Friday, October 1, 2021

डेढ वर्षपछि नेपाल–भारत सीमा नाका खुला, प्रवेशअघि सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) पालना गर्नु पर्ने

 



मनोज यादव---

सर्लाही ,असोज १५

      प्रदेश न–२ अन्तर्गत नेपाल भारत नाकाका भन्सारहरु आजबाट सुचारु भएको छ । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको हो ।

    कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । तर मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश सुचारु गरिएको छ । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनका चालक तथा यात्रुहरु नेपाल सरकारले कोरोना संक्रमणलाई लिएर तयार पारेको स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरी आएको खण्डमा भन्सार काट्न सुरु गरेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।

    भन्सार कार्यालयका अनुसार नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्र कोभिड १९ को परिक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने ,नेपाल आउने ब्यक्तिले इन्टरनेसनल ट्राभलर अनलाइन एराएभल फारम भरेको र सोको प्रिन्ट साथमा लिएर आएका भारतीय नागरिकले ल्याएको सवारीसाधनको भन्सार काटिने छ । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ । माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।

    आफुहरु बिहानैदेखि तयारी अवस्थामा रहेको तर भारतीय पक्षले सिमामा लगाएको ढाट बेरियर नखोलेकोले एउटा पनि सवारीसाधनको भन्सार नकाटिएको कार्यालयले जनाएको छ । भारतीय कस्टमका अनुसार बेरियर खोल्न गृहमन्त्रालयबाट आदेश नआएकोले नखोलेको बताए । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने छन् ।

    असोज ५ गते सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी ओदश २०७८’ जारी गरेको छ । सोही अनुसार नाकाहरुमा सहज बनाइएको हो । अब आवत जावत मा सहज भएको छ भने दुई देशबीच पर्यटक आगमन पनि वृद्धि हुने अपेक्षा गरिएको छ । 

No comments:

Post a Comment