Wednesday, May 19, 2021

कोरोना भाइरस संक्रमणको संकटबाट गुज्रिरहेका सर्वसाधारण नागरिकहरु ब्यापारीहरुको कृतिम मुल्यवृद्धिले गर्दा थप मारमा

 



  ---प्रशासन र स्थानीय सरकार बेखबर---



लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेष्ठ ५

      दोस्रो भेरियन्टको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सर्लाहीमा दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको मुल्यवृद्धि भएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड -१९ को  संक्रमण नियन्त्रण गरि सामुदायिक स्तरमा फैलिन नदिन जिल्लाभरी निशेधाज्ञा जारी गरे सँगै यहाँका ब्यापारीहरुले  आफुखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य बस्तुमा कृतिम  मुल्यवृद्धि गरेका छन् ।कोरोना भाइरसबाट संक्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामाग्रीको बजार भाउ बढेपछि सर्वसाधारण नागरिकहरुमा महँगाइको चिन्ता थपिएको छ ।

      साना तथा खुद्रा पसलेहरुका अनुसार होलसेल वालाहरले नै सामानको भाउ बढाएपछि बाध्य भएर आफुहरुले पनि भाउ बढाएको बताएका छन् ।

     बजारमा अहिले चामल, दाल,चना, मटर ,खानेतेल, सनफ्लावर तेलदेखि प्याकिङ गरिएका  खाद्य बस्तुहरुमा मूल्यवृद्धि भएको छ ।निशेधाज्ञा अगाडी होलसेल वालाहरु प्रति कार्टुन २४ सय ५० रुपैयाँमा दिंदै आएको सनफ्लावर तेल अहिले प्रति कार्टुनमा १ सय रुपैयाँ बढाएर  २५ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको मलंगवाका एक खुद्रा ब्यापारीले बताए ।सर्लाहीका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानहरुमा लकडाउन हुनु अगाडीको खुद्रा  मूल्य र त्यसपछिको मूल्यमा १० देखि ५० रुपैयाँसम्म बढाएर बिक्री  भइरहेको पाइएको छ ।

    ग्रामीण भेगका पसलेहरु बजारमा रिचार्ज कार्डको सटेज भएको बताएर ५० रुपैयाँको रिचार्ज कार्डमा  ५ रुपैया र १००  रुपैयाको रिचार्ज कार्डमा १० रुपैयाँ थप गरेर लिनेगरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।

     होलसेल बिक्रेताले सबैखाले बस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीहरुको भनाइ छ ।लकडाउनको बेलापनि सरकारले खाद्यान्न बस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भएपनि दुवानी र लोडिंग अनलोडिंग गर्न मजदुरहरुको अभाव देखाएर होलसेल बिक्रेताले सबै बस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।

      अस्वभाविक रुपमा दैनिक उपभोग्य सामाग्रीको मुल्यवृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमन निकाय अनभिज्ञ हुँदा लकडाउनले गर्दा रोजगारी गुमाएका  सर्वसाधारण विपन्न वर्ग महंगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीय समाजसेवी सुन्दर श्याम यादवले गुनासो गरे ।उनलेे लकडाउन सँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि भइरहँदा स्थानीय तह समेत जनगुनासो प्रति बेखबर रहेको बताए ।

     स्थानीय सरकारसँग बजार अनुगमन गर्ने,कालोबजारी तथा महँगी नियन्त्रण गर्ने,कार्यवाही गर्ने र संकटको बेला अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहेपनि सो अनुसारको काम गर्न सकेको छैन ।

     शहर बजारको भन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्न लगायतका सामाग्रीहरुमा मुल्यवृद्धि भइरहेको गुनासो बढेको छ ।गतवर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरि मुल्यवृद्धि भएको थियो ।त्यो बेलापनि सरोकारवाला र नियमन निकायले  भने अनुसार बजार अनुगमन ,कार्यवाही तथा महँगी नियन्त्रणका लागि केही गरेका थिएनन् ।अहिले पनि उनीहरु थाहा पाएर पनि नथाहा पाएको जस्तो गरि मुकदर्शक भएर बसेका छन् ।

  यस्तो संकटको परिस्थितिमा स्वास्थ्य  समस्याबाट गुज्रिरहेका आम नागरिकहरु लाई थप संकटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यक्ता रहेकोले सर्लाहीका २० वटै पालिका (स्थानीय तह)हरु आ-आफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मुल्यवृद्धि रोक्न तर्फ लाग्नुपर्ने अवस्था आएको देखिन्छ ।


         


No comments:

Post a Comment