लालबन्दी जस्तो विकसित तथा शिक्षित स्थानीय तहमा अभावै अभावले भरिएका सामुदायिक विद्यालय, सरोकारवालाहरुको बेवास्ताका कारण सयौं बालबालिकाको भविष्य अन्धकारमा
लालबन्दी जस्तो विकसित तथा शिक्षित स्थानीय तहमा अभावै अभावले भरिएका सामुदायिक विद्यालय, सरोकारवालाहरुको बेवास्ताका कारण सयौं बालबालिकाको भविष्य अन्धकारमा
मनोज यादव---
सर्लाही,असोज २७
सर्लाहीको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको पुर्व-पश्चिम राजमार्गमा पर्ने सर्लाहीको प्रमुख व्यापारीक केन्द्रको रुपमा स्थापित लालबन्दी नगरपालिका देखि झण्डै ८ किलोमिटरको दुरीमा पर्ने सोही पालिकाको वडा न-१५ कटहरबोट भन्ने गाउँमा रहेको श्री ईन्द्रावती जनता प्राथमिक विद्यालय उचित स्याहार र सम्बर्द्धनको अभावमा जिर्ण बन्दै गएको छ।
खेल्नको लागि कम्पाउण्ड वालसहितको ठुलो चौर र पर्याप्त कक्षा कोठा लगायतका भौतिक पुर्वाधारहरु भएपनि भलो चिताउने र नेतृत्व गर्ने व्यक्ति नहुँदा इन्द्रावती प्रा.वि को अवस्था दयनीय बनेको छ।खानेपानी र शौचालयको व्यवस्था छैन ।यतिमात्र नभइ कार्यालयमा टेबुल,कुर्सी,दराज तथा कक्षा कोठामा डेक्स,बेन्च र ह्वाइट बोर्ड लगायतका आवश्यक सामाग्रीको पनि अभाव छ ।
केही वर्ष अगाडीसम्म विद्यार्थीको संख्या बाक्लै थिए। आसपासका ६-७ वटा गाउँका विद्यार्थीहरु यहाँ अध्यनरत थिए। तर अहिले भने यस विद्यालय प्रति कसैले चासो र ध्यान दिएका छैनन् ।पढाइको स्तर पनि गिरावट आएको छ।गाउँमै विद्यालय हुँदाहुँदै पनि अभिभावकहरु राम्रो पढाइको खोजीमा आफ्ना बालबालिकालाई टाढाको सामुदायिक र निजी(बोर्डिङ्ग) विद्यालयहरुमा पठाउन बाध्य छन् ।जसको फलस्वरुप विद्यालय यतिबेला सुनसान बनेको छ। हुनेखाने परिवारले आफ्ना छोराछोरीलाई बाहिरका विद्यालयमा पठाए पनि हुँदाखाने गरिब परिवारका बालबालिका यसै विद्यालयमा पढ्न वाध्य छन्।
अभिभावकहरु पछिल्लो केहि बर्ष यता यस विद्यालयमा पढाईको स्तर खस्किएको, प्रधानाध्यापक नियमित बिद्यालय उपस्थित नभएको, दिवा खाजाको राम्रो प्रवन्ध नभएको, खानेपानी, शौचालयको राम्रो प्रबन्ध नभएको लगाएतका गुनासोहरु गर्ने गरेका छन । नगरपालिका ,विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले समेत यसतर्फ ध्यान नदिएको उनीहरूले गुनासो गरेका छन् ।
इन्द्रावती प्रा.वि मा अहिले ५० जना विद्यार्थीहरु अध्यनरत छन् । ती विद्यार्थीहरुको लागि ४ जना शिक्षक शिक्षिका र १ जना कार्यालय सहयोगी गरि जम्मा ५ जना कर्मचारीहरु कार्यरत छन् । विद्यालयको हाजिरी रजिस्टरमा कक्षा १ मा ३ जना, २ मा ९ जना,३ मा १० जना ,४ मा ११ जना , ५ मा ७ जना र शिशु कक्षामा १० जना गरि जम्मा ५० जना विद्यार्थीहरुको नाम लेखिएको भए पनि मुस्किलले ३० जना विद्यार्थीहरु उपस्थित हुने गरेका छन् ।
प्रायः जसो शिक्षकहरु बिदामा बस्ने गरेकाले बालविकास शिक्षिकाले नै पढाउँदै आएकी छिन् । विद्यार्थीहरुलाई कति घण्टी पढाइ हुन्छ भन्ने पनि थाहा छैन। शिक्षकहरु मात्र नभइ प्राधानाध्यापक समेत विद्यालयमा नियमित हाजिर नहुँदा बालविकास कक्षा बाहेक अन्य कक्षा प्रायःजसो खाली नै रहने गरेको छ।
कटहरबोट जस्तो सानो गाउँमा मात्र ९ वटा विद्यालयहरु रहेका छन् । ती सबै विद्यालयको अवस्था इन्द्रावती प्राविको जस्तै छ। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या बढी रहेका छन् । कटहरबोट गाउँलाई भौगोलिक दृष्टिकोणले हेर्नु पर्दा यो अती विकट र दुर्गम ठाउँ रहेकोले विद्यार्थीको संख्यालाई हेरेर एकअर्कादेखि कम्तिमा ३० मिनेटको दुरीमा रहेका केही विद्यालयलाई मर्ज गर्ने तयारीमा नगरपालिका लागेको मेयर बासुदेव अधिकारीले जानकारी गराउनुभयो।
तर विद्यालय मर्ज गर्नुको साटो ती विद्यालयहरुको अध्यनअध्यापन र व्यवस्थापनमा ध्यान दिए अन्यत्र जाने विद्यार्थीहरुलाई गाउँमै टिकाउन सकिन्थ्यो ।
निजी स्वार्थ पुर्तिमा लागेकाहरु विद्यालयलाई कसरी कमजोर पार्ने र मर्ज गर्ने भन्नेमा लागेका छ्न । अत्यन्तै रमणीय, प्राकृतिक सुन्दरता र बालमैत्री वातावरण भएको कटहरबोट गाउँका विद्यालयहरुमा यस क्षेत्रमा बसोबास गर्ने निम्न वर्गीय आदिवासी जनजाती समुदायका बालबालिकाहरु मात्र पढ्ने गरेका छन् । आफ्नो छोराछोरीलाई पढाउनको लागि बाहिर पठाउने क्षमता उनीहरु सँग छैन । त्यसैले सरोकारवाला सबैले आ-आफ्नो जिम्मेवारीबोध गर्दै विद्यालयको संरक्षण र शैक्षिक सुधारमा लाग्नु जरुरी छ।
No comments:
Post a Comment