Tuesday, August 22, 2023

सम्पादकीय .... ✍️ 👉️दलित,महिला र तेस्रो लिंगीहरु माथि हुने भेदभावको अन्त्य कहिले हुन्छ?

 



सम्पादकीय .... ✍️


👉️दलित,महिला र तेस्रो लिंगीहरु माथि हुने भेदभावको अन्त्य कहिले  हुन्छ?



    राष्ट्र निर्माता पृथ्वीनारायण साहले आफ्नो दिव्योपदेशमा नेपाललाई चार जात छत्तीस वर्णको फुलबारी हो भनेर भनिबक्सनु भएको थियो। उहाँले सारा नेपाली एउटै बगैंचाको फुलहरु भएकाले एकआपसमा भेदभाव नगर्न  भनिबक्सनु भएको थियो। नेपालको संविधान २०७२ ले पनि जाति, लिङ्ग, धर्म, वर्ण आदिका आधारमा भेदभाव वर्जित गरेको छ । तर अहिले पनि पृथ्वीनारायण साह र  संविधानको मर्मविपरीत भेदभावहरू जारी नै छन् । 

      दलितहरूलाई अहिले पनि धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा भेदभाव  कायमै छ । यहाँसम्म कि संविधान पालना गर्ने गराउने निकायहरु बाट पनि दलितहरु भेदभावका शिकार भइरहेका छन् ।भेदभावको क्रममा दलित माथि हुने विभिन्न  घटनाहरू समाचार माध्यमहरु बाट बेलाबखतमा  उजागर हुने गरेका छन्  । संविधानमा  एउटा कुरा र व्यवहारमा अर्काे कुरा हुँदा भेदभावले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । समाजमा यसको फाइदा उठाउने समूहहरू सक्रिय छन् । 

   दलितलाई सार्वजनिक पूजापाठमा सहभागी नगराउने, उनीहरूलाई सार्वजनिक इनार, धाराबाट पानी लिनसम्म बन्देज पार्ने, भोजभतेरमा भेदभाव गर्ने साथै  शैक्षिक क्षेत्रमा पनि उनीहरूसँग भेदभावपूर्ण व्यवहार हुने भएकाले कतिपय दलित बालबालिकाहरू अनिवार्य शिक्षा पाउनबाट वञ्चित हुँदै आएको नेपाल  राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं दलित अधिकारकर्मी राजेश पासवान बताउँछन् । 

    हाम्रो समाजमा भेदभाव दलित माथि मात्र भइरहेका छैनन् ।पुरुष र महिला बिच पनि भेदभाव हुने गरेका छन् । अहिले पनि हाम्रो समाजमा  छोरा जन्मिएपछि खुशीयाली मनाउने र छोरी जन्मिएपछि दु:खी हुने जमात धेरै छन् । देखावटीरूपमा छोरीहरूप्रतिको मोहमाया जाहेर गर्ने तर व्यवहारमा भने  त्यसको ठीकविपरित गर्ने कार्य गर्नेहरू पनि हाम्रै समाजमा छन् । तेस्रो लिंगीहरु माथि पनि भेदभाव उत्तिकै हुने गरेको छ।उनीहरू पनि आफ्नो अधिकारको  लडाइँ लडिरहेका छन् ।उनीहरूको यस्तो लडाइँ कहिलेसम्म चल्ने हो त्यो हेर्न बाँकी छ।

  पछिल्लो समय दलित ,महिला र तेस्रो लिंगीहरूविरुद्ध हुने भेदभावका लागि  विभिन्न संस्थाहरूले आवाज उठाउँदै आएका छन् ।

              मनोज यादव(सम्पादक)
              राष्ट्रिय लोकतन्त्र दैनिक 
                  मलंगवा,सर्लाही 
           

No comments:

Post a Comment