Wednesday, May 12, 2021

बोर्डर बन्द तथा कडाइका बाबजुद सिमानाकाका होटलहरुमा रक्सी सेवन गर्न आउने भारतीयहरुका कारण कोरोना सर्ने खतरा बढ्यो

 




मनोज यादव----

सर्लाही ,बैशाख २९

    छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको छ । सिमापारीका गाउँ तथा शहरहरुमा लाखौँको संख्यामा संक्रमितहरु फेला परेका छन् तर पनि नेपाल-भारत सिमा नजिकका गाउँ तथा बजारहरुमा खोलिएका रक्सी पसलमा रक्सी सेवन गर्न भनि  दैनिक हजारौंको संख्यामा भारतीय नागरिकहरुको आउनेजाने क्रम रोकिएको छैन । 

    सर्लाहीमा भारतसँग सिमा जोडिएको ५१ किलोमिटरको दुरीमा सयौंको संख्यामा रक्सी पसल तथा होटलहरु संचालनमा रहेका छन् ।सिमानाकामा कडाइ हुँदा समेत त्यस्ता पसलहरु पहिलेकै अवस्थामा संचालन भैरहेको देखिन्छ । भारतको विहार राज्यमा रक्सी माथि प्रतिबन्ध लगाइएकोले पछिल्लो समय नेपाली मात्र नभइ सिमा नजिकका स्थानीय भारतीय नागरिकहरुले पनि  सिमा क्षेत्रमा थुप्रै स–साना रक्सी  पसलहरु खोलेका छन् ।

       भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमितहरु थपिरहेको जोखिमपूर्ण अवस्थामा रक्सी  सेवन गर्न भारतीयहरु  नेपाल तर्फ आउनाले सर्लाहीमा पनि यसको जोखिम बढेको छ ।रक्सी सेवनकर्ताहरुका कारण  जिल्लाको सदरमुकाम मलंगवासहित ,भाँडसर, खुटौना, बलरा, मधुवनगोठ, पकडी फेन्हारा, भवानीपुर, त्रिभुवननगर , भेल्ही, नारायणपुर, संग्रामपुर लगायतका सिमावर्ती गाउँ ठाउँहरुमा  यसरी भिड बढ्दा कोरोना सर्ने जोखिम अधिक भएकोले खुलेआम आवतजावतमा रोक लगाउनुपर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले  बताए ।

    दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपाल तर्फ आउने गरेको भन्ने सुनिएकाले पछिल्लो समय सिमा क्षेत्रमा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता डिएसपी मदन कुवँरको बताए । 

    सदरमुकाम मलंगवा स्थित नेपाल-भारत मुख्य नाकाको बाटोमै करिब १ दर्जन जति रक्सी पसलहरु संचालनमा रहेका छन् ।यस्तै ब्रम्हपुरी गाउँपालिकाको त्रिभुवननगरमा पनि भारतको सोनवर्षा नजिक पुल वारी दुई दर्जन भन्दा बढी रक्सी पसल तथा होटलहरु संचालन भइरहेका छन् ।


No comments:

Post a Comment