Tuesday, April 18, 2023

मलंगवा नगरपालिकाको दमकल आइपुग्यो तर पनि आगो निभाउन समस्या


मलंगवा नगरपालिकाको दमकल आइपुग्यो तर पनि आगो निभाउन समस्या 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ५

   बिगत केही हप्ता अगाडी बिग्रिएर बनाउन लगिएको मलंगवा नगरपालिकाको एकमात्र(वारुणयन्त्र) दमकल मंगलबार मलंगवा आइपुगेको छ।चालु अवस्थामा रहेको दमकलमा एकाएक खराबी आएपछि केही साता अगाडी बनाउनको लागि जिल्ला बाहिर लगिएको थियो।

    सदरमुकाम मलंगवासहित आसपासका स्थानीय तहहरुले यसै पालिकाको बारुणयन्त्रको प्रयोग गर्दै आएका छन् ।तर उक्त बारुणयन्त्रमा पटकपटक यान्त्रिक खराबीहरु आउने गरेकाले आगलागी हुँदा ठुलो जनधनको क्षति हुँदै आएको छ।जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये दक्षिणी भेगस्थित सदरमुकाम मलंगवा र उत्तरी भेगस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिकाको गरी दुई वटा दमकल मात्र रहेका छन् ।जसमध्ये मलंगवाको दमकल पटकपटक बिग्रने गरेकोले आगलागी हुँदा हरिवनबाट दमकल मगाउनु पर्ने बाध्यता रहेको छ।हरिवनबाट घटनास्थलमा दमकल आइपुग्दा सम्म जनधनको ठूलो क्षती हुने गरेको छ।

   आइतवार राती मलंगवाको वडा न-४ मा आगलागी हुँदा बारुणयन्त्र नभएकै कारण दुईवटा घर पुर्णरुपमा जलेर खरानी भएको थियो।

     दमकल  पुरानो भैसकेकाले छोटो समय चलाउने बित्तिकै  पटक–पटक बिग्रिने समस्या देखिँदै आएको छ । हरिवन नगरपालिकाले दमकल खरिद गर्नुअघि जिल्लाभर मलंगवा नगरपालिकासँग मात्रै दमकल थियो । 

   आगलागी भएको बेल मलंगवा लगायत छेउछाउका गाउँहरुमा दमकल समयमा पुगेपनि टाढाका गाउँहरुमा पुग्न घण्टौ लाग्ने गरेको छ।जिल्लामा भएका दुईवटा दमकलको भर पर्नुभन्दा सबै पालिकाले एकएक वटा दमकल राखे ठुलो जनधनको क्षति हुनबाट जोगिने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ। 

  स्थानीय तहहरुमा जनप्रतिनिधीले आफ्नो सुविधाका लागि सवारी खरिद गरेको तर अतिआवश्यक दमकल राख्न चासो नदिएको भन्दै जनमानसबाट गुनासो आउने गरेको छ।केही समय अघि जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर दमकल सञ्चालनमा लाग्ने खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै आसपासका दुई–तीन वटा स्थानीय तहसँग समन्वय गरी संयुक्त दमकल खरिद गर्ने निर्णय समेत भएको थियो यर सो अनुसार काम भने भएको छैन ।




No comments:

Post a Comment