Monday, May 3, 2021

बलरामा कोरोना सँग मिल्दोजुल्दो लक्षण तथा उच्च ज्वरोबाट सर्लाहीको बलरामा ४ जनाको मृत्यु ,सयौँ स्थानीय बासिन्दाहरु बिरामी

प्रतीक फोंटो



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २०

     सर्लाहीको  बलरा नगरपालिका वडा न- ६, मिर्जापुरमा एकाएक सुरु भएको उच्च ज्वरोबाट चारजनाको मृत्यु भएको  छ भने सयौं ब्यक्तिहरु यसबाट प्रभावित भएका छन् । 

    उच्च ज्वरोबाट ८०/८५ वर्षका २ जना वृद्धसहित ४ जनाको मृत्यु भएको मेयर अभय कुमार सिंहले जनाएको छ।  मेयर सिंहका अनुसार आइतवार एकैदिन तीन जनाको गाउँमै र एक जनाको बिरगंजमा मृत्यु भएको छ । वडा न-६ मिर्जापुर र वडा न- ३ लक्ष्मीपुरका सयौँ व्यक्तिहरुमा एकैसाथ   ज्वरो  आएपछि  स्वास्थ्यकर्मीहरुलाई गाउँमा खटाएर चेकजाँच गराउन  खोज्दा गाउँलेहरु डराएर आफूलाई ज्वरो नआएको भन्दै पन्छिने गरेको  मेयर सिंहले बताए । उनीहरू पहिला कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नआएको भन्दै पन्छिन खोजेको मेयर सिहले भने । गाउँको अवस्था भयावह बन्दै गएको भएपनि बलरा नगरपालिका क्षेत्रका बासिन्दाहरु किनमेल तथा अन्य कामका लागि नजिकैको भारतीय बजार जान बन्द गरेका छैनन् ।खुलेआम रुपमा आवतजावत भइरहेको छ ।

    यसैबीच, उच्च ज्वरोसहित कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु  भेटिएपछि यसबारेमा बुझ्न सोमवार दिउँसो जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली बलरातर्फ पठाएको छ । टोलीले बिरामीहरुको अवस्था बुझ्ने र आवश्यक परे पीसीआर परीक्षणका लागि स्वाब समेत लिने काम गर्ने स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले बताए ।


No comments:

Post a Comment