Thursday, April 1, 2021

मलंगवामा बढ्यो लामखुट्टेको प्रकोप, नगरपालिकाले प्रभावकारी औषधि छर्कनुपर्ने स्थानीयहरुको माग

 



मनोज यादव----

सर्लाही ,चैत १९

    गर्मी बढेसंगै  तराईका जिल्लाहरुमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । सर्लाहीको सदरमुकाम मलंगवामा पनि यसको असर परेको छ ।

    गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भएपनि  मलंगवा नगरपालिकाले समयमा  औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले समयमा लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न खाले रोगहरु  लाग्न सक्ने सम्भावना बढदै गएको मलंगवाका स्थानिय समाजसेवी सुन्दर श्याम यादवले बताएका छन् । स्थानीय तहक  निर्वाचित नगरप्रमुख  तथा वडाप्रमुखहरुले यस्ता कुरामा समयमै ध्यान दिनुपर्ने यादवको कथन छ ।

      सरसफाई व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडाहरु एक जुट भएर लगनु पर्ने सर्लाहीका दलित अधिकारकर्मी राजेश पासवानले  बताए । उचित सरसफाई हुन नसक्दा मलंगवा बजार क्षेत्र तथा  टोलबस्तीमा  यतिबेला मच्छरको प्रकोप  बढेको छ ।

    गत वर्ष  नगरपालिकाले छर्केको  औषधीयुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलंगवा वडा न-२ का स्थानिय बासिन्दा बिजय साहले बताए ।गएको वर्ष  नगरपालिकाले लामखुट्टे  मार्ने औषधी छर्केको भएपनि त्यो औषधीले लामखुट्टे  नमरेको अर्का स्थानीय बासिन्दा मुक्ता यादवले गुनासो गरे । नगरका अधिकांश बासिन्दाले नगरपालिकाले गत वर्ष छर्केको औषधीले एउटापनि लामखुट्टे  नमरेको गुनासो गरि रहेका छन् ।जनमानसमा  नगरपालिकाले नामको लागी मात्र औषधि छर्ने गरेको गुनासो समेत बढेको छ। स्थानीय बासिन्दाहरुले यसवर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नु पर्ने  माग गरेका छन् ।

    मलंगवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाई नहुँदा मच्छरको प्रकोप बढेको स्थानियहरको भनाई रहेको छ । नगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुले  कहिले काँही मात्र सरसफाइ गर्ने गरेकोले मच्छरको प्रकोप बढेको स्थानीयबासीहरुले बताए।  दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

No comments:

Post a Comment