Thursday, August 17, 2023

सदरमुकाम मलंगवाको मेन चौकदेखि नगरपालिका कार्यालयसम्मको सडक नबन्दा आवतजावतमा समस्या

 


सदरमुकाम मलंगवाको मेन चौकदेखि नगरपालिका कार्यालयसम्मको सडक नबन्दा आवतजावतमा समस्या 


मनोज यादव---

सर्लाही,साउन ३२

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकालाई सुन्दर र सफा बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा दुई तर्फी नालासहितको पक्की सडक बनेपछि यहाँका बासिन्दाहरु निकै खुसी भएका छन् ।

   करिब ३ दशक भन्दा बढी समयदेखि जर्जर र कुरुप अवस्थामा रहेको मलंगवा बजारमा कालोपत्र गरिएको फराकिलो सडक बनेपछि अब बल्ल केही परिवर्तन हुन्छ भनेर खुसी भएका जनताहरु पुनः निराश भएका छन् ।बजारको अन्य ठाउँमा सडक बनेर सुचारु भइसके पनि  मलंगवा बजारको अतिब्यस्त मानिएको मेन चौकदेखी नगरपालिकाको कार्यालयसम्मको सडक भने अहिले पनि जर्जर र हिंड्नै नसक्ने अवस्थामा रहेको छ।

   विगत केहीदिन देखि भइरहेको वर्षाका कारण सडकको दुवैतर्फ नाला बनाउनको लागि खनेर छाडेको खाल्डोमा पानी भरेर बिच सडकमा घुँडा सम्म पानी भरिएर आवतजावतमा समस्या भएको छ।सडक फराकिलो गर्न भत्काइएका घरहरुबाट निस्किएका  कंक्रिटका टुक्राहरु पनि जथाभावी राखिएका कारण पनि समस्या उत्पन्न भएको छ।

   नगरपालिकाले बजारका अन्य क्षेत्रमा  सडक बनाए पनि आफ्नै कार्यालय तर्फ जाने सडक बनाउन नसक्दा मलंगवा बजार पुन: पहिलाको जस्तै कुरुप बनेको स्थानीय बुद्धिजीवीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

    सो सडक भएर हिँड्ने मानिसहरु लड्ने गरेका छन् । सवारी साधन साइकल, मोटरसाइकल र स्कुटी चलाउनेलाई पनि समस्या हुने गरेको छ। “म स्कुटीमा हिँड्छु, सडकमा जथाभावी छरिएर रहेका कंक्रिट र खाल्डा खुल्डीका कारण कयौंपटक लडेको छु , स्थानीय छात्र आदर्श यादवले भने।सो ठाउँको व्यापार पनि चौपट भएको पसलेहरुले गुनासो गरेका छन् । 


No comments:

Post a Comment