Monday, May 10, 2021

सर्लाहीमा आफ्नै छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाइ जिउँदै जलाएर फरार अभियुक्त भारतीय सिमाबाट पक्राउ


 


लोकतन्त्र समाचारदाता---

सर्लाही,वैशाख २७

     सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१२ घारीबथानमा आफ्नै छिमेकीको शरिरमा पेट्रोल छर्केर हत्या गरि फरार भएका अभियुक्तलाई सर्लाही प्रहरीले ५ दिनमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा घारीबथानकै ३५ वर्षिय युवक शिवजी साह रहेको छ ।उनले आफ्नै छिमेकी  ५८ वर्षिय सियाशरण रायलाई  बैशाख २० गते सोमबारका दिन बिहान ९ बजे घर नजिकैको घारामा हातमुख धुइ रहेको अवस्थामा अचानक पछाडिबाट जगमा लिएर आएको पेट्रोल  शरीरमा  छर्केर आगो लगाएर फरार भएका थिए 

       साहलाई ईलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा  मलंगवा नगरपालिका वडा नं- ५ भाँडसर स्थित नेपाल-भारत सिमावर्ती क्षेत्रवाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  मदन कुवँरले जानकारी दिए ।

     पक्राउ परेका अभियुक्त साहले प्रहरी समक्ष घटनाको विषयमा दिएको जानकारी अनुसार बैदेशिक रोजगारको लागी आफु दुबईमा बसी कामकाज गर्दै आई रहेको बेला छिमेकी  रायले मेरी श्रीमती सुनिता देवी साह तेली परपुरुष सँग लागेको भनि गाँउघरमा हल्ला गरेको कारण आफुलाई सो कुराको रिस उठेको र यस बारे  आफनो घर परिवार समेतमा श्रीमतीको बारेमा बुझ्दा उनी त्यस्तो कार्यमा नलागेको र मृतक रायले  गाँउमा बेईज्जती गर्ने उदेश्यले सो कुराको अफवाह फैलाएकोले  सोही कुराको रिसईबी राखी रायलाई जलाएर मार्ने मनसायले घर आइरहेको बेला बर्दिबासबाट पेट्रोल खरिद गरी ल्याई घरमा राखेको  र २१ गते बिहान १० बजेको समयमा सोही पेट्रोल जगमा राखी आफ्नो  घर अगाडी रहेको धारा नजिकै बसिरहेको अवस्थामा छिमेकी रायको शरिरमा   जगमा ल्याएको पेट्रोल खन्याई काठमा कपडा वेरी बनाएको हतियार र लाईटरको सहयाताले आगो लगाएका थिए ।

      आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ अस्पताल पुर्याउँदा शरिरको ९५ प्रतिशत भाग जलिसकेकोले  त्यहाँ उपचार सम्भव नभएपछि  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा लगिएको र त्यहीं उपचारको क्रममा भोली पल्ट (मंगलबार)बिहान उनको  मृत्यु भएको थियो ।

     पक्राउ परेका  अभियुक्त उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा  म्याद थप गरी अनुसन्धान अगाडी बढाइने छ ।  हत्या विभत्स तरिकाले गरेको हुदाँ पक्राउ परेको अभियुक्तलाई जन्मकैद समेत हुन सक्ने प्रहरी प्रवक्ता एवं  डिएसपी  कुवँरले बताए ।


No comments:

Post a Comment