Tuesday, April 25, 2023

म जनहितको काम र नगरको विकासमा अवरोध खडा गर्ने विरोधी तत्वहरु सँग रत्तिभर डगमगाउने वाला छैन :नागेन्द्र प्रसाद यादव,मेयर मलंगवा नगरपालिका

 


 "म जनहितको काम र नगरको विकासमा अवरोध खडा गर्ने विरोधी तत्वहरु सँग रत्तिभर डगमगाउने वाला छैन" :नागेन्द्र प्रसाद यादव,मेयर मलंगवा नगरपालिका 


मनोज यादव----

सर्लाही,बैशाख १२

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले वडा न-३ स्थित मेन चौक(नगरपालिका)देखि वडा न-९ कामिल मिकरानीको घरसम्मको मूल सडकमा कालोपत्रे तथा नाला निर्माणकार्य गर्न लागेको विषयमा स्थानीयबासी तथा सरोकारवालाहरु सँग राय विचार लिन छलफलको आयोजना गरेको छ।

    नगरकार्यपालिकाको गत २०७९ साल फाल्गुन ११ गतेको निर्णयअनुसार सो वडाको सिमाना सडक नगरपालिका चौकदेखि कामिल मिकरानीको घरसम्मको मूल सडकको मापदण्ड ११ मिटर कायम रहेको र सोही अनुसार रेखांकन समेत भएकोले सो मापदण्ड भित्र रहेका स्थायी तथा अस्थायी भौतिक संरचनाहरु सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र खाली गर्न आवह्वान गरि पुनः दोस्रो पटक पनि ७ दिनको म्याद थप गरेर सूचना प्रकाशित गरेको समयावधि समाप्त भएको एक महिना भन्दा बढी भइसक्दा पनि  उक्त  सूचना प्रती स्थानीयबासीहरुले बेवास्ता गरेपछि बाध्य भएर शुक्रवार नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि नियमन निकायलाई समेत सहभागी गराएर स्थानीयबासी तथा सरोकारवालाहरु सँग छलफल गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकृत राज कुमार अधिकारीले जनाएको छ।

     छलफलमा उपस्थित वडा न-३ र ९ का स्थानीयबासीहरुले मूल सडकको मापदण्ड  ११ मिटर  कायम गर्दा मेन चौकदेखि कामिल मिकरानीको घरसम्मको बिचमा पर्ने सडक छेउका दर्जनौं घर क्षति हुने र सम्पत्तिको नाउँमा एउटा घरमात्र भएको परिवार विस्थापित हुने अवस्था आएकोले सो मापदण्डलाई घटाउनु माग राखेका थिए।यसअघि पनि सोही मागको विषयमा नगरपालिकालाई पटकपटक जानकारी गराइसकेको तर आफुहरुको माग प्रति नगरपालिकाले कुनै चासो नदेखाएको उनीहरूले बताए।

   उक्त  वडाका केही व्यक्तिहरु बाहेक लगभग सबैजना नगरपालिकाले मापदण्डअनुसार रेखांकन गरेको सिमानालाई नै मानेकोले सोही अनुसार काम हुने नगर प्रमुख यादवले बताए ।सर्लाही जिल्लाको सदरमुकाम भएपनि  दशकौंदेखि मलंगवाका जनताहरुले विकासको अनुभुति गर्न पाएका थिएनन्।उनले आफू नगर प्रमुख भएर आएपछि नगरको विकासको लागि गर्न लागेको काममा केही विरोधी तत्वहरुले बाधा अवरोध पुर्याउने कोसिस गरेकोले आफु त्यस्ता विरोधी तत्वहरुबाट रत्तिभर नडगमगाउने बताए ।आफ्नो निहित स्वार्थपुर्ती गर्नको लागि यहाँका केही ठूला भनाउँदा ब्यक्तिहरुले सोझासाझा जनताहरुलाई उक्साएर   विभिन्न बहानामा अराजकता फैलाउने काम मात्र  गरेको  उनले आरोप लगाए।

   कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रदेश सांसद जंगीलाल राय,कौशल किशोर राय,पुर्व संघीय सांसद प्रमोद साह,पुर्व सांसद लक्ष्मण राय,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी,व्यवसायी संजय गुप्ता,नेपाली काँग्रेस मलंगवा नगर समिति अध्यक्ष चन्द्र किशोर साह,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी लगायतका अतिथिहरुले नगर प्रमुख यादवले गर्दै आएको कामको प्रशंसा गरेका थिए।साथै उनको विकासमुखी सोंच र विकासको काममा सक्रिय रुपमा साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत गरेका थिए।

   नगरपालिकाको सभाहलमा सम्पन्न भएको छलफल कार्यक्रममा नयाँ बसपार्क पुर्णरुपमा संचालनमा ल्याउने ,नगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको पक्की सडक, नाला तथा हुलाकी सडकको सम्पूर्ण निर्माणकार्य जतिसक्दो चाँडो सम्पन्न गराउने विषयमा समेत छलफल गरिएको कार्यक्रमका संचालक एवं प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।

No comments:

Post a Comment