Tuesday, May 20, 2025

लागूऔषधसहित दुई युवक पक्राउ

 








लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ६

    सर्लाहीको पर्सा गाउँपालिका वडा न-६ स्थित गाउँपालिका चौकबाट लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार सोमबार साँझ करिब ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार ब्रह्मपुरी गाउँपालिका वडा न-६  बस्ने सुनिल कुमार यादवको छोरा अन्दाजी बर्ष २२ को राहुल कुमार यादवको पाइन्टको गोजीबाट नाइट्राभेट ट्याबलेट ४१ पाता (१२३० पिस), स्पाइस ७ पाता (१६८ पिस) र सिनारेक्स १०० एमएलको एक बोतल फेला परेको  छ। खानतलासीको क्रममा मोटरसाइकल चालक सोही ठाउँका  बेचन राय यादवको छोरा अन्दाजी बर्ष १९ को रबि कुमार यादवको साथबाट भने केही फेला नपरेको डिएसपी राईले जानकारी दिए।
    पक्राउ परेका दुवै युवालाई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गराइ हिरासतमा राखिएको प्रहरीले जनाएको छ।


बलरामा करेन्ट लागेर पुजारीको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, जेठ ६ 

   

सर्लाहीको बलरा नगरपालिका वडा न-५ मा करेन्ट लागेर एक वृद्ध पुजारीको भएको छ। मृत्यु हुनेमा गोडैता-२ निवासी ७० वर्षीय महादेव महतो रहेका छन् ।

      बलरा-५ स्थित महतो टोलमा स्थानीय  विजय महतोको घरमा पूजा गर्न गएका पुजारी महतोलाई आज(मंगलबार) अपराह्न पौने २:४५ बजे पूजा सम्पन्न भएपछि पानी खान मोटर जडान गरिएको धारातर्फ जाँदा अचानक करेन्ट लागेको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दे प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घाइते अवस्थामै उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले दिउँसो सवा ३ बजे उनलाई मृत घोषणा गरेका थिए।

    हाल शव अस्पतालमै राखिएको छ ।


लालबन्दीमा ११२ केजी गाजासहित एक जना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ६

   सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१४ स्थित डाइनेखोलाबाट प्रहरीले सोमबार ठूलो परिमाणमा लागू औषध गाजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले ११२.७८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको हो।

    राति करिब १० बजे भारततर्फ ओसारपसार हुँदै गरेको गाजाको खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेट BR 32 AN 0817 भएको स्कार्पियो र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल डाइनेखोलामा फेला परेको थियो। सवारीसाधन छाडेर भाग्न खोजेका लालबन्दी न.पा-१४ निवासी ४२ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

   पक्राउ परेका तामाङले सो स्कार्पियोमा गाजा रहेको स्वीकार गरेपछि प्रहरीले खानतलासी गर्दा गाडीको डिक्कीमा रातो प्लास्टिकमा प्याक गरिएका २१ वटा पोका फेला पारेको थियो। ती पोका खोल्दा गाजा जस्तो देखिने पदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहबरमा तौल गर्दा कुल ११२.७८ केजी गाजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

  हाल पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ९ दिनको म्याद लिइ प्रहरीको हिरासतमा राखिएको छ।  स्कार्पियो, मोटरसाइकल र बरामद गाजा इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले लोकतन्त्रलाई जनाएको छ।


Thursday, May 8, 2025

चन्द्रनगरमा पहिलो पटक वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान

 



लोकतन्त्र समाचारदाता-----

सर्लाही,बैशाख २५

     "रक्तदान जीवनदान" भन्ने सन्देशलाई आत्मसात गर्दै विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा र चन्द्रनगर गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल शिक्षक महासंघ चन्द्रनगरको सहकार्यमा बिहीबार वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

   गाउँपालिका कार्यालय नजिक रहेको नाढीमन ताल छेउमा आयोजना गरिएको कार्यक्रममा ११ जना महिला र ४९ जना पुरुष गरी जम्मा ६० जनाले रक्तदान गरेका थिए। 

   कार्यक्रममा रेडक्रस उपशाखा चन्द्रनगरका सभापति सरोज कुमार सिंहले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथ्यता गाउँपालिका अध्यक्ष राजकुमार महतोको रहेको थियो। प्रमुख अतिथि महतोले उपशाखाले स्थापना भएको पहिलो वर्षमै यति ठूलो रक्तदान कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिनुभयो।

  कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई र कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरुलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो।

   यस कार्यक्रमले गाउँमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन ठूलो योगदान दिएको सहभागीहरुले बताएका छन्।


Monday, May 5, 2025

सर्लाहीमा प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको स्वागत तथा पदभार ग्रहण

 


लोकतन्त्र समाचारदाता

सर्लाही, वैशाख २२


  जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले पदभार ग्रहण गर्नु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा नक्सालको आदेशानुसार उहाँ सर्लाहीमा सरुवा भई आउनु भएको हो।


उहाँको आगमनको अवसरमा सोमबार मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा एक औपचारिक स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका विभिन्न अधिकृतहरू तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

    स्वागत कार्यक्रममा उपस्थितहरुले नवपदस्थ प्रहरी उपरीक्षक खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न उहाँको नेतृत्वमा प्रहरी प्रशासन सफल हुने विश्वास व्यक्त गरेका थिए।



Saturday, May 3, 2025

सर्लाहीको पर्साबाट पेस्तोलसहित एक युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता----
सर्लाही, वैशाख २०

     सर्लाहीको पर्सा गाउँपालिका वडा न-२ स्थित रहेको रबि होटलबाट एक युवक हतियार सहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा गएको प्रहरी टोलीले शनिबार साँझ अन्दाजी ५:१५ बजे सोही पालिकाको वडा न-४ बस्ने  राजदेव साहका २३ वर्षीय छोरा दिपक साहलाई नियन्त्रणमा लिएको हो।
    नारायणपुर प्रहरी चौकीबाट  खटिएको टोलीले साहलाई सानो कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक थान सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
   पक्राउ परेका साहलाई जिप्रका मलंगवाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएको छ।


Friday, April 25, 2025

लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिव साह मनोनीत

 



लोकतन्त्र समाचारदाता---

सर्लाही, बैशाख १२ 

      लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिव कुमार साह कानु मनोनित भएका छन् । संघको संशोधित विधानअनुसार उनलाई आज जिल्ला संयोजक पदमा मनोनीत गरिएको हो।

    मनोनयनसँगै संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले एक सूचना जारी गरि पत्रकार साहप्रति शुभकामना व्यक्त गर्दै देश, मधेश, पत्रकारिता र पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन्।

    नवमनोनीत संयोजक साह  पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। हाल मेरो सान अनलाइन टिभीमा कार्यतरत साह संघमा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता  जनाएका छन्।


Wednesday, April 16, 2025

मुख्यमन्त्री सिंहद्वारा बरहथवाका पाँच निजी अस्पताल बन्द गर्न निर्देशन

 



मनोज यादव---

सर्लाही, वैशाख ३

    मधेश प्रदेशका मुख्यमन्त्री  सतिश कुमार सिंहले बुधबार बरहथवा बजारस्थित विभिन्न निजी अस्पतालहरूको अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालनमा रहेका पाँच अस्पतालहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
  मुख्यमन्त्री सिंहको उपस्थितिमा भएको अनुगमनका क्रममा संकटमोचन हस्पिटल, संजीवनी हस्पिटल, ह्यापी हस्पिटल, सर्लाही गोल्डेन हस्पिटल र भेनस हस्पिटल स्वास्थ्य मापदण्ड पूरा नगरेको पाइएको हो। ती अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत तथा अस्पताल अनुगमन समितिका सदस्य सचिव संतोष कुमार ठाकुरले जानकारी दिए।
    ठाकुरका अनुसार ती अस्पतालहरूमा न त आवश्यक जनशक्ति थिए, न त आधारभूत स्वास्थ्य उपकरणहरू नै। साथै, कतिपयले सरकारी अनुमति विना सेवा सञ्चालन गरिरहेका थिए।
मुख्यमन्त्री सिंहले बरहथवा नगर अस्पतालको पनि अनुगमन गरेका छन्।  
    लामो समयदेखि अस्पतालहरूको लापरवाही र मनोमानीप्रति ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायहरू मौन थिए। प्रदेश सरकारले कडाइका साथ स्वास्थ्य क्षेत्रमा अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ।


Friday, April 11, 2025

पत्रकारिता क्षेत्रका चुनौती, अवसर र सुरक्षाबारे सर्लाहीमा संवाद कार्यक्रम सम्पन्न

 

लोकतन्त्र समाचारदाता---

सर्लाही, चैत्र २९

     युरोपियन युनियनको आर्थिक एवं इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा सञ्चालित ‘लोकतन्त्रको सुदृढीकरण नागरिक आवाज, नागरिक सहभागिता र जवाफदेहिता’ परियोजना अन्तर्गत “सर्लाही जिल्लाको पत्रकारिता  चुनौती, अवसर र सुरक्षा” विषयक संवाद कार्यक्रम बिहीबार  सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

   नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासंघका केन्द्रीय सचिव प्रकाश धौलाकोटी, प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, अनुसन्धानका डिएसपी राम रिझन यादव, नेपाल बार एसोसिएसन सर्लाहीका अध्यक्ष ओम प्रकाश थापा, नागरिक समाज,मानवअधिकारकर्मी,विभिन्न प्रेस संगठनका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

   कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, सञ्चारकर्मीले भोगिरहेका चुनौती, अवसरका सम्भावना तथा सुरक्षासम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरूको पेशागत सुरक्षालगायत विषयमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरुले यस्ता संवाद कार्यक्रमहरूले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र प्रभावकारी बनाउनमा मद्दत पुग्ने निष्कर्ष निकालेका थिए।

     मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संचालन महासंघका जिल्ला सचिव सोम दियालीले गरेका थिए।


Monday, April 7, 2025

हरिवनबाट ठुलो परिमाणमा लागू औषधसहित एक जना पक्राउ

 



लोकतन्त्र समाचारदाता----

सर्लाही, चैत २५ 

    सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषधसहित एक ब्यक्ति पक्राउ परेको छ। ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली सोमबार राती करिब साढे १२ बजेको समयमा मोहनपुर टोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा हरिवन-३, डावरी टोल निवासी कर्ण बहादुर घिसिङका अन्दाजी ३६ वर्षीय छोरा मान बहादुर घिसिङलाई लागुऔषधसहित पक्राउ गरेको हो।
    विशेष सुराकीको आधारमा सो सडकमा चेकजाँच गर्दै गर्दा र्घिसिङले चलाएको ना.२४ प.६९०३ नम्बरको मोटरसाइकलको पछाडिको सिटमा राखिएको दुईवटा बोरामा लागू औषध Onerex Syrup र Winecerex Syrup गरी कुल ४५८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका लागू औषधमध्ये Winecerex लेखिएको १०० एमएलका ३१३ बोतल र Onerex लेखिएको १०० एमएलका १४५ बोतल रहेका छन्।  प्रहरीले घटनास्थलबाट उक्त मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ। 
  घिसिङलाई लागू औषध सम्बन्धी कसुरमा पक्राउ गरी मंगलबार सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।


Sunday, April 6, 2025

मधेशमा असन्तोषको आवाज चर्कियो

 

लोकतन्त्र समाचारदाता

सर्लाही, चैत २३

    मधेश फेरि बोल्न थालेको छ,तर यसपटक अधिकारको माग मात्रै होइन, विश्वासघातको हिसाब माग्ने र वैकल्पिक राजनीतिक नेतृत्व निर्माणको सङ्केत दिने स्वरमा।

    शनिबार जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशको राजनीतिक असन्तोष एउटा संगठित स्वर बनेर प्रकट

भएका थिए। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी नेताहरूले विगत तीन दशकदेखि आन्दोलनमा सक्रिय भएका तर अझै पनि अधिकारविहीन बनेका मधेशी जनताको पीडा र आक्रोशलाई प्रष्टसँग व्यक्त गरेका थिए ।

    कार्यक्रममा सहभागी नेताहरूले सत्ता दलहरू, कथित मधेशवादीहरू र यथास्थितिवादी शक्तिहरूलाई कडा आलोचना गरेका थिए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले  “संविधान, गणतन्त्र र संघीयता कुनै दान बाट प्राप्त नभएको बल्की  रगतले खरिद गरेको बताए ।

“संविधान मेट्न खोज्नेहरूले जनताको बलिदानको अपमान गरेका छन्। तर जनताको उठान भएको दिन उनीहरूको अस्तित्व नै मेटिनेछ।”भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि आक्रोश व्यक्त गर्दै  चेतावनी दिएका छन् ।

   अन्सारीले वर्तमान सत्ताप्रणालीप्रति पनि असन्तुष्टि जनाउँदै कांग्रेस र कम्युनिस्टहरूलाई लक्षित गर्दै भने, “२०४६ मा जनताको नाममा राजा राख्नेहरूको मानसिकता आज पनि उस्तै छ। उनीहरूले संविधानको रक्षा होइन, कब्जा गरेका छन्।”उनले थपे, “अब हाम्रो सहमतिविना न देश चल्न सक्छ, न मधेश। हामीलाई प्रतिनिधित्व छैन भने, तपाईंहरूलाई वैधता छैन।”

    कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले मधेश आन्दोलनको विगतलाई प्रश्न गर्दै कटाक्ष गरे, “शहीदहरूको रगत सुक्न नपाउँदै मन्त्री बन्नु, सत्तासँग घुलमेल हुनु यसले मधेशी जनताको सपना चकनाचुर बनाएको छ।” उनले कथित मधेशवादीहरूलाई सत्ताका सहभोजी भन्दै आलोचना गरे।

    त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वराजाको अभिव्यक्तिमाथि कारबाहीको माग गर्दै संविधानको उल्लंघन सह्य नहुने बताए। उनले सत्तारुढ दलहरूलाई चेतावनी दिँदै भने, “हामीलाई केवल भोट बैंकको रूपमा हेर्ने परिपाटी अब सह्य हुँदैन। सीमा पार जन्मेको भन्दै दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ।”

अपमानको अन्त्य चाहिएको आवाज

पूर्वमन्त्री विमला अन्सारीले महिला सहभागिता र पहिचानको सम्मानको आवश्यकता औँल्याउँदै भनिन्, “हामीलाई कुर्सी होइन, सम्मान चाहिएको हो। हामी शासन होइन, अपमानको अन्त्य खोजिरहेका छौं।”

   कार्यक्रमको अन्त्यमा आयोजक दलहरूले संघीय गणतान्त्रिक गठबन्धनको गठन भएको घोषणा गर्दै गठबन्धनको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिने र जेठ १५ गते जनकपुरधाममा विशाल घोषणा सभा आयोजना गरिने जानकारी दिए।

   गठबन्धनले पहिलो चरणमा देशका १८ जिल्लामा ‘जनजागरण अभियान’ सञ्चालन गर्ने जनाएको छ। अभियानको मूल नारा ‘भोट हमारा और राज तुम्हारा, अब नहीं चलेगा।’ राखेका छन् ।


Tuesday, April 1, 2025

स्तरवृद्धिको माग गर्दे स्वास्थ्यकर्मीहरु द्वारा आन्दोलनको घोषणा




मनोज यादव----
सर्लाही,चैत १९

   स्तरवृद्धिको माग गर्दे सि.अ.हे.व र सि.अ.न.मि हरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा  सि.अ.हे.व. / सि.अ.न.मि. चौथो पाँचौ जिल्ला स्तरीय संघर्ष समितिले आज (मंगलबार )जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई  ज्ञापनपत्र बुझाएका छन् ।
     मधेश प्रदेश सरकारद्वारा २०८१ भदौ ७ गते प्रकाशित स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को उपदफा २ मा उल्लेखित प्रावधानका कारण चौथो तथा पाँचौं तहका स्वास्थ्यकर्मीहरूलाई दुई तह स्तरवृद्धि नपाउने स्थिति सिर्जना भएको आन्दोलनमा उत्रिएको संघर्ष समितिले बताएका छन्  ।
   मधेश प्रदेशका आठवटै जिल्लाका सिनियर अनमी (सि.अ.न.मि.) र सिनियर अहेब (सि.अ.हे.व.) स्वास्थ्यकर्मीहरू एकजुट भई प्रदेशस्तरीय संघर्ष समिति गठन गरी आफ्नो माग पूरा गराउन निरन्तर संघर्ष गर्दै आएका छन्। यस क्रममा प्रदेश लोकसेवा आयोग जनकपुर, मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय लगायत विभिन्न निकायलाई समेत ज्ञापनपत्र बुझाई सकेका छन् ।
   स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुल्लाबाट १००% पदपूर्ति हुनुपर्ने। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा २९ को बाध्यात्मक वाक्यांश हटाइनु पर्ने। नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम विगतदेखि पाइँदै आएको दुई तह स्तरवृद्धि पुनः लागू गरिनु पर्ने उनीहरूको मुख्य माग रहेको छ।
   संघर्ष समितिले पटक–पटक गरेको पहलपछि पनि प्रदेश सरकार र गठित सुझाव समितिले आवश्यक कदम नचालेको आरोप लगाउँदै आन्दोलन चर्काउने घोषणा गरेका छन्। २०८१ चैत्र ६ र ७ गते सम्पन्न प्रदेशसभा बैठकमा समेत माग सम्बोधन नभएपछि २०८१ चैत्र ८ गते प्रदेशसभा अगाडि शान्तिपूर्ण धर्नामा बसे तापनि सरकारलाई दवाब सिर्जना गर्न नसकेपछि अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ। उनीहरूले २०८१ चैत्र २५ गतेदेखि प्रदेशसभा तथा मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने घोषणा गरेका छन्। उक्त धर्नाका कारण आम नागरिकलाई पर्ने असुविधाप्रति क्षमायाचनासमेत गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार तथा सुझाव समितिका संयोजक र सदस्यहरूले लिनुपर्ने बताएका छन्।



Saturday, March 29, 2025

मलंगवा स्थित ताज गेस्ट हाउसमा भएको घटनामा संलग्न ब्यक्ति पक्राउ

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १६

   मलंगवा स्थित ताज गेस्ट हाउसमा भएको घटनामा संलग्न ब्यक्ति पक्राउ परेको छ।

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ९ स्थित बाल मन्दिर चौकमा रहेको ताज गेष्ट हाउस एण्ड लँजको कोठा नं. ९ मा गत बुधबार एक महिलाको शंकास्पद मृत्यु भएको थियो । दिउँसो करिब ३ बजे उक्त कोठामा एक महिला सिलिङ फ्यानमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलमा फेला परेको भारतीय आधार कार्ड र निर्वाचन आयोगको परिचयपत्रको आधारमा'आरती' नाम गरेकी मृतक महिला भारतको  पहिचान  दिल्ली राज्य, रोशनपुरा जिल्ला निवासी प्रविनकी २९ वर्षीया श्रीमतीको रुपमा गरिएको छ।

     शव फेला परेको कोठा जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० निवासी ३९ वर्षीय मो. सेराजले बुक गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई बिहिवार पक्राउ गरी आत्महत्या दुरुत्साहन गर्न नहुने कसूरमा सर्लाही जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।


Saturday, March 22, 2025

मुख्यमन्त्री सिंहद्वारा लालबन्दीका १९ अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

 




मनोज यादव---
सर्लाही, चैत १० 

    मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। अनुगमनका क्रममा कानुनी रूपमा दर्ता भई सेवा प्रदान गरिरहेका दुई संस्था मात्र अनुमतिपत्र दुरुस्त रहेको पाइएको छ भने अन्य दुई संस्थाले नवीकरण गर्नुपर्ने अवस्था देखिएको छ।

  शनिबार साँझ सम्पन्न अनुगमनमा मापदण्ड अनुरूप सेवा सञ्चालन नगरेका र अनुमतिपत्रबिनै सञ्चालनमा रहेका १९ वटा अस्पताल तथा क्लिनिकलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका छन्। उनले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। उनलेअनुगमनका क्रममा स्वास्थ्य सेवामा लापरबाही गर्नेलाई कदापि नछाड्ने चेतावनी दिँदै प्रदेश सरकारले अवैध रूपमा सञ्चालनमा रहेका संस्थाहरूमाथि कडा कारबाही गर्ने बताए। 

   लालबन्दीका स्थानीयवासीहरुले मुख्यमन्त्रीको यो कदमको स्वागत गर्दै अव्यवस्थित स्वास्थ्य सेवा बन्द गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन्।

   मुख्यमन्त्री सिंहले यसअघि होलीको पुर्व संध्यामा सदरमुकाम मलंगवाका विभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरिसकेका छन् । अनुमति बगैर संचालन भइरहेका अस्पताल तथा क्लिनिकहरुलाई बन्द गर्ने निर्देशन दिइएपनि ती स्वास्थ्य संस्थाहरु यथावत संचालन भइनै रहेका छन् ।


Monday, March 17, 2025

नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ



लोकतान्त्र समाचारदाता---

सर्लाही, चैत ५

    नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्।
   सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ बस्ने सुरज महतो कोईरीकी ३२ वर्षीया छोरी लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका वडा नं. ५ निवासी सिकिल रायका छोरा २१ वर्षीय शिवम कुमार यादवलाई प्रहरी सेवामा भर्ती गराइदिने प्रलोभन देखाएर पटक–पटक गरी दुई लाख पचहत्तर हजार रुपैयाँ ठगी गरेको आरोप छ।
  पीडित शिवम यादवका दाजु सिपिन्द्र प्रसाद यादव द्वारा दिइएको जाहेरीका आधारमा सर्लाही जिल्ला प्रहरी कार्यालयले महतोलाई नियन्त्रणमा लिएको हो। ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा दर्ता भएपछि आइतबार उनलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले  जनाएको छ।
  सर्लाही प्रहरीले ठगीसम्बन्धी यस्ता घटनामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गर्दै, ठगीबाट बच्न सतर्क रहन समेत अनुरोध गरेको छ।


Monday, January 27, 2025

सम्माननीय उपराष्ट्रपति यादव र म्यानमारका राजदूत म्योम्यिन्टमाउङबीच शिष्टाचार भेटवार्ता



लोकतन्त्र समाचारदाता---
सर्लाही,माघ १४

     सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि म्यानमारका महामहिम राजदूत श्री यु म्योम्यिन्टमाउङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।



लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवम् सांस्कृतिक सम्बन्ध लगायतका विषयमा छलफल भयो ।


उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो । ‘यो वर्ष (सन् २०२५) हामी नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव मनाइरहेका छौं’ उहाँले भन्नुभयो, ‘हाम्रा दुई देशहरुबीचको बर्षौं पुरानो सम्बन्ध पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ ।’

 

उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबीच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्ट वाहकका लागि भिषा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘नेपाल र म्यानमार दुवै बिमस्टेकको सदस्यका रुपमा सहकार्य गर्दै आएका छन् ’ उहाँले भन्नुभयो, ‘बिमस्टेकले दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाबीच अन्तरक्रिया र सहकार्य बढाउँदै समग्र क्षेत्रको आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उहाँले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताउनुभयो । 

 

‘आगामी दिनमा नेपाल र म्यानमारबीच सम्पन्न भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्य सम्बन्धी समझदारीहरूको कार्यान्वयन भई दुई देश बीचको आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुनेछ भन्नेमा विश्वस्त छु’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हाम्रा दुई देशको भाषा संस्कृति र रहनसहनमा समानता छ । बौद्ध दर्शन र संस्कृति दुवै देशको साझा सम्पदाको रूपमा रहेको छ। लुम्बिनी बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल हो ।’


उहाँले बौद्ध धर्मावलम्बीहरूको लागि नेपाल एउटा पवित्र तीर्थ हुनुका साथै बुद्धका शान्ति, सद्भाव, सहिष्णुता र करूणा जस्ता सन्देशमा विश्वास राख्ने सबैका लागि एउटा आस्था र सम्मानको थलो भएको बताउनुभयो ।  ‘यसले नेपाल र म्यानमारबीच पर्यटन र सांस्कृतिक सहकार्यको समेत मार्गप्रशस्त गरेको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘लुम्बिनी म्यानमारका तिर्थयात्रीहरुको मुख्य गन्तव्यस्थलका रुपमा रहेको छ । लुम्बिनी परिसरमा रहेको म्यानमार स्वर्ण मन्दिरले पनि नेपाल एवं म्यानमारका जनताबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।’


नेपाल र म्यानमारबीचको सम्बन्ध सुदृढीकरणमा तपाईँ (महामहिम राजदूत) ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने उल्लेख गर्दै उपराष्ट्रपति यादवले म्यानमारको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण म्यानमारी जनताको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना समेत व्यक्त गर्न गर्नुभयो ।


नेपालका लागि म्यानमारका महामहिम राजदूत श्री यु म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘नेपाल र म्यानमारबीच जनस्तरको सम्बन्ध छ’ उहाँले भन्नुभयो, ‘ नेपालको ‘नन–अलायन्स’ जस्तै म्यानमारको पनि नीति रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ । ’ महामहिम राजदूतले नेपालको स्वतन्त्र विदेश नीतिलाई म्यानमारले सम्मान र प्रशंसा गरेको समेत बताउनु भयो ।


Thursday, January 23, 2025

वाणिज्य बैंक शाखा मलंगवाले गरे दुईजना असल ऋणीलाई सम्मान

  



लोकतन्त्र समाचारदात---
सर्लाही,माघ १०

    राष्ट्रिय वाणिज्य बैंक शाखा मलंगवाले आफ्ना दुईजना असल ऋणीहरुलाई सम्मानित गरेको छ। बैंकले बिहीबार आफ्नो ६० औं वार्षिकोत्सव मनाउने क्रममा असल ऋणीद्वय शिव दुलारी महतो सुँढी र ममता कुमारी महतोलाई कदरपत्र द्वारा सम्मान गरेको हो।
     शाखा प्रबन्धक सुशीला कुमार महतोको अध्यक्षतामा आयोजना भएको वार्षिकोत्सब समारोहको प्रमुख अतिथि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले केक काटेर उद्घाटन गरेका थिए। मलंगवा नगरपालिका वडा न-९ मा कार्यालय रहेको यश बैंकको वार्षिकोत्सब समारोहमा नेपाली काँग्रेस नगर कमिटी मलंगवाका निवर्तमान अध्यक्ष चन्द्र किशोर साह लगायत उक्त शाखाका कर्मचारी,बुद्धिजीवी खाताधारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।
   राष्ट्रिय वाणिज्य बैंक नेपालकै पुरानो र प्रतिष्ठित बैंकहरूमध्ये एक हो, जसले ६० वर्षदेखि देशभर आफ्ना ग्राहकहरूलाई आर्थिक सेवा प्रदान गर्दै आएको छ। वाणिज्य बैंकको २६४ औ शाखाको रुपमा रहेको मलंगवा शाखाले पनि आफ्नो क्षेत्रका ग्राहकहरूको वित्तीय आवश्यकतामा योगदान पुर्‍याउँदै आएको छ।