Wednesday, October 18, 2023

चन्द्रनगरको प्रमुखले आफू खुसी एकलौटी रुपमा पालिका चलाउने गरेको कार्यपालिका सदस्यदेखि कर्मचारी र जनताहरुको आरोप

 चन्द्रनगरको प्रमुखले आफू खुसी एकलौटी रुपमा पालिका चलाउने गरेको कार्यपालिका सदस्यदेखि कर्मचारी र जनताहरुको आरोप


लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक १ गते 

       स्थानीय तहको निर्वाचनपछि विकासको गतिले फड्को मार्ने अपेक्षा गरेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका स्थानीय जनताहरु यतिबेला निराश बनेका छन् । आफुहरुले नै जिताएर पठाएको जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनीहरूले  गुनासो गरेका छन् ।

   चन्द्रनगर गाउँपालिकाका गापा अध्यक्ष राजकुमार महतोले भोंट माग्ने बेलामा अनेक किसिमका योजनाहरु पूरा गरेर देखाउने आश्वासन दिए पनि जितेर गएपछि जनताले विकास र परिवर्तनको अनुभूति पाउने गरी काम नगरेको स्थानीयबासीहरुले बताएका छन् ।चन्द्रनगरमा नयाँ अध्यक्ष आएको झण्डै डेढ वर्ष हुनै लागेको भएपनि विकास निर्माणका काम देखि लिएर शिक्षा,स्वास्थ्य ,कृषि लगायतका कुनैपनि कामहरु नभएको उनीहरूले बताए ।

     यस गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू गाउँपालिका अध्यक्षले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका छन्। ७  वटा वडाहरु रहेको चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले गापा अध्यक्ष महतोले गाउँ परिषद नै नगरि  आफुहरूको सहमति र निर्णय बिना नै आफुखुसी निर्णय गरि आसेपासेका मानिसहरुलाई राखेर उपभोक्ता समिति बनाएर काम गरेको आरोप लगाएका छन् । 

    अध्यक्ष महतोको एकलौटी रवैयाका कारण वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु सँग  मात्र नभइ कर्मचारीहरुसँग समेत कुरा नमिलेको गापा उपाध्यक्ष गिता देवी महतोले बताइन् । सामाजिक सुरक्षा भत्ता ,विद्यालयमा पुस्तक खरिद गरेको भुक्तानी,विद्यालयमा खुवाइने दिवा खाजा वापतको रकमको भुक्तानी रोकिएको छ । कर्मचारीहरुको चार महिनादेखि तलब भत्ता समेत रोकिएको उपाध्यक्ष महतोले बताइन् ।

   राजकुमार महतो निर्वाचित भएर आएदेखि विगतमा तयार भएका योजनाहरु पनि बिचमै रोकिएको छ । सर्लाही जिल्लाको मात्र नभइ मधेस प्रदेशकै धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेको ५२ बिगहा क्षेत्रफलको नाढी ताललाई पनि अध्यक्ष महतोले सौन्दर्यिकरणको नाममा पुरै सुकाएर चन्द्रनगरको पहिचान मेटाउन खोजेको स्थानीयहरुले बताएका छन् ।वर्षौंदेखि अतिक्रमणको सिकार बन्दै आएको  नाढी तालको क्षेत्रफल क्रमिक रुपमा घट्दै गएकोले नाममात्रको ५२ विघाको नाडी ताल भएको स्थानीयको भनाई छ।ताल पुरै सुकाइएकोले छठ पुजा कहाँ गर्ने भनेर स्थानीय महिलाहरु चिन्तामा परेका छन् ।

      निर्वाचित भएर आएदेखि विकासको नाममा एउटा सिन्का समेत नभाँचेको अध्यक्ष महतोले आफ्नो नातागोता र कार्यकर्ताहरुलाई करारमा नियुक्ति गरेर पालिकालाई आफ्नो मुठ्ठीमा पारेर मनपरि ढंगले चलाइरहेको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् । अध्यक्षको देखासखी वडाअध्यक्षहरुले पनि आफ्नो नातागोता र आसेपारेलाई करारमा भर्ना गरेको स्थानीय नेता सुरेश महतोले बताएका छन् । उनले  विकास निर्माणको नाममा अध्यक्ष महतोले आर्थिक अनियमितता गर्दै आएको समेत दाबी गरे।  आर्थिक वर्ष २०७९/०८० मा कुनैपनि योजनाहरुमा काम नभए पनि मन्त्रालयलाई बुझाएको आर्थिक प्रतिवेदनमा  भने काम भइसकेको देखाइएको छ। प्रतिवेदनमा  काम सम्पन्न भइसकेको भनि उल्लेख भएका योजनाहरुको अनुगमन गरेर यकिन गर्न स्थानीय नेता महतोले  सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ।

    


No comments:

Post a Comment