Friday, July 28, 2023

प्रादेशिक अस्पताल मलंगवाको स्वास्थ्य सेवामा सुधार,जिल्ला बाहिरका ठुला अस्पतालबाट निराश भएर फर्किएका बिरामीको उपचार गर्न सफल


प्रादेशिक अस्पताल मलंगवाको स्वास्थ्य सेवामा सुधार,जिल्ला बाहिरका ठुला अस्पतालबाट निराश भएर फर्किएका बिरामीको उपचार गर्न सफल 


मनोज यादव---

सर्लाही,साउन १२

    मधेस प्रदेश अन्तर्गत सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पताल केही समय अगाडी आफै बिरामीझैं देखिन्थ्यो । सामान्य रोगको  उपचार समेत गर्न नसक्ने उक्त  अस्पताल प्राय: सुनसाननै रहन्थ्यो।दरबन्दी अनुसारको डाक्टर तथा प्राबिधिकहरु थिएनन् । निकैनै अव्यवस्थित र  बिरामी जस्तो रहने  मलंगवाको जिल्ला अस्पताल प्रादेशिक अस्पतालमा  स्तरोन्नति  भएदेखि  मुहार नै फेरिएको छ।यसअघि मुस्किलले दिनको २०/२५   जना मात्र बिरामीहरु आउने यस अस्पतालमा अहिले भने सयौँ बिरामीहरुको उपचार गर्ने थलो बनेको छ ।

   पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ भने गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि बिरामीहरु पनि खुसी छन्।

    जिल्ला बाट स्तरोन्नति भएर प्रादेशिक अस्पताल बनेपछि यहाँ सरकारी लगानीसँगै भौतिक संरचना ,उपकरण र विशेषज्ञ चिकित्सकहरु पनि थपिएका छन्। बिशेषज्ञ चिकित्सक तथा उपकरणहरुका कारण बिरामीको उपचार सेवा पनि बाहिरका ठूला निजी अस्पतालको तुलनामा राम्रो भएको छ।

      भर्खरै केहीदिन अगाडी बिरगंजको नेशनल मेडिकल कलेज र काठमाडौको एक निजी अस्पतालमा लाखौं रुपैया खर्च गरेर पनि  उपचार सम्भव नभएपछि निराश भएर घर फर्किएका एक गम्भीर रोगबाट ग्रसित बिरामी प्रादेशिक अस्पताल मलंगवामा मात्र केही दिनको उपचार पछि निको भएको छ।बाँच्ने आशनै मरिसकेको उक्त  बिरामी न्युन खर्चमा  ठिक भएको  देखेर मानिसहरुको सरकारी अस्पतालको उपचार सेवा प्रतिको नकारात्मक धारणा बदलिएको छ।

    प्रादेशिक अस्पताल मलंगवाका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रविन कुमार चौधरीका अनुसार एक्युट भाइरल मेनिन्जो इन्सेफलाइटिस रोगबाट ग्रसित भएर बिरगंज स्थित नेशनल मेडिकल र काठमाडौ स्थित एक नाम चलेको ठुलो प्राइभेट अस्पतालमा उपचार गराउँदा निको नभएपछि निराश भएर घर फर्किएका बिरामी  सर्लाहीको हरिपुर नगरपालिका वडा न-३ फरहदवा निवासी नाजमा खातुनका ११ वर्षीय छोरा अहमत राजा शेखको  प्रादेशिक अस्पतालमा कार्यरत डा.गौतम झा को सल्लाहमा मलंगवा स्थित यस अस्पतालमा ल्याएपछि यहाँ कार्यरत चिकित्सकहरुको दिनरातको अथक प्रयास र उपचार पद्धतिबाट पुर्ण रुपमा निको भएको छ।

   उक्त  बालकको जेष्ठ २९ गते ज्वरो र बान्ताबाट सुरु भएको समस्या बढ्दै गएर मुटु र आँखा बाहेकका सम्पूर्ण शरिर प्यारालाइज्ड(निस्कृय)भएको थियो।शरिर काम्ने(चम्की)समस्या पनि देखा पर्यो।यस्ता लक्षण र समस्या  एक्युट भाइरल मेनिन्जो इन्सेफलाइटिस नामक रोग लागेका बिरामीहरुमा हुने गरेकोले सोही रोगको उपचारका लागि बिरगंज र काठमाडौको अस्पतालमा लगेपनि निको नभएपछि हार मानेर   घर फर्किएकी नाजमा र उनका श्रीमान्  छोरा आफ्नै जिल्लाको सरकारी अस्पतालमा निको भएर पहिला कै अवस्थामा पुगेको देखेर निकै खुसी भएका छन।

   घरको आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान विदेशमा काम गर्नु हुन्छ।छोरा बिरामी पर्दा उहाँ विदेशमै हुनुहुन्थ्यो ।छोरा बिरामी भएको थाहा पाएपछि उहाँ गाउँ आउनुभएको थियो।सुरुमा गाउँकै डाक्टरबाट उपचार सुरु गरि त्यसपछि  गैर बजारको निजी अस्पतालबाट रेफर भएर  बिरगंजको नेशनल मेडिकलमा २२ दिनको उपचार पछि त्यहाँबाट काठमाडौको अस्पतालमा ५ दिन आएसियुमा राखेर उपचार गराउँदा पनि निको नभएपछि घर फर्काएर ल्याएको बालककी आमा नाजमा खातुनले सुनाइन् ।सो अवधिमा ६ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको र खर्च जुटाउन घडेरी बेच्नु परेको खातुनले बताइन् । तर प्रादेशिक अस्पतालमा उपचार चल्दा औषधको मात्र खर्च लागेको थियो।उक्त रोगको उपचारमा चाहिने औषधि यहाँ उपलव्ध नरहेकोले   बाहिबाट मगाउनु परेको खातुनले बताइन् ।

    सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा आम मानिसको मनमस्तिष्कमा  बसिसकेकोले  सामान्य रोग लाग्दा पनि मानिसहरु नेपाल तथा भारतका ठुला शहरका ठुला अस्पतालमा जाने गरेका छन् ।तर अब प्रादेशिक अस्पतालको अवस्था बदलिसकेको छ। बिरामीलाई बाहिर लानुको सट्टा एकपटक यहाँको उपचार सेवा लिएर हेर्न डा.चौधरीले सबैसँग आग्रह गर्नुभयो। हामीकहाँ आउने बिरामीलाई अन्यत्र रेफर नगरि यहीं राखेर उपचार गर्छौ र पुर्णरुपमा निको पारेर पठाउँछौ उहाँले भन्नुभयो।

   अहिले यस अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवादेखि सुरक्षित प्रसुती सेवा,विभित्र जाँच तथा परिक्षण हुने गरेको छ भने समयसमयमा विभिन्न रोगको नि:शुल्क शिविरहरु पनि संचालन हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ।

  

    


  

No comments:

Post a Comment