Wednesday, October 13, 2021

नवनियुक्त कृषि मन्त्री महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा भव्य स्वागत, उहाँलाई भेट्न नवलपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुको ओइरो

 





एसपी यादव-----

सर्लाही, असोज २७ गते 

    संघीय सरकारका नवनियुक्त माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई बुधबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ ।


 


मन्त्री यादवलाई पुर्व पश्चिम राजमार्ग स्थित नवलपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादवलाई स्वागत गर्न तथा लिनका लागि सर्लाही सदरमुकाम मलङ्ग्वाबाट पार्टीका नेता तथा कार्यकर्ताहरु धुमधामका साथ नवलपुर पुगेका थिए ।


 


नवलपुर स्थित रहेको अनमोल होटेलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, विगतका प्रतिगमनकारी मन्त्रीहरु जनतालाई अन्धविश्वासमा मात्र राखेनन ती १८ दिने मन्त्रीहरु जनताका हक र अधिकारलाई हनन गरेर मन्त्री बनेका थिए । प्रतिगमनकारी मन्त्रीहरु जनताको हितको नभएको र देशको संविधानले पनि नालायक राजनीति भन्दै प्रतिगमनकारी मन्त्रीहरुलाई अयोग्य प्रमाणित गरिदिएको मन्त्री यादवले बताएका छन् ।


 


अहिलेको गठबन्धनको सरकार चुनावी सरकार भएकोले गठबन्धनको साथमै देशमा चुनाव होस् भन्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले चाहेको मन्त्री यादवले बताए । देशमा कुनै पार्टीले बहुमत ल्याउन नसक्ने अवस्था भएकोले गठबन्धनको माध्यमबाट बहुमत ल्याएर संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको रक्षा हुने मन्त्री यादवले ठोकुवा गरे । यो गठबन्धनको सरकारमा मूल्य र मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझाव दिदै भने, स्थानीय चुनाव पनि नजिकिदै आएकोले पार्टीका नेता तथा कार्यकर्ताहरू लाई सक्रिय भएर संगठनलाई मजबुत बनाउन तत्काल लाग्नुपर्ने उनले बताए ।


 


कृषी प्रधान देशमानै कृषि उपेक्षामा पर्नु दुर्भाग्यपूर्ण भएको बताउदै मन्त्री यादवले भने, २०५१ साल देखि २०७८ सालसम्म लगातार आफू २७ वर्षदेखी सांसद रहेको र यो २७ वर्षको अवधिमा कृषि मन्त्रालयको बजेट ३, ३.५ र ४ प्रतिशत भन्दा बढी नहुनु राज्यले परम्परागत बजेटलाई निरन्तरता दिएको उनले आरोप लगाए ।


 


परम्परागत खेती प्रणालीले किसानको जिवनस्तरमा कुनै परिवर्तन नहुने मन्त्री यादवले ठोकुवा गरे । कृषि आधुनिकीकरण र व्यवसायीकरण भएमा मात्र किसानको हित हुने र यस कामका लागि मन्त्रालयले कुनै कसर बाकी नराख्ने मन्त्री यादवले बताए । उनले भने, किसानको हितमा आमूल परिवर्तनका लागि राज्यले नीतिमा परिवर्तन र बजेटमा बढोत्तरी गर्नुपर्ने बताए । २० वर्षे कृषि योजना देशमा लागू भएको ६ वर्ष पुग्दा पनि किसानको हितमा केही हुन नसकेको मन्त्री यादवले जनाए ।


 


मलखाद नेपाल भित्र्याउदा हुने समस्या, मलखादको चुहावट र बिउबिजनको समस्या माथी आफ्नो ध्यान केन्द्रित रहेको र यसको सहजताका लागि आफू लागिपरेको मन्त्री यादवले बताए ।


 


३ सय हेक्टरमा फैलिएको उष्ण प्रदेशिय बागबानी र तेलबाली अनुसन्धान केन्द्रको नयाँ विकल्प खोज्न आवश्यक भएको बताउदै मन्त्री यादवले भने, आधुनिक, व्यवसायीक र रोजगारमुलक कृषि खेतीका लागि यो ठाउँ उपयुक्त भएको र यसका लागि लालबन्दी नगरपालिका र रिट परियोजनासंग समन्वय गर्ने मन्त्री यादवले जनाए ।


 


मन्त्री यादवले जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्न तथा विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान लगायत पाँच दिने गृह जिल्ला भ्रमणको औपचारिक सुरुवात बुधबार नवलपुरबाट गरेका हुन् ।


 


उनी असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएका थिए ।


 


नवनियुक्त मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपाका कार्यकारिणी सदस्य समेत रहेका छन् ।


 


मन्त्री यादव सर्लाही जिल्ला साविक गाविस बसन्तपुर- ५, हाल हरिपुर्वा नपा- ९ का स्थानीय हुन् ।


 


मन्त्री यादवको स्वागतमा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्यहरु क्रमशः भाग्य नारायण राय, हृदय नरायण राय, किरण देवि, डा. अब्दुल रहिम मिकरानी, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरी, कौडेना गापाकी उपाध्यक्ष सुनिता जयसवाल, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।




कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला सर्लाही आएका हुन् ।


पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव आफ्ना निर्वाचन क्षेत्रमा पर्ने कबिलासी, सलेम्पुर र गम्हरियाका पार्टीका नेता तथा कार्यकर्ता र जनताहरु भेटघाट गर्नेछन् ।

No comments:

Post a Comment