Monday, April 17, 2023

दमकल नआए पछि मलंगवाका आक्रोशित भिड द्वारा नगर प्रमुखको घरसहित सरकारी कार्यालयमा तोडफोड,केही ब्यक्ति प्रहरीको नियन्त्रणमा

 


दमकल नआए पछि मलंगवाका आक्रोशित भिड द्वारा नगर प्रमुखको घरसहित सरकारी कार्यालयमा तोडफोड,केही ब्यक्ति प्रहरीको नियन्त्रणमा


मनोज यादव---

सर्लाही,बैशाख ४

    आइतवार राति सदरमुकाम मलंगवास्थित एक घरमा  लागेको  आगलागी  नियन्त्रणका लागि  दमकल नआए पछि आक्रोशित बनेका स्थानीयबासीहरुले नगरपालिका ,जिल्ला प्रशासन,जिल्ला अदालतको कार्यालय र नगर प्रमुख को घरसहित आगो निभाउन आएका प्रहरीको गाडीमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

    आइतवार राति करिब ८ बजेको समयमा मलंगवा नगरपालिका वडा न–४  शिवसागर चोक स्थित गणेशिया जाने बाटोमा रहेको स्थानीय रामस्वरुप चमारको फुसको छाना भएको घरमा आगो लागेको थियो । दनदनी आगो लागिरहेको अवस्थामा पनि आगो निभाउन  दमकल नआए पछि आक्रोशित स्थानीयबासीहरुको भिडले सोही वडामा रहेको नगर प्रमुख नागेन्द्र प्रसाद यादवको घर,वडा न-८ मा रहेको नगरपालिकाको कार्यालय र वडा न-१० मा रहेको जिल्ला प्रशासन र जिल्ला अदालतको कार्यालय तथा प्रहरीको गाडीमा ढुंगामुढा र तोडफोड गरेका छन् । नगरपालिकामा ढुंगामुढा गर्न  पुगेकि भीडले उक्त कार्यालयको कम्पाउन्डमा रहेको दुईवटा मोटरसाइकलमा समेत आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भीडलाई तितर बितर पारेको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

  आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा स्थानीयहरुले चलाएको  ढुंगाबाट ५ जना प्रहरी घाइते भएका छन् । भीड नियन्त्रण गर्ने क्रममा ढुंगामुढा गर्ने ७ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    वारुणयन्त्र बिग्रेर बनाउन पठाइएको र तुरुन्त मगाउने प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताएको छ ।

No comments:

Post a Comment