Thursday, July 21, 2022

हरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ५

    सर्लाहीको हरिवनबाट लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगरपालिका वडा न-३ बस्ने कृष्ण बहादुर खत्रीको छोरा वर्ष ३५ को दिपक खत्री र काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका वडा न-४ बस्ने राकेश लामाको छोरा वर्ष २६ को बिजय लामा रहेका छन् ।

     बुधबार राति हरिपुर न.पा तर्फबाट मोटरसाइकलमा सवार भएर दुईजना ब्यक्ति शंकास्पद अवस्थामा आउँदै गरेको छ भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ती दुई ब्यक्तिहरु प्रहरी टोलीलाई देख्ने बितिक्कै ना २० प ९३७ नम्बरको  मोटरसाइकलसहित भित्री सडकमा भाग्न खोज्दा हरिवन वडा न-९  दनुवारी टोल स्थितबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ। 

  उनीहरुको साथबाट प्रहरीले ४९५ एम्पुल डाइजेपाम,५०० एम्पुल फेनार्गन,१४४ वटा क्यापसुल स्पास्मो प्रोक्सिभोन प्लस र नाम लेबुल नखुलेको ५०० एम्पुल लागुऔषध र विभिन्न कम्पनीको मोबाइल फोन ५ थान बरामद गरेको छ ।

   पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Wednesday, July 20, 2022

पहिलो चरणको शान्तिपुर्ण आन्दोलन पछि अब हुने दोस्रो चरणको आन्दोलन थप कडाइका साथ अगाडी बढाउने असन्तुष्ट करार सेवाका कर्मचारीको चेतावनी

===पैसाको चलखेल गरि नयाँ नियुक्ति दिन आफुहरुको माग प्रति पालिका गम्भीर नभएको उनीहरुको आरोप===



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ४

    कबिलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरुले आफुहरूको माग तत्काल सम्बोधन गरि सेवामा निरन्तरता नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

     म्याद थप तथा करार नविकरण नहुने भनि निर्णय भएको प्रति असन्तुष्टि जनाउँदै विगत ३ दिनदेखि नगरपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतको अध्यक्षतामा आज(बुधबार) दिउँसो  आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका पत्रकारहरुलाई सो कुराको जानकारी गराउँदै चेतावनी दिएका हुन। नगरपालिकाको कार्यालय अगाडी  आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष राउतलेले आफूहरूको रोजीरोटी खोसिएमा जस्तोसुकै कडा आन्दोलन गर्न तयार रहेको चेतावनी दिए।

    कबिलासी नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले उक्त निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने  अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ मधेश प्रदेशका संयोजक लालबाबु यादवले बताए ।राजनीतिक नियुक्ति र पैसाको चलखेल गर्न राजीरोटी खोस्ने प्रयास भएमा हामी चुप लागेर बस्न सक्दैनौं। नेपालको संविधानले नै रोजगारीको हकको ग्यारेन्टी गरेको छ´संयोजक यादवले भने।

   करार तथा ज्यालादारी कर्मचारीले यसअघि नै आफ्ना माग पूरा गर्न नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी, पत्रकार महासंघ लगायतका निकायहरुमा ज्ञापनपत्र बुझाएका छन्। आफुहरूको मागलाई विभिन्न संघसंगठनले पनि समर्थन जनाएको पिडित कर्मचारीहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।

      कार्यसम्पादनमा दक्ष र इमानदार हुँदा पनि किन एकैसाथ ठुलो संख्यामा   कर्मचारीहरुलाई निकालियो भन्ने कारण बारे बुझ्न र सो विषयलाई लिएर पत्रकारहरुले गर्ने सवालको जवाफ दिन भनि नगर प्रमुखसहित  पालिकाकाका जिम्मेवार पदाधिकारीहरुलाई पत्रकार सम्मेलनमा आमन्त्रित गरेपनि उहाँहरु आआफ्नो कार्यव्यस्तताको बहाना बनाएर कार्यक्रममा सहभागी हुन चाहनु भएन । पैसाको चलखेल गरि आफ्ना आसेपासेलाई नयाँ नियुक्ति दिनकै लागि आफुहरुको जायज माग प्रति पालिका गम्भीर नभएको उनीहरुको आरोप छ।

    जिल्लाका अन्य पालिकाका पिडित तथा पालिकाको निर्णयप्रति असन्तुष्ट करार सेवाका कर्मचारीहरु पनि आफुहरुको आन्दोलनमा एकवद्दता जनाइसकेकाले पहिलो चरणको शान्तिपुर्ण आन्दोलन पछि अब हुने दोस्रो चरणको आन्दोलन थप कडाइका साथ अगाडी बढाउने इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष राउतलेले पत्रकारहरुलाई जानकारी गराए।

युवाहरूलाई स्वस्थ र खेलकुद प्रति सक्रिय बनाउन मधेश प्रदेशको सबै पालिकामा जिमखानाको निर्माण निर्माण गर्छु:खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह




लोकतन्त्र समाचारदाता-----

सर्लाही,साउन ४ 

    मधेस प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेशको राजधानी जनकपुरधाममा नवनिर्मित  व्यामशाला(जिमखाना)को उद्घाटन गर्नुभएको छ। श्रीराम ब्यामशालाको उद्घाटन गरेका छन् ।

   सर्लाहीको धनकौल गाउँपालिका निवासी समेत रहनु भएका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता ,मधेस प्रदेश उपसभापति तथा संगठन विभाग प्रमुख मन्त्री सिंहले बुधबार एक कार्यक्रमबीच जनकपुरधाममा निर्माण भएको श्रीराम ब्यामशालाको उद्घाटन गर्नुभएको हो।

   व्यामशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले युवाहरूलाई स्वस्थ र खेलकुद प्रति सक्रिय बनाउने आफ्नो परिकल्पना रहेको बताउनुभयो ।सोही अनुसार पहिलो चरणमा आठवटै जिल्लाका सदरमुकाममा जिमखाना खोल्ने योजना रहेको र पछि मधेसको हरेक पालिकामा जिम हल खोलेर युवाहरुलाई खेलकुदमा सक्रिय बनाउने, स्वस्थ बनाउने र रोजगारीका लागि योग्य बनाउने उद्देश्य लिएको बताउनुभयो ।

    मन्त्री सिंहले उद्घाटन गर्नुभएको श्रीराम ब्यामशालाको निर्माण मधेश प्रदेश सरकारको खेलकुद मन्त्रालय अन्तर्गत गरिएको हो।

Tuesday, July 19, 2022

म्याद थप तथा करार नविकरण गर्नुपर्ने माग राख्दै कबिलासी नगरपालिकाका करार सेवाका कर्मचारीहरु धर्नामा

 

---बुधबार पत्रकार सम्मेलन गर्ने---

मनोज यादव---

सर्लाही,साउन ३

      म्याद थप तथा करार नविकरण नहुने भनि निर्णय भएको प्रति असन्तुष्टि जनाउँदै सो निर्णयको विरोध गर्दै कबिलासी नगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरु म्याद थप गर्नुपर्ने माग राखेर नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन् ।सोमबारदेखि सुरु गरेको धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो दिन आज(मंगलबार)पनि उनिहरु विरोध स्वरुप  हात र टाउकोमा कालोपट्टी बाँधेर  नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन्।

  कबिलासी नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले सोको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी, पत्रकार महासंघ लगायतका निकायहरुमा ज्ञापनपत्र  बुझाइ सकेको अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतले बताए ।यसअघि नगर प्रमुखलाई समेत म्याद थप गर्न पहल गरिदिन भनि प्रत्येक्ष भेटेर गुनासो गरिसकेको तर पनि उहाँहरुबाट आफुहरुले गरेको  गुनासोको कुनै सुनवाइ नभए पछि बाध्य भएर चरणबद्ध आन्दोलनको कार्यक्रमहरु तय गरि सोही अनुसार धर्नामा बसेको अध्यक्ष राउतले बताए । नगरकार्यपालिकाले गरेको भेदभावपुर्ण निर्णयलाई सच्याएर माग सम्बोधन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने पिडित करार सेवाका कर्मचारीहरुले बताएका छन् ।

    इमानदारीपुर्वक काम गर्दै आइरहेको अवस्थामा  पालिकाले एकाएक आफुहरुलाई हटाएर राजनीतिक र पैसाको चलखेल गरेर आफ्नो मान्छेलाई नियुक्ति दिने दाउपेच खेलिरहेको उनीहरुको आरोप छ।  सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा उल्टाे रोजीरोटी खाेस्ने काम गरेको उनीहरूले गुनासो गरेका छन् ।

    अबपनि आफुहरुको माग अनुसार कार्यपालिकाको उक्त निर्णय नसच्चाइएको खण्डमा पत्रकार सम्मेलन गरि नगरपालिकाको परिसरमा संघ संगठन लगायत अन्य कर्मचारीहरुबाट प्रतिबद्धता जाहेर गराएर चरणबद्ध रुपमा थप कडाइका साथ आन्दोलनको कार्यक्रमहरु गर्ने  इकाई कमिटी कबिलासी नपाका अध्यक्ष राउतले जानकारी गराए।

   यस्तै खालको निर्णय सर्लाहीका  आधा दर्जन भन्दा बढी पालिकाहरुले पनि गरेकाले त्यहाँ कार्यरत  करार सेवाका कर्मचारीहरुले पनि उक्त निर्णय प्रति आपत्ती जनाउँदै आआफ्नो पालिकामा विरोधका कार्यक्रमहरु सुरु गरेका छन् ।

   


बजेट अभावका कारण बिचमै रोकिएको बरहथवा-बिरगंज सडक निर्माणको जिम्मा बरहथवा नगरपालिकाले लिए

 




मनोज यादव---

सर्लाही,साउन ३

    बजेट अभावका कारण  मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको ठुलो तथा कृषि एवं औधोगिक नगरपालिकाको रुपमा रहेको बरहथवा नगरपालिकादेखि मधेश प्रदेशको सबैभन्दा ठुलो औद्योगिक एवं आर्थिक नगर पर्सा जिल्लाको बिरगंज नगरपालिकासँग जोड्ने सडकको निर्माण सम्पन्न हुन बाँकी रहेको सडकको अधुरो काम पुनः सुरु हुने भएको छ।

    संविधानसभा सदस्य हरि उप्रेतीले  २०७२ सालमा उक्त सडकमा पर्ने बागमती नदीमा ४८ करोडको लागतमा ७५० मिटर लामो पक्की पुलको शिलान्यास गरि ३८ महिनामा निर्माणकार्य सम्पन्न गराइ पुल भएर आवतजावत सुचारु गराएका थिए।सर्लाही जिल्लाबाट देशकै सबैभन्दा ठुलो आर्थिक नगर बिरगंज जान दुृरी र समयको हिसाबले पुर्व पश्चिम राजमार्ग को भन्दा बरहथवा भएर जान कम दुरी र समय लाग्ने भएको यस क्षेत्रका मानिसहरु यसै बाटोको प्रयोग गर्दै आएका थिए। तर यसअघि बागमती नदीमा पुल नहुँदा वर्षातको मौसममा नदीमा बाढी आउँदा मानिसहरुलाई सर्लाही जिल्लाबाट रौतहट जिल्ला हुँदै पर्साको बिरगंज जान राजमार्गको प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले आफ्नो पहलमा बागमती नदीमा पुलको निर्माण गराइ वर्षभरीनै उक्त सडक भएर आवतजावत सुचारु गराएको संविधानसभा सदस्य उप्रेतीले बताए ।

   तर पुलको निर्माणकार्य सम्पन्न भएर आवतजावत सुचारु भएपनि केही स्थानमा बाटोहरु बिग्रिएका कारण ठुला-साना निजी तथा सार्वजनिक सवारीहरु भने चल्न सकेका छैनन् ।जसले गर्दा यस क्षेत्रका बासिन्दाहरुलाई राजमार्गकै भर पर्नु परेको छ।

     सर्लाहीको  हजरिया स्थित सहनी टोलदेखि बागमती पुलसम्मलको सडक बरहथवा नगरपालिकाको मातहतमा पर्ने भएकोले उक्त सडकको निर्माण तथा मर्मतको जिम्मेवारी सोही पालिकाको भएको उप्रेतीले बताउनुभयो ।यसका लागि नगरप्रमुख कल्पना कटुवाल निर्माणविज्ञ तथा स्थानीयहरुको साथमा हजरियादेखी बागमती पुलसम्मको सडकको निरिक्षण गर्नुभएको छ।

    निरिक्षण गर्दै उहाँले बजेट अभावका कारण पुरा हुन नसकेको सडक निर्माणको काम आफुले पूरा गर्ने बताउनुभयो।साथै उहाँले अबको केही दिनमै यस क्षेत्रका नागरिकहरु बिरगंज जानको लागि पुर्व पश्चिम राजमार्गको साटो बरहथवाकै बाटो प्रयोग गर्ने छन् भनि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Monday, July 18, 2022

सर्लाहीका संचारकर्मी संतोष कर्ण मुख्यमन्त्री लालबाबु राउतद्वारा बेस्ट रेडियो एङ्कर(RJ)बाट सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २

    सर्लाहीका संचारकर्मी संतोष कर्णलाई   मधेश प्रदेश सरकारका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बेस्ट रेडियो एङ्कर(RJ)बाट सम्मानित गर्नुभएको छ।

    नेपाल इन्स्टिच्युट अफ मास कम्न्युकेसन प्रालि र कलैया उपमहानगरपालिकाले बारा जिल्लाको कलैयामा आयोजना गरेको मधेश प्रदेश मिडिया एवार्ड२०७९ कार्यक्रमको  अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री राउतले सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ घर भई मलंगवाकै एक स्थानीय एफएम रेडियो स्टेसनमा  कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत संचारकर्मी कर्णलाई उक्त विधाको पुृरस्कारबाट सम्मानित गरिएको हो।

    उहाँले सर्लाहीसहित मधेश प्रदेश र छिमेकी देश भारतको विहार राज्यको विभिन्न गाउँ,शहरमा  एउटा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा  मात्र नभइ मैथिली लोक गायक र अभिनेताको रुपमा पनि जनमानसमा राम्रो प्रशिद्धी कमाउनु भएको छ।कर्ण जिल्लाकै कबिलासी नगरपालिकाको पिपरिया माविमा शिक्षक पनि हुनुहुन्छ ।

रोम विधान अनुमोदनको माग गर्दै सर्लाहीका अधिकारकर्मीहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए



 

लोकतन्त्र समाचारदाता----

सर्लाही, साउन २

     सर्लाही  जिल्लाका क्रियाशिल मानवअधिकार संस्थाहरुले रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित जिल्लाका अधिकारकर्मीहरुले सो ज्ञापन पत्र बुझाएका हुन ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाईएको हो । ज्ञापन पत्र मार्फत नेपाल सरकारलाई रोम विधान तत्काल अनुमोदन गर्न र यसको पक्ष राष्ट्र हुन जोडदार माग गरिएको छ ।

   अन्तर्राष्ट्रिय न्याय दिवसमा अन्तर्राष्ट्रियस्तरमा गरिएका मानव अधिकारसम्बन्धी प्रतिबद्धताहरू सरकार पक्षहरूलाई स्मरण गराउन तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न घच्घच्याउन वर्षैपिच्छे स्मरण गर्ने गरिएको छ । विगतमा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनामा न्याय प्राप्तिका लागि गरिएका प्रयास र आगामी कदमहरूका बारेमा पनि यस अवसरमा सरोकार राख्ने गरिएको छ।

   अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान सन् १९९८ को जुलाई १७ मा इटालीमा भएको एक भेलामार्फत पारित गरिएको थियो । हाल यो विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एशियाका बङ्गलादेश, अफगानिस्तान, मालदिभ्स लगायत एशियाका १९ देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् । नेपाल भने हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जबाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्दछ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप भने हुँदैन । राज्यले दण्डहीनताको अन्त्य र मानव अधिकार संरक्षण र संबर्द्धनका लागि रोम विधानको अनुमोदन गर्नु जरूरी भएको ज्ञापन पत्रमा लेखिएको छ ।

   पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गरेको भएपनि अहिले सम्म कार्यान्वयन भएको छैन । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका समयमा समेत पटकपटक रोम विधान पारित गर्न प्राप्त भएका सुझावहरूको कार्यान्वयन गराउन समेत ज्ञापनपत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराईएको छ।

   ज्ञापन पत्रमा इन्सेक सर्लाही प्रतिनिधि बुधन साह ,नेपाल राष्ट्रिय दलिय समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवान,ओरेक नेपाल सर्लाहीकी देव कुमारी महरा,नागरिक समाजका उग्रकान्त झा र जागृति महिला विकास सेवा केन्द्र मलंगवाकी टुना कुमारी साहको हस्ताक्षर रहेको छ।