Sunday, September 24, 2023

शनिवार राति हिन्दु समुदायको घरमा केही अराजक ब्यक्तिहरुले आक्रमण गरेपछि आइतवार मलंगवामा दिनभर तनाव /दर्जनौं शेल अश्रुग्यास प्रहार,स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन

  शनिवार राति हिन्दु समुदायको  घरमा केही अराजक ब्यक्तिहरुले आक्रमण गरेपछि आइतवार मलंगवामा दिनभर तनाव /दर्जनौं शेल अश्रुग्यास प्रहार,स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन 



लोकतन्त्र समाचारदात---

सर्लाही,असोज ७

    सर्लाहीको सदरमुकाम मलंगवामा हिंदु-मुस्लिम बिचको विवाद फेरी सुरु भएको छ।  दुई साता अगाडी कृष्ण जन्माष्टमी पुजाको मुर्ति सेलाउने क्रममा सुरु भएको विवाद स्थानीय प्रशासनको पहलमा दुवै समुदायका अगुवाहरु र राजनैतिक दलका प्रतिनिधिहरुलाई राखेर भएको छलफल पछि साम्य भएको थियो ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको छलफलमा घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न सहायक प्रजिअको संयोजकत्वमा ९ सदस्यीय  छानबिन समिति समेत गठन गरिएको थियो।समितिले घटनाको छानबिन गरिरहै अवस्थामा गएको बिहिवार  गणेश पुजाको मुर्ति सेलाउन जाँदै गरेको अवस्थामा पुनः झडप सुरु भएको थियो। झडपमा परेर ७ जना युवाहरु सामान्य घाइते भएका थिए भने एकजना माथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उक्त व्यक्तिको बिरगंजमा उपचार चलिरहेको छ।  निजको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक श्रोतले जानकारी गराएको छ। 

    सो दिनको घटना पछि लगत्तै  सार्वजनिक सम्पतिको तोडफोड ,आगजनी र उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शान्तिभंग हुने स्थितिलाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै बिहिवार राति १० बजेदेखि लागु हुने गरि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)(१)(३)बमोजिम मलंगवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो जुन अहिले पनि जारी छ।

    कर्फ्यु लागेकै समयमा शनिवार राति करिब ९ बजेको समयमा केही अराजक प्रवृत्तिका स्थानीय व्यक्तिहरुले मलंगवा नगरपालिकाको वडा न-४ स्थित केही हिन्दु समुदायका स्थानीय मानिसहरुको घरमा हातहतियार सहित आक्रमण गरि उनीहरूले जम्मा गरि राखेको परालको टालमा आगजनी सहित केही घरमा तोडफोड गरेपछि आइतवारदेखि मलंगवाको अवस्था फेरी तनावपूर्ण भएको छ । 

   शनिवार रातीको घटना पछि आक्रोशित बनेका स्थानीय युवाहरु  आइतवार बिहानैदेखि नगरको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शनहरु गरेका छन्। प्रदर्शनको क्रममा जम्मा भएका भिडलाई तितरबितर पार्न नेपाल प्रहरीले दर्जनौं शेल अश्रुग्यास प्रहार गरेका छन् ।

   मलंगवा नगरपालिका क्षेत्रमा अहिले ठुलो संख्या नेपाल प्रहरी,दंगा नियन्त्रण टोली,सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। 

   यस्तो अवस्थामा जनताले जिताएर संसदमा पठाएका नेताहरुको आवश्यक्ता पर्ने गरेको भएपनि घटना सुरु भएको दिनदेखि हालसम्म यस क्षेत्रबाट निर्वाचित भएर मन्त्री तथा सांसद बनेका एकजना पनि नेताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुको यस्तो गैरजिम्मेवारीपन रवैया प्रति सर्लाही जिल्ला भरीका नागरिकहरुको मनमा आक्रोश उत्पन्न भएको छ।

   सामुदायिक द्वन्द फैलाएको आरोपमा  मलंगवाका २ जना मुस्लिम ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसंधान प्रक्रिया अगाडी बढाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



No comments:

Post a Comment