Monday, February 13, 2023

मलंगवामा बनेको नयाँ बसपार्क उद्घाटन गरेसँगै सञ्चालनमा आयो

 

मलंगवामा बनेको नयाँ बसपार्क उद्घाटन गरेसँगै सञ्चालनमा आयो

मनोज यादव----

सर्लाही ,फाल्गुन १

      सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-२ मा नवनिर्मित  बसपार्क सञ्चालनमा आएको छ । मलंगवा  नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेसँगै उक्त बसपार्क सञ्चालनमा आएको हो ।

       उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले  बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङका कारण जाम लाग्ने समस्या समाधान भई यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालयको छेउमा रहेकोले यो बसपार्क सुरक्षाको दृष्टिकोणले पनि राम्रो रहेको उनले बताए ।

     कन्काई इन्टरनेसनल विल्डर्स सुरुङ्गा,झापाले निर्माणको जिम्मा लिई ८ करोड ३१ लाख रुपैयाको लागतमा निर्माण भएको उक्त बसपार्कको कुल क्षेत्रफल

२५ रोपनी रहेको छ।यसमा सानाठूला गरि एकैसाथ ७२ वटा गाडीहरु पार्किङ गर्न सकिने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी गराए। नवनिर्मित बसपार्कमा अढाई तल्लाको टर्मिनल भवन,पब्लिक शौचालय,खानेपानीको व्यवस्था ,यात्रु प्रतिक्षाालय,बास बस्न मिल्ने,वर्कसप एरिया र पार्किङ लगायतको सुविधाहरु रहेका छन् ।सो बसपार्कबाट लामो दुरीको काठमाडौ ,बिरगंज ,जनकपुर,भरतपुर,बिराटनगर र छोटो दुरीको बरहथवा,बयलबास लगायतका ठाउँको लागि गाडीहरु छुट्ने छन् ।

    मलंगवा नपा -२ का वडाध्यक्ष धिरेन्द्र साहको संयोजकत्वमा    सोमबार बिहान सम्पन्न भएको बसपार्क उद्घाटन समारोहमा विभिन्न वडाका वडा प्रमुख ,उद्योग वाणिज्य संघ,बस व्यवसायी संघ,सुरक्षा निकाय,नागरिक समाजका  प्रमुख तथा प्रतिनिधि ,पत्रकार लगायत स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।


      

No comments:

Post a Comment