Friday, October 20, 2023

दशै सुरु भए देखि सर्लाहीको सीमा नाकामा तश्करी बढ्यो , खुल्ला सिमानाका कारण व्यापार चौपट ,करोडौं रुपैयाँको राजश्व गुम्दै

 


दशै सुरु भए देखि सर्लाहीको सीमा नाकामा तश्करी बढ्यो  , खुल्ला सिमानाका कारण व्यापार चौपट ,करोडौं रुपैयाँको राजश्व गुम्दै


मनोज यादव---

सर्लाही,कात्तिक ३

    दशै सुरु भए देखि भारतीय बजारसँग जोडिएका सर्लाहीका सीमानाकाहरूबाट तस्करीमा वृद्धि भएको छ ।सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुकै सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

      कारोबारी तथा तस्करहरु अवैध सामान ओसार पसारका लागि चर्चित जिल्लाको सदरमुकाम मलंगवासहित  त्रिभुवननगर ,पर्सा,संग्रामपुर, नारायणपुर, खुटौना, भाँडसर,       मधुवन गोठ, बाराउधोरण, बहादुरपुर, मधुवनी, बलरा र पर्सा लगायतका नाकाहरुबाट नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा भन्सार कर्मचारीहरू सँगको आर्थिक सेटिङमा चौबिसै घण्टा खुलेआम रूपमा सामानहरुको ओसारपसार गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन् । 

    दशै तिहार र छठ पर्व जस्ता चाडवाडको समयमा सबै भन्दा बढी तस्करीको धन्दा हुने गरेकोले मुख्य नाकाहरूमा कडाई गरेजस्तो गरेपनि अन्य साना नाकाहरूबाट भने निर्वाध रुपमा तस्करी हुने गरेको छ। अहिले चाडवाडको समय भएकोले सर्लाहीको मुख्य नाकाहरुमा कडाइका साथ चेकजाच र निरागनी भइरहेको छ। मुख्य नाकाहरुमा कडाइका साथ निगरानी हुन थालेपछि कारोबारी तथा  तस्करहर खेतको आली र गाउँघरको चोर बाटोको प्रयोग गरेर भारतबाट सामानहरु  भित्र्याउन थालेका छन् ।

    दशै,तिहार र छठ पर्बमा खाद्यान्न ,लत्ताकपडा ,पटका र इलेक्ट्रोनिकका सामानहरुको खपत बढी हुने भएको र नेपाली बजार भन्दा  भारतीय बजारमा सस्तो पनि पर्ने भएकोले व्यापारीहरु यी पर्वहरुका लागि भनेर भारतबाट अवैध रुपमा सामानहरु भित्र्याउन थालेका हुन।यस्ता कामका लागि व्यापारी तथा तस्करहरुले सिमा प्रहरी चौकी र सशस्त्र प्रहरीको बिओपीलाई मासिक रूपमा लाखौं रुपैयाँ नजराना बुझाउने गरेको नाम उल्लेख नगरिदिने सर्तमा प्रत्यक्षदर्शीहरुले बताएका छन् । आर्थिक सेटिङ्ग मिलाएका कारोबारीहरुलाई जतिसुकै र जुनसुकै सामाहरु मुख्य नाका भएरै भित्र्याउन दिने तर घरखर्चको लागि भनेर थोरै सामान ल्याउँदा प्रहरीले रोक्ने गरेको सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् ।

    भारतबाट भन्सार छलेर ल्याइएका सामानहरु मलंगवा, वयलवास, बरहथवा, हरिवन र लालबन्दीका गोदामहरुमा भण्डारण हुने गरेका छन् । त्यस्ता गोदामहरुको बारेमा  स्थानीयबासी र  प्रहरी प्रशासन दुवैलाई जानकारी हुँदाहुँदै पनि चुप लागेर बसेका छन् ।जसले गर्दा तस्करहरुको हौसला बढ्दै गएको छ। 

   नेपाल–भारत खुल्ला सिमानाको अनुचित फाइदा उठाउँदै कारोबारी तथा तस्करहरु सीमावर्ती भारतीय शहर सितामढी,मुझफ्फरपुर तथा सोनवर्षा र मेजरगंज बजारबाट सामनहरु खरिद गरेर नेपाल भित्र्याउने गरेका छन् ।यस्ता कामको लागि स्थानीय क्यारिएरहरुको प्रयोग हुने गरेको छ। जसमा साना बालबालिका र महिलाहरु पनि हुने गरेका छन् । सीमा नाकामा सुरक्षाकर्मीलाई छलेर थोरै थोरै गरि भित्र्याइएका सामानहरु गोदाममा पुर्याएर जम्मा गरिन्छ। त्यसपछि जम्मा भइसकेका सामानहरु यात्रुवाहक सवारी र मालवहक गाडीमा लुकाइ छिपाइ जिल्ला बाहिरका ठुला सहरहरूमा पुर्याउने गरिन्छ।

   खुला सीमा भएकाले नेपाली उपभोक्ताहरू दशै,तिहार ,छठ जस्ता चाडवाडको बेला भारतीय बजारमा किनमेलका लागि जाने र सीमा नाकाबाट हुने तस्करीकै कारण चाडवाडको बेला पनि नेपाली बजारमा व्यापार कम हुने गरेको  व्यापारीहरूले गुनासो गरेका छन् । अहिले सर्लाहीको सदरमुकाम मलंगवा बजार र अन्य सीमावर्ती बजारहरुमा किनमेल गर्ने मानिसहरुको चहल पहल कम देखिएको छ। तर सिमावर्ती भारतीय बजारहरु भने नेपाली ग्राहकहरुले भरिएको छ। 

    देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा विगत लामो समयदेखि राजश्व छली गरी चोरी निकासी तथा तस्करीका कामहरु भइरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् |जसका कारण करोडौं रुपैयाँ बराबरको राजश्व चुहावट भइरहेको छ।


 



No comments:

Post a Comment