Monday, January 30, 2023

मलंगवा यातायात प्रा.लि को अध्यक्षमा विनोद कुमार अधिकारी चयन

 मलंगवा यातायात प्रा.लि को  अध्यक्षमा विनोद कुमार अधिकारी चयन

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर बसपार्कलाई थप व्यवस्थित गर्ने  अध्यक्षको भनाई 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    मलंगवा यातायात प्रा.लि को अध्यक्षमा विनोद कुमार अधिकारी चयन भएका छन् । प्रा.लि को सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा भएको निर्वाचनबाट अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

   प्रा.लि को  उपाध्यक्षमा दिपलाल महतो,सचिवमा मनोज साह तेली,उपसचिवमा विनोद चौधरी ,कोषाध्यक्षमा रामेश्वर चौधरी तथा सदस्यहरुमा रौशन चौधरी ,विमही राउत,अजय प्रसाद दास र नारायण साह पनि निर्विरोध  निर्वाचित भएका छन् । त्यस्तै प्रा.लि ले राम नरेश साह सुंडी र विरेन्द्र राय यादवलाई सल्लाहकारमा राखेका छन्। 

  मलंगवा न.पा वडा न-९ स्थित बसपार्कमा सम्पन्न भएको निर्वाचन पछि मन्तव्य राख्ने क्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले यात्रुहरुलाई कुनै किसिमको असुविधा हुन नदिन यस बसपार्कलाई थप व्यवस्थित बनाउने बताउनुभयो ।साथै उहाँले आवश्यक्ता अनुसार सुविधाहरु पनि बढाउँदै जाने बताउनुभयो ।

   नगरपालिकाले बसपार्क सारेर वडा न-२ मा लान लागेकोले यसमा बस व्यवसायीहरुको समर्थन छ की छैन ? भन्ने प्रश्नको जवाफ दिंदै उपाध्यक्ष महतोले नयाँ बसपार्क बजार एरिया भन्दा धेरै टाढा रहेकोले यात्रुहरुको लागि  उक्त बसपार्क  उपयुक्त नभएकोले आफुहरु बसपार्क सार्ने विषयमा सहमत नभएको बताउनुभयो।नयाँ बसपार्कको छेउमा जिल्ला प्रहरी कार्यालय,विद्यालय लगायत अन्य कार्यालयहरु रहेकोले हर्न बजाउँदा कार्यालय र विद्यालय संचालनमा अवरोध उत्पन्न हुने भएकोले पनि नयाँ बसपार्क उपयुक्त नभएको महतोले बताउनुभयो ।त्यसैले अहिलेकै बसपार्कलाई व्यवस्थित गरेर संचालन गर्ने छौ,उहाँले भन्नुभयो।

  नयाँ बसपार्कमा अलपत्र अवस्थामा रहेको रात्री बस र वडा न-२ स्थित झण्डा बजारमा लाग्दै आएका पश्चिम भेगमा चल्ने लोकल बसहरु लगाउँदा सबैलाई सुविधा हुने बस व्यवसायीहरुको भनाई छ।

   बजार एरियामा जथाभावी रुपमा पार्किङ गरि राखिएका टेम्पु,म्याजिक लगायतका साना सवारीसाधनहरुका कारण सडकमा जाम लाग्दै आएकोले त्यसलाई व्यवस्थित गर्न बस व्यवसायीहरुले सम्बन्धित निकाय सँग आग्रह गरेका छन् ।


No comments:

Post a Comment