Friday, April 2, 2021

पत्रकार महासंघको प्रदेश समितिमा सर्लाहीबाट ५ जनाले दिए उमेदवारी




लालबन्दी – नेपाल पत्रकार महासंघको प्रदेश २ कार्य समितिमा सर्लाहीबाट ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशको अस्थायी मुकाम जनकपुरधाममा बिहिवार राखिएको मनोनयन दर्ता कार्यक्रममा सर्लाहीबाट नेपाल प्रेस युनियनका अजित सिंहले सचिवमा, युनियनकै सन्तोष सिंहले सदस्यमा, अहिलेको जिल्ला अध्यक्ष समेत रहेका प्रेस मञ्चका विश्वनाथ ठाकुरले कोषाध्यक्षमा, प्रेस चौतारीका शंकर श्रेष्ठले सदस्यमा र मधेसी पत्रकार समाजका जीतेन्द्र प्रसाद सिंहले पनि अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यही चैत २५ गते जिल्ला, प्रदेश र केन्द्रीय समितिको एकैसाथ निर्वाचन हुँदैछ । जसअनुसार बिहिवार प्रदेश समितिका पदाधिकारीहरुका लागि उम्मेदवारी दर्ता भएको हो ।

यस्तै, चैत २३ गते जिल्ला कार्य समितिको पदाधिकारीका लागि मनोनयन दर्ता हुनेछ । सर्लाहीमा यो पटक महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियनले पत्रकार टंकबहादुर क्षेत्रीलाई अघि सारिसकेको छ ।

कार्य समितिका अन्य पदाधिकारीमा सहमति जुटाउन अहिले विभिन्न पत्रकार संघसंगठनमा आवद्ध पत्रकारहरुबीच छलफल चलिरहेको छ । यो वर्षबाट महासंघका साधारण सदस्य रहेका पत्रकारहरुले तीनै तहको कार्य समितिका लागि एकैपटक जिल्लाबाटै मतदान गर्न पाउने छन् ।

यसअघि जिल्लामा जिल्ला कार्य समितिको बेग्लै निर्वाचन हुन्थ्यो । त्यसपछि जिल्लाबाट छानेर गएका केन्द्रीय पार्षदहरुले केन्द्रीय समितिको पदाधिकारीका लागि मतदान गर्थे ।

यस्तै प्रदेशका लागि जिल्ला–जिल्लामा बेग्लै निर्वाचन हुन्थ्यो । यो वर्षबाट भने पहिलो पटक तीन तहका लागि एकैदिन मतदान हुन लागेको हो ।

No comments:

Post a Comment