Thursday, June 23, 2022

चालु आ.व २०७९-०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कबिलासी नगरपालिकाको सातौं नगरसभा सम्पन्न


                                                                मनोज यादव----

सर्लाही,असार ९

    कबिलासी नगरपालिकाको सातौं  नगरसभा  सम्पन्न भएको छ ।  नगर प्रमुख ब्रह्मदेव रायको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रमका बीच  नगरपालिकाको सातौं  नगरसभा   सम्पन्न भएको हो।

    उक्त सभा मार्फत नगर उपप्रमुख पुनम कर्णले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षका लागि नगरसभाबाट ५७  करोड ७७ लाख ४६ हजार २९ रुपैया बजेट पारित भएको जानकारी गराउनु भएको छ । उहाँले  चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, , खानेपानी, विधुत, भौतिक पूर्वाघार निर्माण कार्य,विपद व्यवस्थापन ,सुशासन प्रबर्द्धन ,सीप तथा रोजगार ,सूचना तथा प्रविधि प्रबर्द्धन ,महिला तथा बालबालिका विकास जस्ता कार्यक्रमहरू विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभएको छ।

   आयोजित नगर सभाको  उद्घाटन नगरप्रमुख राय र उपप्रमुख कर्णले संयुक्तरूपमा गर्नुभएको थियो भने स्वागत मन्यव्य प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले राख्नु भएको थियो।

   कबिलासी बजारमा आयोजना भएको यस नगरसभामा कबिलासी नपाका पुर्व नगरप्रमुख कौशल किशोर यादव,  सर्लाही क्याम्पसका पुर्व चिफ कृष्णदेव राय,नेपाली काँग्रेसका नेता जगरनाथ राय,विनय कर्ण,रघुनाथ राय, १० वटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य, कबिलासी नपा अन्तर्गतका विभिन्न शाखाका संयोजक,विभिन्न विद्यालयका प्रअ,पालिकाका कर्मचारी ,पत्रकार लगायत स्थानीयबासीहरुको बाक्लो  उपस्थिति रहेको थियो।

   कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख रामवचन रायले गर्नुभएको थियो।

युवाहरूकाे महाभेलाबाट मधेश प्रदेशकाे कायापलट हुने छ: महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह

 

बखितियार अलि ---               

 सर्लाही असार ९ 

     मधेश प्रदेशमा असार १५ र १६ गते युवाहरूकाे महाभेलाबाट  युवा महोत्सव शुरू हुने भएको छ ।

   मधेश प्रदेशका  महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका युवाहरूकाे महाभेला सहित महोत्सव आयोजना गरिएको बताउनु भयाे  ।

   स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले थपदै भने ।

   मधेश प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले रिपोर्टस नेपाललाई जानकारी दिनुभयाे ।

   महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ । त्यससँगै दोश्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए । साथै यसै कार्यक्रमबाट मधेश प्रदेशमा विभिन्न क्षेत्रमा राम्रो काम गरेका केहि युवाहरूलाई सम्मानित गर्ने कार्यक्रम समेत रहेकाे मन्त्री सिंहले बताउनु भएकाे छ ।

Wednesday, June 22, 2022

किसानको समस्या तत्कालै समाधान नगरे कडा रुपमा सडक आन्दोलन गर्ने प्रदेश सांसद अशोक यादवको सरकारलाई चेतावनी

 

---सिजनमै मल नपाउँदा किसानलाई रोपाइँको चिन्ता-- 

 


मनोज यादव---

सर्लाही,असार ८

     घान रोपाइँ गर्ने तयारीमा रहेका सर्लाहीका किसानहरुलाई सिजनमै मल खाध नपाएपछि हुर्किसकेको बेर्ना पनि सुक्ने चिन्ताले सताएको छ।

बेर्ना हुर्किएर रोप्ने अवस्थाको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा बढी पैसा तिरेर भएपनि किन्न पाइएको छैन भने सिमावर्ती भारतीय बजारबाट नेपाली सुरक्षाकर्मीले ल्याउन  नदिएको किसानहरुले गुनासो गरेका छन् ।

     आफ्नो ३ बिगहा खेतमा रोपाइँ गर्ने तयारीमा रहेका कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका किसान घनश्याम यादवले धान रोप्दा चाहिने डीएपी मल जति कोशिश गर्दा पनि नपाएको गुनासो गरे,उनले भने, “बेर्ना हुर्किसक्यो,तर अहिलेसम्म  रोपाइँ गर्न पाएको छैन।”मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने उनी सुनाउँछन्। मलको प्रतीक्षा गर्दागर्दै रोपाइँ गर्न ढिला भएको उनले दुःखेसो पोखे। 

     “सहकारीमा जाँदा मल आज आउँछ, भोलि आउँछ भन्दै कर्मचारीहरुले आश्वासन मात्र दिने गरेका छन् । मलको लागि  सहकारीमा  धाउन थालेको महीना दिन भइसक्यो,मल अझै आएको छैन,” सलेमपुरकै अर्का एक किसान कुन्दन यादवले भने। नेपालमा मल नपाएपछि उनले सीमावर्ती भारतीय बजारमा गएर ल्याउन खोजेका थिए। भारतमा सहज रूपमा खरीद गर्न पाए पनि सीमानाकाबाट नेपाली सुरक्षाकर्मीले ल्याउन नदिने गरेको उनले सुनाए। “भारतबाट त सजिलै ल्याउन पाइन्छ। उताका सुरक्षाकर्मीले केही रोकटोक गर्दैनन्, हाम्रै तिरको सुरक्षाकर्मीले रोक्ने गरेका छन् । “जब हाम्रो सरकारले समयमा मल उपलब्ध गराउन सक्दैन भने कमसेकम  हामीलाई  भारतबाट त ल्याउन दिनुपर्यो ”कुन्दनले रोष प्रकट गर्दै भने।

    मधेश प्रदेश सरकारका प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक कुमार यादवले रोपाइँ गर्ने सिजनमा मलको अभाव हुँदै आएको समस्या एकदुई पटकपटको मात्र नभइ हरेक वर्षको रहेको बताउनुभयो । देशकै अन्न भण्डार मानिएको तराईमा मल खाधको अभावमा हजारौं बिगहा खेतियोग्य जमिन बाँझो बन्दै गएको छ।यहाँ किसानहरु खेतिपाती गर्न छाडेर अन्य बैकल्पिक रोजगार तर्फ लाग्न थालेका छन् ।जसले गर्दा हाम्रो देशमा अन्नको कमि भएको छ।

    देशलाई यस्तो समस्या बाट जोगाउन र पलायन भइसकेका र पलायन हुने तयारीमा रहेका  किसानलाई कृषिकार्य तर्फ फर्काउन  सरकारले किसानको समस्या समाधान गर्नुपर्छ,प्रदेश सांसद यादवले भन्नुभयो।

    यदी सरकारले किसानको समस्या समाधान गर्न पहल गर्दैन भने आफु सडक आन्दोलन बाटै सकृय राजनीतिमा आएकोले हाम्रा अन्नदाता किसानकोलागि पुनः कडा रुपमा सडक आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो।

   सरकारले किसानलाई आवश्यक परेको बेला सहुलियत रुपमा मल खाध उपलब्ध गराउनु पर्यो यात भारतबाट ल्याउँदा सिमानाकामा कुनै किसिमको रोकटोक नगरी ल्याउन दिनुपर्यो प्रदेश सांसद यादवले भन्नुभयो।

    ठूला ब्यापारीहरु सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु तथा तिनका प्रमुखलाई  महिनावारी रुपमा मोटो रकम बुझाएर  ट्रक, ट्याक्टर लगायतका सवारीसाधनमा लोड गरेर बोराको बोरा मल खाध भारतबाट ल्याउँदा कुनै रोकटोक नगर्ने तर किसानले एकदुई बोरा साइकलमा बोकेर ल्याउँदा पक्रेर मोटो रकम माग्ने गरेका छन् । उनीहरूले मागेजतिको रकम नदिएको खण्डमा एक बोरा मल मात्रै रहेपनि भन्सारमा लगेर बुझाइदिने गरेको किसानहरुले गुनासो गरेका छन्।

Tuesday, June 21, 2022

इन्सेकले सर्लाहीमा ६ महिनाको अवधिमा २९ वटा मानवअधिकार सम्बन्धि घटनाहरु संकलन गरे

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

    नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलन  गरिएका मानव अधिकारसँग सम्बन्धित विभिन्न  घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। 

     मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको  प्रमुख आतिथ्यता तथा इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

  कार्यक्रममा इन्सेक प्रतिनिधि साहद्वारा २०७८ पुस १६ गतेदेखि २०७९ असार ५ गतेसम्ममा संकलन  गरिएका २९ वटा मानवअधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा राज्यबाट भएका मानवअधिकार उलंघन ५ वटा,हत्याका २ वटा,महिला हिंसा ,यौन दुर्ववहारका ४ वटा,बलात्कारको प्रयास ७ वटा,झडप,कुटपिट २ वटा,अज्ञात ब्यक्तिबाट भएको १ वटा,अपहरण १ वटा,बलात्कारको घटनामा जिल्ला अदालतबाट फैसला भएको ७ वटा  रहेका छन् ।

    मलंगवा नपाकी  उपमेयर साहको कार्यकक्षमा आयोजित कार्यक्रममा     सर्लाहीका प्रहरी प्रमुखसहित विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगातारको उपस्थिति रहेको थियो।


आजबाट सर्लाहीमा पनि सुरु भयो कोभिड १९ घुम्ती खोप सेवा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही, असार ७

    मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठवटै जिल्लामा कोरोना भाइरस महामारी नियन्त्रणको लागि  कोभिड १९ घुम्ती खोप सेवाको शुभारम्भ गर्नु भएको छ । सोही क्रममा आजबाट सर्लाही जिल्लामा  पनि यो सेवाको सुभारम्भ गरिएको छ।

    घुम्ती शिविर मार्फत  जिल्लाका गाउँ-गाउँ तथा टोल-टोलमा गएर स्थानीय जनताहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने जनाइएको छ।

     उक्त घुम्ती सेवाको आज एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत,महिला  बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह र  समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्तरूपमा उद्घाटन गर्दै शुभारम्भ गरेका छन् ।  

“मानवताका लागि योग" भन्ने नाराका साथ यसपालिको अन्तराष्ट्रिय योग दिवस मलंगवामा पनि मनाईयो


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

       “मानवताका लागि योग" भन्ने नाराका साथ(आज)मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा पनि आठौं  अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।

      मलंगवा नपा वडा न-८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाहीले आयोजना गरेको कार्यक्रममा  मानव जिवनमा योगको महत्त्वको बारेमा जानकारी गराइ योगाभ्यास गराइएको थियो।

     कार्यक्रममा जि.आ.स्वा.केन्द्रका प्रमुख नन्दकिशोर कुशवाहाले दिवस मनाउन उपस्थित भएका जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई योग सम्बन्धी आशन र प्राणायामहरु गराएका छन् । उनले शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नको लागि गरिने केही आशनहरुलाई योग भनेर बुझिने गरेको बताए।

    कार्यक्रम उद्घाटन सत्र पछि सहभागीहरुलाई सामुहिक रुपमा योगाभ्यास गराइएको थियो । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख ,संघ संस्थाका प्रमुख ,नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ  महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गर्नुभएको थियो ।

   यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए । नेपालमा २०४८ साल चैत १५ गतेदेखि काठमाण्डौको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।


परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी मलंगवामा पत्रकारहरुसँग अन्तरक्रिया

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ७

     स्वास्थ्य कार्यालय सर्लाहीको सहयोगमा वुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले मंगलबार  सर्लाहीका पत्रकारहरुसँग परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न गरेको छ ।

    परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुको बारेमा  जनचेतना जगाउन संचार माध्यमले अहम भूमिका खेल्दै आएकोले संचार माध्यम मार्फत जनचेतना अभिबृद्धि गर्ने उदेश्यले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

     स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले उपलबध स्वास्थ्य सेवाको प्रयोग गरी परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी सूचनाहरु जस्तै मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरलाई कम गर्न र परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जोगाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

    कार्यक्रममा सहजकर्ता डा.चन्दन राज शर्माले  परिवार नियोजन साधनको आपुर्ति, प्रयोग, जन्मदरको अवस्था, परिवार नियोजन साधनको नयाँ प्रयोगकर्ता, स्थायी बन्ध्याकरण सेवा, परिवार नियोजन साधनको प्रयोगदर लगायतका वारेमा जानकारी दिएका थिए ।अझै पनि नेपालमा ४७ प्रतिशतले परिवार नियोजनका साधानहरुको प्रयोग नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

   स्वास्थ्य कार्यालय प्रमुख डा.झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देव,युएनएफपिए का बच्चालाल महतो,परिवार नियोजन प्रमुख सुशील कुमार झा,पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंक क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।