Friday, October 22, 2021

काटेर भित्र्याउँदै गरेको धानबाली डुबानमा, भोकमरीको स्थिति आएको भन्दै सरकारसँग उचित क्षतिपूर्ति माग्दै पिडित किसान

 




मनोज यादव---

सर्लाही ,कात्तिक ५

निरन्तर वर्षाका कारण भित्र्याउने वेलाको धानमा बाढीले क्षेत्री पुर्याएपछि देशभरका किशानहरु मर्कामा परेका छन् । एक्कासी भारी बर्षा हुँदा काटेर भित्र्र्याउन ठिक्क परेका धानबाली डुबानमा परेपछि वर्षभर के खाने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ । भित्र्याउने बेला भएको धानबाली डुबानमा परेर पुरै नष्ट भएपछि तराईका किसान चिन्तामा परेका छन् ।कतिपय किसानहरूको काटेर खेतमा सुकाउनको लागि राखेको धानबाली पानीले पुरै गलेर नष्ट भएको छ भने कतिपयको पानीले बगाएर लगेको छ।खोला किनाराका खेतहरु बगरमा परिणत भएका छन् ।सर्लाही लगायत तराईका जिल्लाहरुमा एक्कासी भारी बर्षा हुँदा काटेर दाउनी गरेर भित्र्याउन ठिक्क परेका धानबाली डुबानमा परेपछि वर्षभरको मेहनत खेर गएको भन्दै यहाँ किसानहरु चिन्तामा परेका छन् ।

भर्खरै दसैं मनाएर बाली भित्र्याउने तयारी गरिरहेका किसानलाई बाढी तथा डुबानले दुखी बनाएको छ ।कतिपय किसानले दशै अगाडी देखिनै बाली भित्र्याउन सुरु गरिसकेका थिए । आधा बाली भित्र्याउन नपाउँदै एक्कासी भारी वर्षा भएपछि खेतमा सुक्नको लागि राखेको मात्र नभइ दाउनी गर्नका लागि थ्रेसर मेसिनमा लान ठिक्क पारेको धानबाली पुरै नष्ट भएको छ ।धानबाली घर भित्र्याउन नपाउँदै बर्षाले नोक्सान गरेपछि किसानहरु समस्यामा परेका छन् । काटेर खेतमै थुपारेर राखेका धान काम नलाग्ने गरि पानीले पुरै भिजेको छ । खेतमा अहिले पनि पानी जमेको छ । अरुको जग्गा भाडामा लिएर लगाएको धान पुरै सखाप भएपछि अब साहुको भाडा कसरी तिर्ने भन्ने चिन्तामा किसान छन् ।

यस्तै चिन्ता र पीडा अरु

किसानहरुको पनि छ । केही दिनअघि मात्रै काटेको धान दाउनी गर्न नपाउँदै पानीले बगाएर लगेको उनीहरुको गुनासो छ ।

समयमै पर्याप्त वर्षा भएका कारण गएको केही सिजनको तुलनामा यस वर्ष धान राम्रो फलेको भन्दै खुसी भएका किसानहरु फेरी दुखी भएका छन् ।यस वर्ष पनि धान भित्राउन नपाएको उनीहरूले दुखेसो पोखेका छन् । सरकारले किसानको समस्या हेरेर विशेष राहत उपलब्ध गराउनु पर्ने किसान अगुवा राजेश यादवको भनाइ छ ।

अविरल वर्षाले सर्लाही लगायत तराईका हजारौं किसानको धानबालीमा क्षति गरेको छ । केही किसानले मात्रै धान घर भित्र्याए पनि अधिकांश किसानको धान खेतमै रहेका बेला परेको झरीले ठूलो क्षति गरेको छ । धान काटेर खेतमा राखेका किसानहरूको धान भित्राउन पाउने आश नै मारिसकेका छन् । धान,गहुँ र मकैबालीको लागि पकेट क्षेत्र मानिने प्रदेश न–२ अन्तर्गतको सर्लाही जिल्लामा कूल ४४ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

No comments:

Post a Comment