Friday, September 22, 2023

शिक्षकहरु आन्दोलन गर्न काठमाडौ गएपछि मलंगवाका सामुदायिक विद्यालयहरु बन्द,विद्यार्थीहरुको भविष्य धरापमा

 

शिक्षकहरु आन्दोलन गर्न काठमाडौ गएपछि मलंगवाका सामुदायिक विद्यालयहरु बन्द,विद्यार्थीहरुको भविष्य धरापमा 


मनोज यादव---

सर्लाही,असोज ५

    विद्यालय शिक्षा विधेयकको विरोध गर्न शिक्षकहरु काठमाडौं गएपछि देशभरका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।सर्लाहीबाट पनि सयौंको संख्यामा शिक्षकहरु आन्दोलनका लागि काठमाडौ गएपछि बिहिवारदेखि सबै सरकारी विद्यालयको पठनपाठन ठप्प भएको छ।

    विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका शिक्षकहरु माग सम्बोधन नभएसम्म जिल्ला नफर्किने अडान लिएकाले विद्यालय खुल्ने लगभग अनिश्चित नै भएको छ।

     केहीदिन अगाडी सर्लाहीको सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिचको विवादका कारण उत्पन्न भएको समस्यालाई साम्य पार्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण भाद्र २२ गतेदेखि बन्द भएको सामुदायिक  विद्यालयहरु विभिन्न पर्व र दिवसमा दिइएको सार्वजनिक बिदाहरु पछि असोज ४ गतेबाट खुलेको भएपनि पढाउने शिक्षकहरु सबै शिक्षा विधेयक विरुद्ध सडक तताउन काठमाडौ ओर्लिए पछि विद्यार्थीहरु पुनः घरबस्न बाध्य भएका छन् ।

   शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेपछि स्थानीय सरकारहरुले  यस विषयमा चासो लिंदै  शिक्षा विधेयकमा सुधार गर्नुपर्ने शिक्षकहरुको माग प्रति आफुहरु पनि सहमत रहेकोले आन्दोलनको नाममा यसरी विद्यालयनै बन्द गर्नु उचित नभएकोले विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न  अनुरोध गरेका छन् । काठमाडौ महानगरपालिका सहित देशभरका अधिकांश पालिकाहरुले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । 

   मलंगवा नगरपालिका भित्र २२ वटा सरकारी विद्यालयमध्ये ५ वटा माध्यामिक , ४ वटा  कक्षा ८ सम्मका आधारभूत र १३ वटा कक्षा ५ सम्मका आधारभूत विद्यालयहरु रहेका छन् ।

    आन्दोलनको नाममा शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अधिकारकर्मीहरुले अनुरोध गरेका छन् । सबै समस्याको निकास आन्दोलन मात्र नभएकोले विद्यार्थीहरुको भविष्य धरापमा परेर आन्दोन गर्नु उचित नभएको अभिभावकहरुको ठहर छ।



No comments:

Post a Comment