Sunday, May 28, 2023

सर्लाही जिल्लामै पहिलोपटक मलंगवाको तिरुपती बालाजी अस्पतालमा सिटी स्क्यान सेवा सुरु,बिरामीको अधिक खर्च र समयको बचत


सर्लाही जिल्लामै पहिलोपटक मलंगवाको तिरुपती बालाजी  अस्पतालमा सिटी स्क्यान सेवा सुरु,बिरामीको अधिक खर्च र समयको बचत 


मनोज यादव----

सर्लाही,जेष्ठ १४

      मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा स्थित तिरुपती बालाजी पोलिक्लिनिक अस्पतालमा जिल्लामै  पहिलो पटक सिटी स्क्यान मेसिन संचालनमा आएको छ । उक्त अस्पतालको झण्डै साढे तीन करोड लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएको अस्पतालका संचालक डा.प्रभाष कुमार साहले जानकारी दिएको छ।

    मलंगवाको तिरुपती बालाजी अस्पतालमा जडान गरिएको १६ स्लाइसको सिटी स्क्यान मेसिनले मधेस प्रदेशको बिरगंज र जनकपुरमा रहेका  अस्पतालहरुको जस्तै सेवा प्रदान गर्ने डा.साहले बताएका छन् । औपचारिक रुपमा शुक्रवारदेखि संचालनमा आएको यो सिटी स्क्यान मेसिन सर्लाही जिल्लामै पहिलो पटक जडान गरिएको डा.साहले  जानकारी दिए ।

  टाउकोमा लागेको चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने अस्पतालले बताएको छ ।  सिटी स्क्यान मेसिन नहुँदा  मलंगवा लगायत आसपासका  प्रतिमहिना सयौं बिरामीहरु जनकपुर,बिरगंज र काठमाडौ  जान बाध्य थिए ।जसले गर्दा बिरामीलाई थप आर्थिक भार पर्दै आएको अस्पताल परिसरमा भेटिएका एक सेवाग्राही माधव कर्माचार्यले बताएका छन् ।

     सर्लाही जिल्लाको मलंगवामै पहिलो पटक अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएपछि यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् । टाउकोमा लागेको सामान्य चोटका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट मुक्त भएपछि यस क्षेत्रका नागरिकहरु उत्साहित भएका हुन् । सामान्य सिटी स्क्यान गर्नु पर्दा बिरामी वा घाईतेलाई बिरगंज ,जनकपुर र काठमाडौ जस्ता ठुला सहरमा  जानु पथ्र्यो अब मलंगवामै यो सेवा सुरु भएपछि समयको बचत सँगसँगै   आर्थिक भार पनि कम  हुने भयो सेवाग्राही कर्माचार्यले भने । यो मलंगवाबासीको लागि मात्र नभइ सम्पूर्ण जिल्लाबासीहरुकै लागि खुशी र गौरबको कुरा हो उनले थपे।

    मलंगवा नगरपालिका वड न-९ स्थित श्रीमती कृष्णादेवी जनता माद्यामिक विद्यालयको छेउमा रहेको तिरुपती बालाजी पोलिक्लिनिकले बिरामीहरुलाई मुटु रोग,मानसिक रोग,किड्नी रोग,छाला रोग लगायतका रोगका विशेषज्ञ डाक्टरहरु द्वारा उपचारको साथै प्याथोलोजी,एक्स-रे,भिडियो एक्स-रे लगायतका सेवाहरु दिंदै आएको अस्पताले जनाएको छ।


No comments:

Post a Comment