Wednesday, July 26, 2023

मलंगवाका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन,४ वटा कार्यवाहीमा परे

 


मलंगवाका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन,४ वटा कार्यवाहीमा परे

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १०

      सर्लाहीको सदरमुकाम मलंगवामा संचालनमा रहेका औषधि पसल तथा निजी क्लिनिकहरुको अनुगमन गरिएको छ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध शाखाको लिखित आदेश अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेतृत्वको टोलीले सोमबार कानुन बमोजिम दर्ता रहेका तथा कानुन विपरीत दर्ता नभइ संचालनमा रहेका निजी क्लिनिक तथा औषधि पसलहरुको अनुगमन गरेको छ।

   मलंगवा बजार क्षेत्रमा संचालित ९ वटा निजी क्लिनिक र औषधि पसलहरुको चेकजाँच गर्दा अवैधानिक रुपमा संचालन भएका ३ वटा निजी क्लिनिक तथा १ वटा मेडिकल(औषध पसल)हरु कार्यवाहीमा परेका छन् ।अनुगमनको क्रममा मलंगवा न.पा वडा न-९ मा रहेको चन्द्रकान्त मेडिकलले बिल बिजक नराखी संचालन गरेको फेला पारेकोले उक्त मेडिकलका संचालकलाई नगद ५ हजार रुपैया जरिवाना गरिएको छ भने वडा न-८ मा अवैधानिक रुपमा संचालनमा रहेका भवानी पोलिक्लिक डाइग्नोष्टिक सेन्टर प्रा.लि,कान्तिपुर डेन्टल एवं क्लिनिक प्रा.लि र अंजनी हेल्थ केयर अल्ट्रासाउण्ड सेन्टरका संचालकहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा पठाएको जिप्रका सर्लाहीले जनाएको छ।

  दर्ता नभइ कानुन विपरीत संचालनमा रहेका निजी क्लिनिक तथा औषधि पसलहरुका कारण मानवीय क्षति समेत भएको भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट आउने गरेकाले यस विषयमा विद्यमान ऐन,कानुन अनुसार संचालन भए नभएको सम्बन्धमा अनुगमन निरिक्षण गरि सो को प्रतिवेदन समेत पेश गर्न साथै कानुन विपरीत संचालन भइरहेका त्यस्ता क्लिनिक तथा मेडिकलका संचालकहरुलाई कानुनको पालना गराउन भनि गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार अनुगमन निरिक्षण गरिएको प्रजिअ यादवले बताउनुभयो।

No comments:

Post a Comment