Monday, May 24, 2021

सर्लाहीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थपियो, पालना नगर्ने लाई फाइनसहित कडा कार्यवाही

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १०

   कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा समुदाय स्तरमा  फैलँदै गएपछि जिल्ला प्रशासन कार्यालय  सर्लाहीले फेरी ७ दिनका लागि निषेधाज्ञा थपेको छ ।यसअघि गत वैशाख २५ गते राति १२ बजेबाट निषेधाज्ञा सूरु भएको थियो । दोस्रो पटक थपिएको निषेधाज्ञा आदेश सोमबार अर्थात आज १० गते राती १२ बजेबाट सकिँदै छ ।तेस्रोपटक आगामी जेठ १७ गते राती १२ बजेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी गराएको छ ।

   स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार यसपटकको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई भने हालै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्यवाही  गरिने छ ।मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले गत विहिबार कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ । जुन अध्यादेशमा स्वास्थ्य आपतकालदेखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएको छ ।

    सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा व्यवस्था छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कडा कार्वाही गर्नसक्ने व्यवस्था पनि छ । अध्यादेशमा यस्तो अवस्थामा दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

   निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा अन्तर्गत एम्बुलेन्स, शववाहन, खाद्य सामग्री,औषधी,कुखुराको चल्ला,पशुपंक्षीको दाना,पानी,दुध,इन्धन,फलफूल तथा तरकारी बोकेका सवारी साधनहरु, निर्माण सामग्री ढुवानीका सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चार पांग्रे सवारी साधन, झण्डाबाहक , कुटनीतिक नियोग, प्रेस पास प्राप्त सवारी साधनहरु चलाउन पाईने छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिँड्ने कर्मचार सवार भएका सवारी साधन, वैवाहिक कार्यक्रममा दुलाहा दुलही सवार दुईवटा सवारुी समेत गरी बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन पाईनेछ ।

   त्यस्तै निषेधाज्ञा अवधीमा स्वास्थ्य, सुरक्षा, सञ्चघार, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवा, बैंक तथा वितीय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू गरी), स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधी पसल सञ्चालन गर्न पाईने छ । त्यस्तै पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दुध डेरी, ग्याँस पसल (बिहान ७ बजेदेखि १० बजेसम्म) खोल्न पाईने निषेधाज्ञा आदेशमा उल्लेख छ । निषेधाज्ञा आदेशमा उल्लेखित संचालन एवं खोल्न पाईने सेवा र व्यवसाय बाहेक अन्य कुनै पनि सवारी साधन एवं पसल एवं व्यापार एवं व्यवसाय सञ्चालन गर्न नपाईने र आदेशको उल्लंघन भए कडा कार्बाही गरिने प्रजिअ तामाङले चेतावनी दिएका छन् ।

   निषेधाज्ञा जारी भएको समयमा विशेष गरी होटल, रेष्टुँरा, व्यूटिपार्लर, कपडा पसल, सैलुन, जीमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल, हाटबजार चलाउन पाईने छैन । त्यस्तै व्यक्तिगत चार पांग्रे र दुई पांग्रे सवारी साधन एवं सार्वजनिक यातायातका सवारी साधन पनि चलाउन पाईने छैन ।

   संक्रमितको संख्या दिनहुँ बढ्दै गईरहेकाले आम सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको प्रजिअ तामाङले जानकारी दिए । प्रजिअ तामाङद्वारा हस्ताक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई कडा कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।

No comments:

Post a Comment