Wednesday, May 26, 2021

सर्लाहीमा कोरोनाबाट बुधबारसम्म ५२ जनाको मृत्यु ,सबैभन्दा बढी मलंगवा र लालबन्दीमा

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १२

     पछिलो २४ घण्टामा सर्लाहीमा ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रकाशित गरेको कोभिड-१९ सम्बन्धि  दैनिक बुलेटिन मार्फत सो जानकारी गराइएको हो ।

     एन्टिजेन र पिसिआर  दुबै प्रविधिबाट २ हजार ३ सय ३७ जनामा गरिएको परिक्षण मध्येबाट १ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म  सर्लाहीमा जम्मा ४५ जना ब्यक्तिहरु मात्र कोरोनालाई जितेको अर्थात  निको भएका छन् ।

    मंगलबार सम्म ४७ जना संक्रमितहरुको मृत्यु भएको थियो ।विगत २४ घण्टामा ५ जना थपिएर मृत्यु हुनेको संख्या ५२ पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी गराएको छ ।जसमध्ये सबैभन्दा धेरै सदरमुकाम मलंगवा र लालबन्दी नगरपालिकामा ८-८ जना त्यसपछि इश्वरपुर न.पा र चक्रघट्टा गाउँपालिकामा ६-६ जना,बरहथवा न.पा मा ५ जना ,ब्रह्मपुरी गा.पा मा ४ जना संक्रमितक मृत्यु भएको छ । यसैगरि कबिलासी न.पा मा ३,हरिवन, बलरा,बागमती  न.पा र रामनगर गा.पा मा २-२ जना तथा चन्द्रनगर, पर्सा, बसबरिया र कौडेना गा.पा मा १-१ जनाको मृत्यु भइसकेको जि प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

   जिल्लामा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा पनि यहाँका पालिका तथा पालिकाका स्थानीय बासिन्दाहरुले यसलाई गम्भीरतापूर्वक नलिइ रहेका कारण संक्रमण सँगै मृत्यु दर पनि तिब्रगतिमा बढ्दै गइरहेको छ ।यहाँका नागरिकहरु सरकारको निर्देशनमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तथा स्वास्थ्य सम्बन्धि मापदण्डको पुर्णरुपमा पालना नगरेकै कारण यस्तो  अवस्थाको सृजना भएको र अब पनि सचेत र सतर्क नभए केहीदिन भित्रै सर्लाहीको अवस्था झनझन भयावह हुँदै जाने छ , नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले चिन्ता ब्यक्त गर्नुभयो ।

No comments:

Post a Comment