Monday, April 12, 2021

सिडियो कार्यालय बाहिर हुलाक टिकट ब्ल्याकमा किन्नुपर्ने बाध्यताको अन्त भयो

 



 ---प्रशासन कार्यालय भित्रै  सरकारी मुल्यमा किन्न पाइने--- 


मनोज यादव----

सर्लाही ,चैत ३०

     जिल्ला प्रशासन कार्यालय मलंगवाले कार्यालय हाता भित्र छुट्टै हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गरि सरकारी मुल्यमा हुलाक  टिकटको बिक्रीवितरण सुरु गरेको छ । 

      कार्यालयको विभिन्न सेवा लिनको लागि हुलाक टिकट अनिवार्य रुपमा चाहिने भएको र सेवाग्राहीहरु जिल्ला हुलाक कार्यालयबाट हुलाक टिकट नलिई प्रशासन  कार्यालय  बाहिर पसल थापेर बसेका पसलेहरु सँग बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस कार्यालयबाट हुलाक टिकटको बिक्रीवितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

    यसका लागि कार्यालयको मुख्य गेटको छेउमा रहेको कोठा न-१४ मा छुट्टै टिकट काउन्टरको  व्यवस्था गरिएको प्रजिअ तामाङले जानकारी गराए । 

    जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूको नियमन तथा निर्देशनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयकै अगाडी  हुलाक टिकट खुलेयाम ब्ल्याकमा बिक्री वितरण भइरहेको सेवाग्राहीहरूको गुनासो छ।सर्लाही जिल्ला स्थित इलाका प्रशासन ,मालपोत, नापी, स्थानीय तह र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम  ब्ल्याकमा हुलाक टिकटको बिक्री भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ। 

     कार्यालय बाहिर १, २, ५, ८, १०, २०, ५० देखि १०० रुपैयाँसम्मका टिकटहरू किन्न पाइन्छ। तर बाहिरबाट किन्दा यसको मूल्य करिब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही सत्यनारायण यादवको गुनासो छ।सरकारी कामकाजको लागि अतिआवश्यक रहेको  हुलाक टिकटको खुलेआम रुपमा हुँदै आएको कालोबजारीलाई रोक्न जिल्ला प्रशासन कार्यालय मलंगवाले चालेको कदम प्रशंसनीय रहेको यादवले भने ।


No comments:

Post a Comment