Tuesday, April 11, 2023

मधेस प्रदेशका हरवाचरवाहरुले पुनस्थार्पनाको माग गर्दै बिरगंजबाट सुरु गरेको अधिकार यात्रा सर्लाहीको मलंगवामा

 


मधेस प्रदेशका हरवाचरवाहरुले पुनस्थार्पनाको माग गर्दै बिरगंजबाट सुरु गरेको अधिकार यात्रा सर्लाहीको मलंगवामा

 

मनोज यादव---

सर्लाही,चैत्र २८ 

   मधेस प्रदेशका हरवाचरवाहरु आफ्नो अधिकारको यात्रामा उत्रिएका छन् । हरवाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएको भन्दै उनीहरु अधिकारको यात्रामा उत्रिएका हुन् ।

   "मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ सिरहा जिल्लाको लहान र पर्साको बिरगंजबाट एकैसाथ जनकपुरसम्मको यात्रा निकालिएको हो।

     गत चैत्र २५ गतेदेखी बिरगंजबाट सुरु गरेको अधिकार यात्रा-२०७९, सोमबार रौतहटको गरुँडा हुँदै सोमबार  सर्लाहीको सदरमुकाम मलंगवा आइपुगेको थियो।उक्त यात्रा मलंगवा पछि सोही दिन जिल्लाकै ब्रह्मपुरी गाउँपालिका हुँदै महोत्तरीको बर्दिबास पुगेर भोलीपल्ट चैत्र २८ गते प्रदेशको राजधानी जनकपुरधाममा पुगेर २९ गते मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हरवाचरवा अधिकार मञ्च सर्लाहीका संयोजक नविना माझीले जानकारी दिएकी छिन् । 

   नेपाली काँग्रेसका सभापति एवम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनर्स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन हुने अपेक्षा गरेका थिए । तर त्यो सरकारले पुरा नगरेपछि उनीहरु सरकारसँग असन्तुष्ट हुदैँ यात्रामा उत्रिएका हुन् ।

     हरवाचरवामा जागरण ल्याउन र सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्यले यात्राको आछयोजना गरिएको मञ्चका सर्लाही संयोजक माझीले बताए । यात्राका क्रममा हरवाचरवाको बाहुल्य रहेका स्थानीय तहमा गएर प्रुमख तथा अध्यक्षबाट प्रतिबद्धता लिने, हरवाचरवा बस्तीमा गई ज्ञापन पत्रमा हस्ताक्षर संकलन गर्ने र  हरवाचरवाबाट संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापन पत्र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने मञ्चका सर्लाही जिल्ला संयोजन माझीले बताए ।

    राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, केन्द्रीय कार्य समिति लहान द्वारा राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपाललगायत संघसंस्था सँगको सहकार्यमा उक्त यात्रा निकालिएको  माझीले जानकारी दिए। 



No comments:

Post a Comment