Monday, October 23, 2023

सर्लाहीका शक्तिपीठमा भक्तजनको भुइचो, पर्यटकीय गन्तव्य बन्दै धार्मिक स्थल

 


सर्लाहीका  शक्तिपीठमा भक्तजनको भुइचो, पर्यटकीय गन्तव्य बन्दै धार्मिक स्थल


मनोज यादव----

सर्लाही,कात्तिक ६ गते।

   नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै सर्लाही लगायत तराईका बिभिन्न स्थानका मठ मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । दुर्गा मन्दिरहरुमा देवी भगवती र दुर्गाको मुर्तिमा बिशेष पुजाआजा गर्ने चलन रहेको छ । तराईका जिल्लामा दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

   प्रदेश न–२ अन्तर्गत पर्ने सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित राजदेवी माई, चमेली माई ,बौधी माई लगायत जिल्लाका विभिन्न पालिकाहरुमा अवस्थित देवी दुर्गाका मठ मन्दिर तथा मुर्ति स्थलहरुमा सप्तमीको दिनदेखि नै विशेष पुजा गर्ने र बली चढाउने भक्तहरुको घुइँचो लागेको छ । मठ मन्दिर तथा मुर्ति स्थलहरुमा दशै सुरु भएको घटस्थापनाको दिनदेखि नै दैनिक रुपमा बिशेष पुजा आजा हुनुका साथै भजन किर्तनहरु समेत भैरहेका छन । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रद्धालु भक्तजनहरुले पुजा अर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक बिश्वास रही आएको छ ।

   मधेशी समुदायमा घटस्थापना देखि नै दुर्गा मन्दिर नभएका ठाउँमा  माटोको मूर्ति नै बनाएर भएपनि पुजा गर्ने र बलि दिने चलन रहेको छ । अहिले विभिन्न चौकमा भब्य पण्डाल भित्र निर्माण गरिएका मुर्ति स्थल तथा दुर्गा मन्दिरहरुमा ठुलो मेला लागेको छ । 

    तराई मधेसमा यसलाई  दसैँ, दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ । यस्ता माटाका मुर्तिहरु सदरमुकाम मलंगवा ,लालबन्दी ,हरिवन, बयलबास, बरहथवा, कर्मैया लगायत जिल्लाभरीका गाउँहरुमा स्थापना गरिएका छन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ । जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरु पूजा–आराधना गर्न र मेला भर्न आउने गर्दछन । दसैँमा लाग्ने यस्तो मेलालाई मौलिक परम्पराको रुपमा लिइने जानकारहरु बताउँछन् ।

   त्यसोत मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि शुरु भएको छ। दसैँमा डायन तथा धामी झाँक्रीले आफ्नो तन्त्र विद्या सिद्ध गर्ने भएकाले आफ्ना बालबालिकालाई यस्तो कार्यमा प्रयोग गर्नबाट रक्षा गर्न कम्मरमा हिंग, लसुन र निधारमा कालो टीका लगाइदिने प्रचलन रहँदै आएको बुढापाकाहरुको भनाइ छ ।

डायनबाट जोगिनका लागि दसैँको पहिलो दिन घटस्थापनाको दिनदेखि तराई मधेशका गाउँगाउँमा झिझिया नृत्य शुरु हुन्छ । यो नृत्य दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन समाप्त हुन्छ । यो नृत्य गर्ने महिलाहरु डायनबाट जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने र सराप्ने गर्दछन् ।

पूर्णिमाको दिन झिझियाको विशेष पूजा गरि पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन रहेको छ । 

   दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा हुन्छ । हजारौं कुमारी कन्याहरु जात्रा निकालेर जलाशयमा गई माटोको कलशमा जल ल्याएर दुर्गा मन्दिरमा राख्छन । षष्ठी अर्थात दसैँको छैठौं दिन बेललाई फूलबारीमा निमन्त्रणा दिन्छन्, जसलाई तराई मधेशको स्थानीय भाषामा ‘बेला नवतन भनिन्छ ।

  त्यसको भोलिपल्ट अर्थात् सप्तमी दसैँको सातौं दिन निमन्त्रणा दिएका बेललाई लिन जान्छन् । ती बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिर तथा मुर्ति स्थलमा ल्याएर पूजापाठ गरी बेललाई भित्र्याइन्छ । अष्टमी अर्थात आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ । जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ ।

  अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, परेवा, हाँस आदिको बलि दिन्छन । नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ र विजया दशमीको अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ, जसलाई जात्रा भनिन्छ । त्यो दिन यात्राका लागि एकदमै शुभ मानिन्छ । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिनलाई शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ ।

  मेला लगाउनका लागि बनाइएका पण्डालमा दुर्गा भगवतीका साथै सरस्वती, काली, लक्ष्मी, गणेश, शिव पार्वतीको साथै महिषासुरको पनि मूर्ति राखेर दसैँभर उनीहरुको पनि पूजापाठ गरिन्छ ।


No comments:

Post a Comment