Thursday, October 12, 2023

सर्लाहीको कौडेना गाउँपालिकाले थाले १६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियान

सर्लाहीको कौडेना गाउँपालिकाले थाले १६ देखि ६० वर्ष उमेर समूहका सबै  नागरिकलाई साक्षर बनाउने अभियान


लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २५ गते

   सर्लाहीको कौडेना गाउँपालिकाले  १६ वर्ष देखि ६० वर्ष उमेर समुहका आफ्ना सबै नागरिकहरुलाई साक्षर बनाउन साक्षर कौडेना २०८० अभियान सुरु गरेको छ। गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने उदेश्यका साथ निरक्षर व्यक्तिहरुको डाटा संकलन तथा आवश्यक पर्ने रणनीति र कार्यक्रमहरु तयार गर्न बाल विकास बरहथवाको सहकार्यमा कौडेना गाउँपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि साक्षर कौडेना २०८० अभियानको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ।
     १६ देखि ६० वर्ष उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्युनतम साक्षरताको अवसर प्रदान गरि वि.स २०७६ साल भित्रमा साक्षर नेपाल घोषणा गर्ने र जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने साक्षर नेपाल अभियानको उदेश्य रहेको कार्यक्रमका सहजकर्ता एवं  मलंगवा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी गराएको छ। कार्यक्रममा उपस्थित गाउँपालिका उपाध्यक्ष नगिना देवी,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव ,सातवटै वडाका वडाअध्यक्ष,विभिन्न विद्यालयका प्राधानाध्यापक,लगायतका सरोकारवालाहरु सँगको छलफलबाट तयार पारिएको कार्यतालिका अनुसार  प्रत्येक वडाको घरघरमा गएर निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने, निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा  प्रबिष्ट गर्ने , कक्षा संचालन गर्न रणनीति तयार गर्ने  र यी कार्यहरु सम्पन्न भइसकेपछि  साक्षरता कक्षा संचालन गरिने छ। कक्षा संचालन भइसकेपछि साक्षर भए नभएको प्रमाणीकरण गरि अन्त्यमा औपचारिक कार्यक्रमको आयोजना गरि  साक्षर पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी गराएको छ ।
    कार्यक्रममा सहजकर्ता मण्डलले सिकाइको ढाँचा, सिकाईको बिधि र साक्षरताका १२ वटा सूचकहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए। नेपाललाई साक्षर बनाउन सरकारको अर्बौं रुपैया खर्च भइसकेको भएपनि हालसम्म नेपाल साक्षर घोषणा हुन नसकेकोले सर्लाही जिल्लालाई साक्षर जिल्ला घोषणा गराउन सम्बन्धित सबै सरोकारवाला र पालिकाहरुलाई  गम्भीर हुन उनले आग्रह गरे।
   सर्लाही जिल्लाको एकमात्र पालिका मलंगवा नगरपालिका यसअघि नै साक्षर पालिका घोषणा भइसकेको छ।

No comments:

Post a Comment