Wednesday, July 20, 2022

पहिलो चरणको शान्तिपुर्ण आन्दोलन पछि अब हुने दोस्रो चरणको आन्दोलन थप कडाइका साथ अगाडी बढाउने असन्तुष्ट करार सेवाका कर्मचारीको चेतावनी

===पैसाको चलखेल गरि नयाँ नियुक्ति दिन आफुहरुको माग प्रति पालिका गम्भीर नभएको उनीहरुको आरोप===



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ४

    कबिलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरुले आफुहरूको माग तत्काल सम्बोधन गरि सेवामा निरन्तरता नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

     म्याद थप तथा करार नविकरण नहुने भनि निर्णय भएको प्रति असन्तुष्टि जनाउँदै विगत ३ दिनदेखि नगरपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतको अध्यक्षतामा आज(बुधबार) दिउँसो  आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका पत्रकारहरुलाई सो कुराको जानकारी गराउँदै चेतावनी दिएका हुन। नगरपालिकाको कार्यालय अगाडी  आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष राउतलेले आफूहरूको रोजीरोटी खोसिएमा जस्तोसुकै कडा आन्दोलन गर्न तयार रहेको चेतावनी दिए।

    कबिलासी नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले उक्त निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने  अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ मधेश प्रदेशका संयोजक लालबाबु यादवले बताए ।राजनीतिक नियुक्ति र पैसाको चलखेल गर्न राजीरोटी खोस्ने प्रयास भएमा हामी चुप लागेर बस्न सक्दैनौं। नेपालको संविधानले नै रोजगारीको हकको ग्यारेन्टी गरेको छ´संयोजक यादवले भने।

   करार तथा ज्यालादारी कर्मचारीले यसअघि नै आफ्ना माग पूरा गर्न नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी, पत्रकार महासंघ लगायतका निकायहरुमा ज्ञापनपत्र बुझाएका छन्। आफुहरूको मागलाई विभिन्न संघसंगठनले पनि समर्थन जनाएको पिडित कर्मचारीहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।

      कार्यसम्पादनमा दक्ष र इमानदार हुँदा पनि किन एकैसाथ ठुलो संख्यामा   कर्मचारीहरुलाई निकालियो भन्ने कारण बारे बुझ्न र सो विषयलाई लिएर पत्रकारहरुले गर्ने सवालको जवाफ दिन भनि नगर प्रमुखसहित  पालिकाकाका जिम्मेवार पदाधिकारीहरुलाई पत्रकार सम्मेलनमा आमन्त्रित गरेपनि उहाँहरु आआफ्नो कार्यव्यस्तताको बहाना बनाएर कार्यक्रममा सहभागी हुन चाहनु भएन । पैसाको चलखेल गरि आफ्ना आसेपासेलाई नयाँ नियुक्ति दिनकै लागि आफुहरुको जायज माग प्रति पालिका गम्भीर नभएको उनीहरुको आरोप छ।

    जिल्लाका अन्य पालिकाका पिडित तथा पालिकाको निर्णयप्रति असन्तुष्ट करार सेवाका कर्मचारीहरु पनि आफुहरुको आन्दोलनमा एकवद्दता जनाइसकेकाले पहिलो चरणको शान्तिपुर्ण आन्दोलन पछि अब हुने दोस्रो चरणको आन्दोलन थप कडाइका साथ अगाडी बढाउने इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष राउतलेले पत्रकारहरुलाई जानकारी गराए।

No comments:

Post a Comment