Thursday, April 8, 2021

सर्लाहीमा एकैदिन दुई छुट्टाछुट्टै दुर्घटनामा परेर दुइजनाको ज्यान गयो

 




लोकतन्त्र समाचारदाता----

सर्लाही ,चैत २६

     बुधबार सर्लाहीको दुई बेग्लाबेग्लै स्थानमा भएको दुर्घटनामा परेर एक बालक र एक मजदुर युवकको ज्यान गएको छ ।

      जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार बागमती नगरपालिका वडा नं. १२ स्थित बागमती नदीमा बुधबार बिहान पौडी खेल्ने क्रममा स्थानीय  संग्राम बलका १२ वर्षिय छोरा समीर बलको नदीमा डुबेर मृत्यु भएको हो ।

   बिहान करिब ९ बजे नदीमा डुबेको अवस्थामा फेला परेका बालकलाई नदीबाट उद्धार गरि उपचारको लागि हरिवन स्थित स्थानीय अस्पतालम लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी कुवँरले जनाएको छ ।

    यस्तै सोही दिन जिल्लाको  धनकौल गाउँपालिका-२ मा रुखबाट लडेर एक मजदुरको पनि मृत्यु भएको  छ ।मृत्यु हुनेमा रामनगर गाउँपालिका-१ खैर्वा बस्ने रिबन सहनीको छोरा २५ वर्षीय प्रवेश सहनी रहेको छ ।

    बेलुका करिब पौने ६ बजेको समयमा धनकौल गापा -२ निवासी बिजय गुप्ताको खेतमा रहेको सपेता जातको रुखको हाँगा काट्ने क्रममा रुख माथिबाट लडेर गम्भीर घाइते भइ उपचारको लागि अस्पताल लाँदै गर्दा सहनीको बाटोमै मृत्यु भएको  प्रवक्ता कुवँरले जानकारी दिएको छ ।

   घटना स्थलको मुचुल्का उठाइ मृतक दुवैजनाको शव सम्बन्धित ठाउँको स्थानीय अस्पतालमा राखिएको  छ ।


 




No comments:

Post a Comment