Sunday, May 9, 2021

सर्लाहीमा अक्सिजन तथा कोरोना संक्रमितलाई दिने औषधीको आभाव



बख्तियार अली---

सर्लाही,बैशाख २६ 

    जिल्लामा अक्सिजन तथा कोरोना भाईरस संक्रमितलाई दिने अति आवश्यक औषधीको चरम आभाव रहेको सर्लाहीका स्वास्थ्य कार्यालय प्रमुख स्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जनाएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समिति ( DCCMC) ले पटक–पटक बैठक बसि सुरक्षा सतर्कता कसरी अपनाउने र कोरोना भाईरस फैलिन नदिने जस्ता तयारीहरु गरेपनि सर्लाहीमा शनिवारसम्म सकृय संक्रमितको संख्या २ सय ४३ जना रहेको र ४ जना पुरुषको मृत्यु भएपछि आज आईतवार देखि लागु हुने गरि बैशाख ३१ गतेसम्मको लागि स्थानीय प्रशासनले  जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

     छिमेकी मुलक भारतमा कोरोना भाईरसबाट लाखौंलाख मानिसहरु मर्न थालेपछि यो भन्दा पहिलानै सर्लाहीका  सीमानाहरु सिल गरेको स्थानीय प्रशासनले बताए पनि चोर बाटोबाट  मानिसहरुको आवागमन  निर्वाध रुपमा जारीनै रहेको छ ।

     प्रदेश नं-२ सरकारले जिल्ला अस्पताल सर्लाहीलाई अक्सिजन खरिदको लागि रु. ५ लाख र अटोमैटिक अक्सिजन पलान्ट निर्माणका लागि रु. ५० लाख सहयोग गरि सकेको भएपनि हाल सम्म अक्सिजन नआएको र पलान्ट तयार गर्ने  कार्यमा समेत ढिलाई भएको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डर (मे.सु.) संजिव कुमार सिंहले स्विकार्नु  भयो । मे.सु. सिंहका  अनुसार ५ लाखको अक्सिजन खरिदको लागि टेण्डर गरि सकेको तर भारतमा लकडाउन भएपछि अक्सिजन आउन नसकेको बताउनु भयो । त्यस्तै अटोमैटिक अक्सिजन पलान्टको लागि  निर्माण कार्य भइरहेको घर निर्माणमा पनि निकै ढिलाई भइरहेका कारण यसलाई चालु हुन केही समय लाग्ने उनले बताए  । 

    यस्तो कठिन परिस्थितिमा पनि जिल्ला अस्पतालमा जम्मा ३ दिनसम्मको लागि मात्र पुग्ने अक्सिजन मौज्दात  रहेको बताइएको छ । 

    हाल सम्म जिल्लामा स्थानीय सरकार र स्थानीय प्रशासनले  कोरेन्टाईन निर्माण गर्ने वा आईसोलेसन वार्ड जस्ता भौतिक सनसाधनको निर्माण गर्ने तर्फ कुनै तत्परता देखाएको देखिंदैन ।हरिवन नगरपालिकाले एक सय शैयाको अक्सिजन सहितको सुविधायुक्तको निर्माण गरेपनि जिल्लाका अन्य स्थानीय तहहरु भने बजेटको अभाव देखाएर मुक दर्शक भएर बसेका छन् । 

    अचानक कुनै कोरोना संक्रमितलाई उपचार गर्नुपरे जिल्लामा औषधी र अक्सिजनको चरम आभाव रहेको छ । कोरोना संक्रमितको उपचारमा अतिआवश्यक पर्ने रेन्डीसिबर, आईभरमेटिन, एजिथ्रो माइसिन र डक्सीसाइक्लिन जसता औषधी केन्द्र सरकारको मातहतमा मात्र रहेकोले संघीय सरकारले ती अतिआवश्यक औषधिहरु जिल्लाका अस्पतालहरुमा  नपठाएको स्वास्थ्य प्रशासक नायकले बताए  ।प्रदेश न-२ का अन्य जिल्लाहरुको तुलनामा  सर्लाही जिल्ला अझ पनि यस्ता महत्वपुर्ण औषधीको पहुचबाट टाढा रहेको छ ।

    संक्रमितको अवस्था जटिल बनेपछि थप उपचारका लागि जनकपुर अथवा बिरगंज लगेपनि त्यहाँ शैयाको आभाव रहेको र कतिपयले त अस्पतालमा भर्ना समेत पाउन नसकेको स्थानीयहरुले गुनासो गरे । सर्लाहीमा कोरोनाबाट ज्यान गुमाएका चारजना पुरुषहरुको  पनि जिल्लामा उपचार सम्भव नभएपछि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

No comments:

Post a Comment