प्रेस लेखेको मोटरसाइकलको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने मलंगवाका राजाबाबु पक्राउ
प्रेस लेखेको मोटरसाइकलको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने मलंगवाका राजाबाबु पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १
प्रेस लेखिएको मोटरसाइकलको प्रयोग गरेर लागुऔषधको ओसारपसार गर्ने मलंगवाका एक किशोरलाई सशस्त्र प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने नसिमुल मिकरानीको नाति राजा बाबू मिकरानी रहेका छन् ।
सोमबार साँझ चेकजाँचको क्रममा सशस्त्र प्रहरीको टोलीले निजलाई प्रेस लेखिएको मोटरसाइकलमा भारतबाट मलंगवातर्फ आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।मिकरानी सँगै मलंगवा -३ बस्ने मोहम्मद नुर हसनका छोरा मासुम हसन पनि पक्राउ परेका छन् ।मासुम हसन राजाबाबुले चलाएको मोटरसाइकलको पछाडि बसेर सँगै आइरहेका थिए। |
पक्राउ परेका राजाबाबु |
मासुम हसनका पिता नुर हसनका अनुसार राजाबाबुको साथबाट बरामद भएको लागुऔषधको बारेमा छोरालाई कुनै जानकारी नभएको र ओसारपसारमा समेत छोराको कुनै संलग्नता नरहेकोले उ निर्दोष रहेको छ।बाबु छोरा दुबैजना केही महिना अगाडी विदेशबाट बिदामा आएको र मेरो साउन २ गते मंगलबार विदेशको लागि उडान रहेको र छोराको पनि अगस्ट १२ तारिखको दिन उडान रहेकोले उनी यस्तो कार्यमा नलागेको पिता नुर हसनले बताए ।
पक्राउ परेका राजाबाबु र हाम्रो घर एउटै टोलमा रहेकोले निजसँग एउटा छिमेकीको नाताले छोरा मासुम हसनसँग चिनजान रहेकोले सँगै गएको हुनसक्ने अथवा बाटोमा भेटहुँदा मोटरसाइकलमा चढेको हुनसक्ने नुर हसनले बताए ।
राजाबाबु यसअघि पनि सर्लाही जिल्ला र जिल्ला बाहिरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाकाहरुको किर्ते बिल(नक्कली बिल)बनाएर विभिन्न पालिका,सरकारी कार्यालय र ब्यक्तिहरु सँग पैसा असुल्ने गरेको आरोपमा पक्राउ परिसकेका छन् ।निजलाई आइन्दा फेरीपनि त्यस्तो कार्य नगर्न भनि जिल्ला प्रहरी कार्यालयमा कागज गराएर छाडिएको थियो। कागज गराएर छाडिएपनि निजले केही स्थानीय र जिल्ला बाहिरका पत्रिकाहरु संकलन गरेर सम्बन्धित पत्रिकाको प्रकाशकको जानकारी बगैर नक्कली बिल र छापको प्रयोग गरेर पैसा उठाउँदै आएको र सो कार्यको लागि आफैले नक्कली प्रेस परिचयपत्र बनाएर प्रेस लेखेको मोटरसाइकलको प्रयोग गर्दै आएको उनी निकटका ब्यक्तिहरुले बताएका छन् ।
यसअघि पनि लकडाउनको समयमा सर्लाहीमा नेपाल भारत सिमाबाट प्रेस लेखिएको मोटरसाइकलमा लुकाएर राखेको पेस्तोल सहित दुईजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पछिल्लो समय जिल्लामा जोकोही ब्यक्तिले पनि मोटरसाइकलमा प्रेस लेखेर हिंड्ने र प्रेस लेखेको गाडीको प्रयोग गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्नेहरु बढेकोले यसतर्फ नेपाल पत्रकार महासंघको ध्यान जान र यस्ता नक्कली पत्रकारहरुको पहिचान गरि कार्यवाहीको दायरामा ल्याउन अत्यन्त जरुरी रहेको बुद्धिजीवीहरु बताउँछन् ।यस्ता केही नक्कली पत्रकार र अपराधिक किसिमका ब्यक्तिहरुले गर्दा सिंगै प्रेस जगतनै बदनाम भइरहेको नागरिक समाजका अगुवाहरुको भनाइ छ।
No comments:
Post a Comment