Tuesday, September 12, 2023

नेपाल भरीका जनताहरुलाई मेरो तर्फबाट सामाजिक संदेश ...✍️ @सामाजिक सद्भाव बिगार्ने गलत क्रियाकलापको पछाडी नलागौ यसले समाजलाई भयानक दुर्घटनामा लैजाने छ।

 नेपाल भरीका जनताहरुलाई मेरो तर्फबाट सामाजिक संदेश ...✍️
  @सामाजिक सद्भाव बिगार्ने गलत क्रियाकलापको पछाडी नलागौ यसले  समाजलाई भयानक दुर्घटनामा लैजाने छ।

मनोज यादव---


     सर्लाहीको सदरमुकाम मलंगवामा गएको केही  दिन देखि केही तत्वहरुले धर्मको नाममा सामाजिक सद्भाव विथोल्ने काम गरिरहेका छन् ।गत शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनको क्रममा कुनै स्थानीयको घरको छतबाट ढुंगा प्रहार गरिएको भन्दै सुरु भएको दुई समुदाय बिचको विवादले उग्र रुप लिएपछि मलंगवा लगायत केही ठाउँको माहोल यतिबेला नाजुक भएको छ।दुवै समुदायका ब्यक्तिहरु एक अर्कालाई दोषारोपण गर्दै एकअर्काको धार्मिक आस्थाका केन्द्र तथा सार्वजनिक र ब्यक्तिगत संरचनाहरुमा क्षति पुर्याउने काम गरिरहेका छन् ।जसबाट फाइदा कसैलाई भएको छैन बल्कि एकअर्कालाई क्षति मात्र पुर्याउने काम भइरहेको छ।जुन एकदमै गलत हो।
      विवादले उग्रता लिएपछि बाध्य भएर स्थानीय प्रशासनलाई शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवा नगर क्षेत्रमा कर्फ्यु समेत लगाउनु पर्यो ।कर्फ्यु लगाउँदा पनि माहोलमा परिवर्तन नआउने देखिएपछि  जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णय ले पुन: कर्फ्यु हटाएकै दिन आइतवार बिहान ८ बजे देखि बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्नु पर्यो।

    केही समययता मधेश प्रदेशमा हिन्दू-मुस्लिम बिचको झडप एकाएक बढ्न थालेको छ। धर्म रक्षाका नाममा वर्षौंदेखि मनाइरहेको एकअर्काको सांस्कृतिक चाडमा हस्तक्षेप गर्ने र आफ्नो चाडको अवसर पारी अर्काको बस्तिमा गई  चिढ्याउने र उग्र नाराबाजी गर्न थालेपछि दुई पक्षबीच द्वन्द्व बढ्दै गइरहेको बताइन्छ।

  अघिल्ला वर्ष आफ्ना धर्म-संस्कार मनाउँदा एकअर्काविरुद्ध नाराबाजी नगर्ने, हिन्दूले मुस्लिम बस्तीमा र मुस्लिमले हिन्दू बस्तीमा भीड नलैजाने एकखालको भद्र सहमति भएको थियो। तर पछिल्लो समय यो सहमति तोड्ने काम भएको छ। मलंगवाको घटना पनि सोही सहमति तोडेकै कारण भएको बताइन्छ। मधेश प्रदेशका जिल्लामा दिनानुदिन हुन थालेका यस्ता झडप नियोजित तरिकाले हुने गरेको बुद्धिजीवीहरुको बुझाइ छ।

    एकवर्ष भित्र धार्मिक झडप मोहर्रम, रामनवमी हुँदै कृष्ण जन्माष्टमीसम्म आइपुगेको छ। बिश्वकर्मा पुजा,गणेश पुजा त्यसलगत्तै दसहरा , दीपावली र छठ पर्व आउँदै छन्। कुनैपनि धर्म ग्रन्थमा मानवताविरोधी काम गर्न, एकअर्कालाई दु:ख दिन,हत्या गर्न जस्ता गलत कार्यहरु गर्नुपर्छ अनी मात्र इश्वर ,अल्लाह,इशामसिह,भगवान बुद्ध, गरु नानक खुसी हुन्छ भन्ने लेखिएको छैन।जब विश्वमा मानिदै आएका कुनैपनि धर्मको धर्मग्रन्थमा यस्ता गलत क्रियाकलापहरु गर्नुपर्छ भन्ने लेखिएको छैन भने किन उनीहरुको नाममा आरजकता फैलाउने ?एक पटक आफै सोंच्नुस र बिचार गर्नुस् ।के गर्दा समाजलाई हानी नोक्सानी हुन्छ र के गर्दा हुँदैन ।त्यसैले यस्ता सामाजिक सद्भाव बिगार्ने  तत्वहरुको पछि नलाग्न आग्रह गर्दछौं । नत्र यसले  समाजलाई भयानक दुर्घटनामा लैजाने छ।


No comments:

Post a Comment