Friday, July 7, 2023

हिन्दुहरुको पवित्र महिना ‘श्रावण’सुरु ,महिलाहर हरियो श्रृङ्गारमा सजिए


हिन्दुहरुको पवित्र महिना ‘श्रावण’सुरु ,महिलाहरु हरियो श्रृङ्गारमा सजिए

अजिता चौधरी ---

सर्लाही,असाढ २२

    प्रकृतिमा हरियाली र मनसुनसँगै श्रावण महिना सुरु भइसकेको छ ।यस महिनामा  विशेष रुपमा भगवान शिवको पुजा आराधना गरिन्छ । 

   श्रावण महिनाभरी हिन्दुधर्मावलम्बी नेपाली  महिलाहरु हातभरी हरियो चुरा, घाँटीमा हरियो पोते, हरियो पहिरन र हात भरि मेहन्दी लगाएर सोमबारको ब्रत बस्ने गर्छन् ।

  हिन्दु परम्परा अनुसार यस महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा मानिन्छ । यस महिनामा शिव मन्दिरहरुमा दर्शन गर्ने भत्तजनहरुको अधिक मात्रामा भिड लागेको देखिन्छ । शिव भगवान्को पूजा विधि पुर्याएर गर्नाले निकै फलदायी हुने मान्यता रहेको छ ।

  यस महिनामा हरेक जात, वर्ग तथा लिङ्गका मानिसहरु  शाकाहारी भएर विधिपूर्वक व्रत बसेर भगवान् शिवको दर्शन पुजा गर्न शिवालयहरुमा जाने गर्छन् ।

    श्रावण महिनामा देवी पार्वतीले तपस्या गरी भगवान् शिवलाई वरको रुपमा पाएको कुरा शिवपुराणमा उल्लेख भएकोले  महिलाहरु यस महिनालाई विशेष रुपमा मनाउने गर्दछन् । विवाहित तथा अविवाहित दुवै श्रावण महिनामा पर्ने सबै सोमबार  ब्रत बस्ने गर्छन् ।अविवाहित युवतीहरु इच्छा अनुसारको राम्रो वर पाउन र  विवाहित महिलाहरु राम्रो स्वास्थ्य परिवार र पतिको समृद्धिका लागि ब्रत बस्छन् ।

   श्रावण महिनाको विभिन्न मान्यताहरु रहँदै आएका छन् । जस्तैः श्रावण महिनामा मन्दिरमा बली चढाउन नहुने, सर्पहरु मार्न नहुने, महिनाभरि ब्रत बस्दा माछा मासु, अण्डा, प्याज, लसुन आदि खान नहुने कुराहरु रहेको छ ।

   पौराणिक कथा अनुसार श्रावण महिनामा गरिएको समुन्द्र मन्थनबाट उत्पन्न भएको हलाहल बिषले गर्दा धर्तीमा हाहाकार मच्चिएपछि त्यसबाट मानव तथा प्राणीलाई बचाउन भगवान् शिवले बिषलाई पिई आफ्नो कण्ठमा राखेका थिए । त्यसैले भगवान शिवलाई नीलकण्ठ पनि भन्ने गरिन्छ।  बिषको प्रभाव बाट भगवान शिवको शरिरको तापक्रम बढेपछि त्यसलाई शान्त गर्न ब्रम्हा लगायतका देवी  देवताहरुले गंगाजल चढाएका थिए । जसले गर्दा शिव शान्त भएको कुरा शास्त्रमा उल्लेख गरिएको  छ । यसै महिनामा  भगवान शिवले धर्तीलाई बचाएको हुनाले सम्पूर्ण  मानव जाति खुशी भएर भगवान उनको पूजा गर्ने गरेको संस्कृतिविज्ञहरु बताउँछन् ।

    भगवान् शिवलाई विशेषगरी गंगाजल , दुध, बेलपत्र भाङ धतुरो दुबो आदि चढाएर पुजा गरिन्छ।




No comments:

Post a Comment