Thursday, September 28, 2023

सर्लाहीको हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष पछि पनि संचालनमा नआए पछि करोडौंको लगानी बालुवामा पानी हाले जस्तो भएको छ।

 सर्लाहीको हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष पछि पनि  संचालनमा नआए पछि करोडौंको लगानी बालुवामा पानी हाले जस्तो  भएको छ।

मनोज यादव----






सर्लाही,असोज  ११
 
   सर्लाहीको हरिपुर्वा नगरपालिकामा रहेको  हरिपुर्वा अस्पताल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि संचालनमा आउन सकेको छैन ।

    वडा नम्बर-२ स्थित नयाँ बजारमा झण्डै ७ करोड रुपैयाँको लागतमा निर्माण भएको  १५ शैयाको उक्त  अस्पतालको हालसम्म उद्घाटन समेत भएको छैन । जबकी निर्माण कम्पनीले अस्पताल भवनको सम्पुर्ण  निर्माणकार्य  सम्पन्न गरेर ६ -७ महिना अघि नै नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । 

     तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतोको विशेष पहलमा स्थानीय विनोद साहले दानमा दिएको १० कठ्ठा जग्गामा निर्माण भएको उक्त अस्पतालमा स्वास्थ्य प्रयोगशाला मात्र संचालनमा रहेको छ। उक्त  प्रयोगशाला संचालनको लागि प्राविधिक र  स्वास्थ्य परिक्षणका लागि आवश्यक पर्ने उपकरणहरु  मधेस प्रदेश सरकारले उपलब्ध गराएको छ। उक्त प्रयोगशालामा आवश्यक पर्ने उपकरणहरु रहेता पनि परिक्षणको लागि आवश्यक पर्ने केमिकल र किटहरुको अभाव रहेको यहाँ कार्यरत कर्मचारीले बताएका छन् ।

      यस क्षेत्रमा एउटापनि सुविधा सम्पन्न अस्पताल नरहेकोले सामान्य रोगको उपचारको लागि पनि सदरमुकाम मलंगवा ,बिरगंज ,जनकपुर , काठमाडौ लगायत भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेको थियो। गरिब परिवारका बिरामीहरुलाई पैसाको अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको थियो। उपचार बिना कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने अभिप्रायले आफुले  अस्पताल निर्माणका लागि १० कठ्ठा जग्गा दान गरेको थिए तर, अस्पताल बनेको दुई वर्ष भन्दा बढी भइसक्दा पनि संचालनमा नआउँदा  मन खिन्न भएको जग्गादाता बिनोद कुमार  साहले गुनासो गरेका छन् । यसअघिका मेयर सियाराम राय यादवको पालामै अस्पताल भवन निर्माणको काम सम्पन्न भइसकेपनि अर्को मेयर बिनोद साह आइसक्दासमेत अहिलेसम्म संचालन नहुनु दुःखद रहेको उनले भने।

   तीन तल्लाको आलिसान एवं सुविधा सम्पन्न यस अस्पतालमा अहिलेसम्म विद्युत् आपूर्ति समेत भएको छैन । पोलबाट डाइरेक्ट तार तानेर बिजुलीको प्रयोग भइरहेको छ। संग्रामपुरदेखि हरिपुर्वासम्मको मुख्य सडक नजिकै रहेको यस अस्पताल सम्म पुग्न पक्की बाटो छैन । माटोको सडक भएकोले बर्षातको मौसमा पुरै हिलाम्मे हुने गरेको स्थानीयहरु बताउँछन् ।

   नगरपालिकाले खटाएको एकदुई जना कार्यालय सहयोगी तथा  खेतमा काम गर्न र घाँस काट्न आएका केही स्थानीय मानिसहरु  बाहेक अन्य कुन पनि मानिसहरु अस्पताल परिसरमा भेटिंदैन।टाढैबाट भब्य देखिने हरिपुर्वा अस्पताल यतिबेला सुनसान र प्रयोगविहीन भएको छ।

     हरिपुर्वा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका संयोजक राम एकवाल रायका अनुसार गत आर्थिक वर्षमा ४० लाख  कर्मचारी भर्ना र ४० लाख आवश्यक सरसामान खरिदको लागि भनेर जम्मा ८० लाख बजेट अस्पतालका लागि  छुट्याइएको थियो। तर राजनैतिक द्वन्द्व तथा आन्तरिक बिवादका कारण उक्त बजेट चलाउन सकिएन। बजेट फ्रिज भएकै कारण हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि हालसम्म अस्पताल संचालनमा नआएको स्वास्थ्य संयोजक रायले बताए ।अबको केही दिनमै कार्यपालिका सदस्यहरुको बैठक मार्फत बजेट छुट्याएर डाक्टर लगायत अन्य कर्मचारीहरुको भर्ना गरि उक्त अस्पताललाई पुर्णरुपमा संचालनमा ल्याउने उनले बताए ।
   अस्पतालको शिलान्यास भई निर्माणकार्य सुरु हुँदा खुसी भएका हरिपुर्वाका जनताहरु निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि संचालनमा नआएपछि यतिबेला निराश भएको देखिन्छन्।  विकसित शहरहरुमा जस्तै सुविधा सम्पन्न अस्पताल गाउँमा हुँदाहुँदै पनि उपचारको लागि अन्यत्र जानू परेको स्थानीयहरुले गुनासो गरे ।

    करोडौँको लगानीमा बनेको अस्पतालको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको भएपनि नगरपालिकाले आफ्नो दायित्व पूरा गरेको देखिंदैन । पालिका भित्र छुट्टै आन्तरिक तथा राजनैतिक द्वन्द्व चलिरहेको छ। पटकपटकको तालबन्दी र हडतालका कारण एउटा पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेका छैनन् ।एकजना प्रमुख प्रशासकीय अधिकृतको त हाजिरी भएको ३ घण्टामै सरुवा भएको थियो  । जसले गर्दा गत आर्थिक वर्षमा एउटा पनि विकास निर्माणका कामहरु यस पालिकामा  भएको छैन ।

     हजारौं जनताको सुविधाको लागि करोडौंको लगानी गरेर सरकारले अस्पताल निर्माण गरिदिए पनि पालिकाको गैरजिम्मेवारीपनले गर्दा  सरकारको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ। 
   


No comments:

Post a Comment