Tuesday, October 26, 2021

किसानको समस्यालाई लिएर संघीय कृषि मन्त्री महेन्द्र यादवले गरे सातवटै प्रदेशका कृषि मन्त्रीहरु सँग छलफल




लोकतन्त्र समाचारदाता---

काठमाडौ  ,कात्तिक ९

    किसानको समस्यालाई लिएर संघीय सरकारको  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सिंहदरबारस्थित कृषि मन्त्रालयमा  सात वटै प्रदेशका कृषिमन्त्रीहरूसँग छलफल सुरु गरेका छन्। हालै देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले  बताएका छन् ।

    सात वटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेकोले  प्रारम्भिक क्षतिको आधारमा अरू थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतिपूर्ति दिनका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता सञ्जेलले जानकारी दिए । पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने मन्त्रालयले जनाएको छ।

     छलफलमा सात वटै प्रदेशका कृषि मन्त्रीहरूको धारणा सुनिसकेपछि संघीय सरकारले पीडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने बताइएको छ। 

      राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि मन्त्री यादवसँग बाढीका कारण देशभरि कृषिमा भएको क्षति बारे जानकारी लिइसक्नु भएको छ ।मन्त्री यादवलाई  राष्ट्रपति कार्यालयमा बोलाएर क्षतिको बारेमा ब्रिफिङ सुनेपछि राष्ट्रपति  भण्डारीले किसानलाई तत्कालै राहत प्रदान गर्न सुझाव दिएको बताइएको छ।

    हालसम्म कृषि मन्त्रालयलाई प्राप्त विवरण अनुसार बाढीले  साढे आठ अर्बको धानबाली क्षति गरेको छ। प्रारम्भिक विवरण अनुसार साढे दुई लाख मेट्रिकटन धानमा क्षति पुगेको छ।


No comments:

Post a Comment