Tuesday, July 19, 2022

म्याद थप तथा करार नविकरण गर्नुपर्ने माग राख्दै कबिलासी नगरपालिकाका करार सेवाका कर्मचारीहरु धर्नामा

 

---बुधबार पत्रकार सम्मेलन गर्ने---

मनोज यादव---

सर्लाही,साउन ३

      म्याद थप तथा करार नविकरण नहुने भनि निर्णय भएको प्रति असन्तुष्टि जनाउँदै सो निर्णयको विरोध गर्दै कबिलासी नगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरु म्याद थप गर्नुपर्ने माग राखेर नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन् ।सोमबारदेखि सुरु गरेको धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो दिन आज(मंगलबार)पनि उनिहरु विरोध स्वरुप  हात र टाउकोमा कालोपट्टी बाँधेर  नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन्।

  कबिलासी नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले सोको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी, पत्रकार महासंघ लगायतका निकायहरुमा ज्ञापनपत्र  बुझाइ सकेको अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतले बताए ।यसअघि नगर प्रमुखलाई समेत म्याद थप गर्न पहल गरिदिन भनि प्रत्येक्ष भेटेर गुनासो गरिसकेको तर पनि उहाँहरुबाट आफुहरुले गरेको  गुनासोको कुनै सुनवाइ नभए पछि बाध्य भएर चरणबद्ध आन्दोलनको कार्यक्रमहरु तय गरि सोही अनुसार धर्नामा बसेको अध्यक्ष राउतले बताए । नगरकार्यपालिकाले गरेको भेदभावपुर्ण निर्णयलाई सच्याएर माग सम्बोधन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने पिडित करार सेवाका कर्मचारीहरुले बताएका छन् ।

    इमानदारीपुर्वक काम गर्दै आइरहेको अवस्थामा  पालिकाले एकाएक आफुहरुलाई हटाएर राजनीतिक र पैसाको चलखेल गरेर आफ्नो मान्छेलाई नियुक्ति दिने दाउपेच खेलिरहेको उनीहरुको आरोप छ।  सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा उल्टाे रोजीरोटी खाेस्ने काम गरेको उनीहरूले गुनासो गरेका छन् ।

    अबपनि आफुहरुको माग अनुसार कार्यपालिकाको उक्त निर्णय नसच्चाइएको खण्डमा पत्रकार सम्मेलन गरि नगरपालिकाको परिसरमा संघ संगठन लगायत अन्य कर्मचारीहरुबाट प्रतिबद्धता जाहेर गराएर चरणबद्ध रुपमा थप कडाइका साथ आन्दोलनको कार्यक्रमहरु गर्ने  इकाई कमिटी कबिलासी नपाका अध्यक्ष राउतले जानकारी गराए।

   यस्तै खालको निर्णय सर्लाहीका  आधा दर्जन भन्दा बढी पालिकाहरुले पनि गरेकाले त्यहाँ कार्यरत  करार सेवाका कर्मचारीहरुले पनि उक्त निर्णय प्रति आपत्ती जनाउँदै आआफ्नो पालिकामा विरोधका कार्यक्रमहरु सुरु गरेका छन् ।

   


No comments:

Post a Comment