Thursday, August 17, 2023

सर्लाहीमा विधुत सेवा अनियमित/प्रचण्ड गर्मीको बेला छिनछिनमा बत्ती जाँदा जनतालाई सास्ती


 सर्लाहीमा विधुत सेवा अनियमित/प्रचण्ड गर्मीको बेला  छिनछिनमा बत्ती जाँदा जनतालाई सास्ती 



लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन ३२

     अनियमितरुपमा छिनछिनमा लाइन काटेर विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्ला अन्तर्गतका सबै वितरण केन्द्रहरुले दुख दिन थालेकाले जिल्लाभरीका उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैया प्रति आक्रोशित भएका छन् ।मलंगवा वितरण केन्द्रको प्रमुखको रुपमा उमेश प्रसाद यादव आएदेखि जिल्लामा यस्तो समस्या बढेको जनगुनासो आएको छ।

    ६ महिना अगाडि  यादव वितरण केन्द्रको प्रमुखको रुपमा आएका हुन्।उहाँ आएदेखिनै  प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्न थालेको हो। यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ ।

   लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका मानिसहरु छिनछिनमा बत्ती गरइरने समस्याका कारण सही तरिकाले इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् ।सबैखाले कार्यालयमा अफिसियल कामहरु कम्पियुटरको माध्यमबाट हुने गरेकोले एकदिनको काममा तीनचार दिन लाग्ने गरेको कर्मचारीहरुले बताएका छन् ।

   विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि प्राविधिक खराबी आएको भनेर पन्छिन खोजेको उपभोक्ताहरुले बताए। कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने । प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

    उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् । 

    उपभोक्ताहरुलाई जस्तो सुकै समस्याहरु आएपनि बिजुलीको महसुल समयमै बुझाउनु पर्छ । समयमा महसुल नबुझाएको खण्डमा प्राधिकरणले उपभोक्तासँग १० देखि २५ प्रतिशतसम्म जरिवाना असुल्ने गरेका छन् । लाइन दिन कन्जुस्याइँ गर्ने तर लाइन काट्न कन्जुस्याइँ नगर्ने विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन रवैया प्रति जिल्लाभरीका उपभोक्ताहरु पिडित बनेका छन्।  वितरण केन्द्र मलंगवामा प्रमुख भएर आए लगत्तै यादवले ३३ जना दैनिक ज्यालादारी ,११ जना सेवा करार र २० जना गोटा गन्ती(मिटर रिडर) गरि जम्मा ६४ जना कर्मचारीहरु भर्ना गरेका छन् ।ती ५४ जना कर्मचारीहरुमा तलब भत्ता वापत मासिक  १३ लाख ३८ हजार ५ सय रुपैया अतिरिक्त खर्च हुने गरेको वितरण केन्द्र मलंगवाका एक कर्मचारीले जानकारी दिए। सहि तरिकाले विधुत सेवा प्रदान गर्न आम उपभोक्ताले तिरेको महसुल वापतको रकमबाट मासिक १ लाख रुपैया भन्दाबढी रकम खर्च गरेर प्राविधिक तथा कर्मचारीहरु भर्ना गर्दा पनि यहाँका जनताहरु अनियमित विधुत कटौती र अघोषित लिडसेडिंङको मार झेल्दै आएका छन् ।

    उता प्रमुख  यादवले भने  मलंगवा वितरण केन्द्र अन्तर्गत एउटामात्र सब स्टेसन मलंगवामा रहेको र यसले सबैतिर धान्न नसकेकोले विकल्प स्वरुप प्रादेशिक कार्यालयको आयोजना अन्तर्गत  पुर्वमा हरिपुर्वा र पश्चिमा गडहिया डुमरियामा गरि दुईवटा सब स्टेसन निर्माणाधीन अवस्थामा रहेकोले अबको १०-१५ दिनको भित्रमा ती दुवै सब स्टेसनहरु संचालनमा आएपछि बत्तीको समस्या हटेर जाने बताएका छन् ।

  जिल्लाको सदरमुकाम  मलंगवा सहित हरिपुर्वा, बलरा लालबन्दी, हरिवन, हरिपुर,बरहथवा, बयलबास,गोडैता,गढैया डुमरिया लगायतका मुख्य सहरदेखि गाउँसम्मका उपभोक्ताहरु जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन्।

    

      

No comments:

Post a Comment