Monday, April 5, 2021

मधेशमा आयोजना हुने झण्डा मेलाबाट स्थानीय अर्थतन्त्र चलायमान

 




मनोज यादव---

सर्लाही ,चैत २३

   तराई मधेसका गाउँघरमा  झण्डा मेलाको रौनकता देखिन थालेको छ ।  मधेसका सवैजसो गाउँबस्तीमा  झण्डा मेलाको  आयोजना सुरु भएको छ । निजी तथा  सामुहिक स्तरमा आयोजना गरिने यो मेला तराई मधेसमा छुट्टै पहिचान बनाएको  संस्कृतिक उत्सवको रुपमा रहेको जानकारहरु बताउँछन् ।

    बजरंगबली अर्थात हनुमान जीको प्रतिकको रुपमा बाँसद्वारा झण्डा निर्माण गरेर सामुदायिक रुपमा वैदिक विधि अनुसार यसको पुजा आराधना गरि  सर्वसधारणहरुको दर्शनका लागि खुल्ला गर्ने गरिन्छ ।यो मेला तीनदेखि ७ दिवसीय र सो भन्दा  बढी दिनसम्मको लागि पनि आयोजना गर्ने गरिएको जानकारले बताए । मेलामा आयोजना हुने नाच, विभिन्न खाले खेल तमासाहरुका कारण गाउँघरमा मेलमिलाप र आपसी सदभावको वातावरण बन्ने गरेको छ । यसका साथै स्थानीय  अर्थतन्त्रलाई चलायमान बनाउन पनि यसले धेरै सहयोग गरेको जानकारहरुको भनाइ छ ।

    बजरंगबलीको झण्डा खण्ड-खण्डमा कलात्मक ढंगबाट  विभिन्न रंगका चमकिला कागज , फोंटो र विभिन्न प्रकारका आकर्षक आकृतिहरु टाँसेर अकर्षक बनाइएको हुन्छ।

    मेलामा  पहलवानी (कुस्ति), ड्रामा,नाच, झाराझरी खेल लगायतको पनि आयोजना गरिन्छ ।यस्ता आयोजनाहरुले लोप हुनलागेको  प्राचीन मिथिला सभ्यताको बारेमा  नयाँ पुस्तालाई अनुभव र जानकारी हासिल गर्न ठुलो सहयोग पुर्याउने गरेको छ । खास गरी प्राचीन मिथिला क्षेत्रमा महावीर झण्डोत्सवको रौनकता बढी देखिने गरेका छन् । 

    भक्ति, साहस र  पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचक, महावीर र पवनदुतसहितका नामले स्मरण गरिन्छ । महावीरक  नाममा झण्डोत्सव मेलाको आयोजना गरिँदा नगर,गाउँ, बस्तीमा कुनै आपत्त विपत्त नआउने र परिवार तथा समाजमा  सुख शान्ति छाउने तथा दुष्ट प्रवृत्तिको नाशहुने  जनविश्वासले गर्दा नै मिथिला क्षेत्रमा यसको महत्त्व  बढेको  हो ।

    विशेष गरेर मेलामा आयोजना हुने विविध कृयाकलापले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको जानकारहरु बताउँछन् ।

   झण्डा मेलाको आयोजना गर्न उत्तरायण माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधीलाई  उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ-फागुनमै बढीजसो महोत्सव आयोजना हुने गरेको जानकारहरु बताउँछन ।मेलालाई आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसरको रुपमा लिइन्छ ।  


No comments:

Post a Comment