Saturday, April 10, 2021

थामिनसक्नु भिडका कारण सेवाग्राहीलाई सहज रुपमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन सर्लाहीलाई समस्या

 


   ---नागरिकता लिन हप्तौं धाउनुपर्ने सेवाग्राहीहरुको गुनासो---


मनोज यादव---

सर्लाही,चैत २८

   सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिड थेग्न कर्मचारीहरुलाई हम्मेहम्मे परेको छ । थामिनसक्नु भिडका कारण जिल्ला प्रशासन आफैले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा नागरिकता वितरण गर्न सकिरहेको छैन ।

     जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले कार्यालयमा कर्मचारीको संख्या सिमित रहेका कारण नागरिकता फाँटमा सेवाग्राहीहरुको भिड लागेको बताउनुभयो ।लामो समयदेखिको लकडाउन पछि कार्यालय खुलेदेखि नै नागरिकता बनाउनेहरुको भिड लागिरहेको र जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको अभियान पनि सुरु भएपछि कार्यालयमा दिनानुदिन सेवाग्राहीहरुको चाप बढेको सहायक प्रजिअ पोखरेलले बताए ।

    अत्यधिक भिडका कारण हप्ता दिनसम्म पनि प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।धुलाम्मे हुलाकी सडक र त्यसमा पनि अध्यधिक गर्मीको बाबजुद पनि जिल्लाको दक्षिणी-पुर्वी भेगका दर्जनौं गाउँका बासिन्दाहरुलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।ग्रामीण भेगका अशिक्षित नागरिकलाई कागजातमा भएका सामान्य त्रुटी समेत थाहा नहुने र कर्मचारीले सोही सामान्य त्रुटीलाई सच्याएर ल्याउन भनि फर्काउने गरेका कारण झन बढी झन्झट बेहोर्नु परेको छ ।यसको सबैभन्दा बढी मार गरिब जनताहरुलाई परेको छ ।दुइदिनमै हुने कामको लागि हप्तौं दिनसम्म सदरमुकाम धाइरहनु पर्दा खर्च बढेर आर्थिक भार थपिएको  साथै जिविकोपार्जनको लागि गर्दै आएको कामपनि छुटेको कार्यालय परिसरमा भेटिएका एक  सेवाग्राहीले गुनासो गरे ।

     साना बच्चा भएका महिलाहरुलाई नागरिकताको लागि दिनदिनै घरबाट सदरमुकाम मलंगवा  स्थित प्रशासन कार्यालयमा बच्चा बोकेर धाइरहन झन मुस्किल पर्ने गरेको छ ।

    अहिले जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको र उक्त परिचयपत्र बनाउन नागरिकता चाहिने भएकोले सेवाग्राहीहरुको भिड बढेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।आफुहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फाँटमै बसेर निरन्तर काम गरिरहेको भएपनि भिड नघटेको उनले बताए ।हामीले नचाहेर पनि भिडभाडले गर्दा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।

    सहायक प्रजिअ पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयले अहिले दैनिक एकसय भन्दा बढी नयाँ नागरिकता तथा प्रतिलिपी वितरण गर्दै आएको छ ।यस कार्यालयले इश्वरपुर,हरिपुर नगरपालिका र बसबरिया गाउँपालिकाका केही वडासमेत गरी जिल्लाका २० वटा पालिकाहरु मध्ये १६ वटा पालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

     सर्लाहीमा सदरमुकाम मलंगवा स्थित जिप्रका बाहेक हरिवन र बरहथवामा रहेको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरणको काम हुँदै आएको छ ।ती दुवै इलाका प्रशासन कार्यालयमा पनि यसैगरी सेवाग्राहीहरुको भिड रहेको छ ।


No comments:

Post a Comment