय अब छिट्टै फन्को हान्ने समेत मन्त्री महतले दाबी गर्नुभयो । 


    यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन समेत आग्रह गर्नुभएको छ । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरी अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा. महतले भन्नुभयो, ।

 आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न मन्त्री महतको भनाइ थियो ।

 
     मन्त्री महतले कुनै पनि दललाई सरकार बनाउन एकल बहुमत नभएको हुदाँ बिभिन्न दल सम्मिलित सरकार बनेको हुदाँ विकासमा एकरुपता नभएको बताउनुभयो ।

स्वादिष्ट परिकार बेच्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका विद्यार्थी

स्वादिष्ट परिकार बेच्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका विद्यार्थी -अजिता चौधरी ---


सर्लाही,१४ असोज 
     सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जनज्योति बहुमुखी क्याम्पसमा फुड फेस्टिबलको आयोजना गरिएको छ । बि.बि.एस. चौथो वर्ष व्यवस्थापन संकायमा अध्यनरत छात्र छात्राहरुको आयोजनामा उद्यमशिलतालाई प्रवद्र्धन गर्न फुड फेस्टिबलको आयोजना  गरिएको हो ।
   यस महोत्सवमा यहाँ अध्यनरत विद्यार्थीहरुले घोँगी, चाउमिन, मःम, चना, अण्डा, आलु चप, लगायत विविभिन्न परिकारहरु बनाई सुपथ मुल्यमा बेच्ने गरेको जनज्योतिका पुर्व विद्यार्थी मनोज बख्रे्रलले जानकारी दिनुभयो । 
खास गरी चौथो सेमेस्टरमा उद्यमशिलता भन्ने विषय छ, छात्र तथा छात्रालाई खासगरी उद्यम गर्न प्रेरित गर्न पनि फुड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको जनज्योति बहुमुखी क्याम्पसका उपप्रध्यापक देवराज पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरु खासगरी सैद्धान्तिक ज्ञानहरु सिकेको थियो र आज विद्यार्थीहरु व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास गरेको छ, यसले उद्यमशिलतालाई प्रोत्साहन गरेको उपप्रध्यापक पौडेलले बताउनुभयो ।
विद्यार्थीहरु आफैले विभिन्न परिकार बनाएर कम पुँजीमा आज राम्रो व्यवसाय गरेको छ, यसले बैदेशिक रोजगारीलाई समेत चुनौती दिएको उपप्रध्यापक पौडेलले बताउनुभयो ।
जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरुले व्यवहारिक ज्ञान हाँसिल गरी भोलिका दिनमा स्वरोजगारीको हुने अवसरकोे रुपमा लिएको र आउने दिनमा यस्ता कार्यक्रमको निरन्तरता हुने समेत क्याम्पस प्रमुख उमेश तिमल्सिनाले बताउनु भयो । उहाँले विद्यार्थीहरु राम्रो सँग उद्यम गरेको बताउनुभयो ।

सर्लाहीमा मिटर ब्याज सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन इलाका प्रहरी र इलाका प्रशासन कार्यालयले हेर्ने

 सर्लाहीमा मिटर ब्याज सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन  इलाका प्रहरी र इलाका प्रशासन कार्यालयले हेर्ने 






लोकतन्त्र समाचारदाता----
सर्लाही,असोज १४

    सर्लाहीमा मिटर ब्याज अर्थात अनुचित लेनदेन सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन  अबदेखि इलाका प्रहरी कार्यालयले हेर्ने भएको छ। यसका लागि अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले मिटर ब्याजी बिरुद्ध परेका ५ लाख भन्दा कम रकमको निवेदनहरु फर्छ्यौटका लागि सम्बन्धित इलाका प्रहरी र इलाका प्रशासन कार्यालयहरुमा पठाउने निर्णय गरेको छ।

     अनुचित लेनदेन समन्वय सहजीकरण समितिले निवेदकले सुरुमा लिएको ५ लाख वा सो भन्दा कम रकमको निवेदन माथि छलफल गरि फर्छ्यौट गराउनका लागि सम्बन्धित इप्रकामा पठाउने  निर्णय गरेको हो।

   समितिको निर्णय बमोजिम जिल्लाको  बरहथवा,गडहिया,हरिपुर,लालबन्दी र केशरगंज इप्रकामा ३०-३० वटा निवेदनका फाइलहरु पठाइएको छ भने इप्रका चक्रघट्टामा १५ वटा र इप्रका हरिवनमा १२ वटा फाइलहरु पठाइएको छ । इलाका प्रशासन कार्यालय बरहथवामा समेत २७ वटा गरि जम्मा २०४ वटा निवेदनका फाइलहरु पठाइ सकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ।दुवै पक्ष बिच छलफल गराइ निवेदन फर्छ्यौट गराउन सबै कार्यालयहरुमा फोकल पर्सन समेत तोकिएको छ। 

    यसअघि गाउँघरमै स्थानीय भरभलादमी तथा जनप्रतिनिधिहरुको रोहवरमा दुवै पक्ष बिच सहमती भई सहमती कार्यान्वयन समेत भइसकेका वा लेनदेन कारोबारको निरन्तरता नरहेको निवेदनलाई मिटर व्याज कारोबार अन्तर्गत नहेर्ने सहजीकरण समितिले निर्णय गरेको छ।   

सर्लाहीको पर्सा स्थित सती बिहुला स्थानमा डिप बोरिङको उद्घाटन

 सर्लाहीको पर्सा स्थित सती बिहुला स्थानमा डिप बोरिङको उद्घाटन 


लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज १४

      सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुर स्थित सती बिहुला स्थानमा डिप बोरिङको उद्घाटन भएको छ । संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र रायको विशेष पहलमा जडान भएको उक्त डिप बोरिङको शनिबार एक समारोहका बिच गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव`विस्पत´ ले उद्घाटन गरेका हुन् ।

    समयमा बर्षा नहुँदा खेतबारीमा सिंचाइको समस्या भोग्दै आइरहेका   किसानहरुको लागि यो एउटा ठुलो उपलब्धि मुलक भएको र यसबाट किसानको समस्या केही हद सम्म समाधान हुनेछ भन्ने विश्वास लिइएको गापा अध्यक्ष यादवले बताए।उनले  उद्घाटन समारोहमा उपस्थित हुन नपाएका  खानेपानी मन्त्री रायलाई यसै कार्यक्रम मार्फत धन्यवाद दिंदै  अगामी दिनहरुमा पनि यस्तै सहयोगको अशा र अपेक्षा गरे। 

  कार्यक्रममा वडा न-२ का वडाध्यक्ष सतेन्द्र राय, राकेश राम, स्थानीय समाजसेवी मानेश्वर यादव, अरुण मण्डल, रामनाथ राय, महमुद अन्सारी, कार्यपालिका सदस्य प्रविण रजक लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।