Thursday, May 11, 2023

पर्सा गाउँपालिकाको एक स्वास्थ्य चौकी(बर्थिङ्ग सेन्टर)लाई हेल्पिङ्ग ह्यान्डले दिए २८ लाखको मेडिकल उपकरण

 


  पर्सा गाउँपालिकाको एक स्वास्थ्य चौकी(बर्थिङ्ग सेन्टर)लाई हेल्पिङ्ग ह्यान्डले दिए २८ लाखको मेडिकल उपकरण 



मनोज यादव---

सर्लाही,बैशाख २८

   सर्लाहीको हरिपुर नगरपालिकाको एक गैरसरकारी संस्था स्थानीय समाज विकास केन्द्र(एल.एस.डि.सी)ले  हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नामक एक अमेरिकी गैरसरकारी संस्थाको आर्थिक सहयोगमा पर्सा गाउँपालिकालाई २८ लाख रुपैयाँ मुल्य बराबरको मेडिकल उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ। 

   बुधबार वडा न-५ का वडाध्यक्ष वडा  अनिल कुमार यादवको अध्यक्षता एक कार्यक्रमको आयोजना गरि हेल्पिङ्ग ह्यान्डका कार्यक्रम अधिकृत जीवा पोखरेल मार्फत गा.पा अध्यक्ष धिरेन्द्र यादव`बिस्पत´लाई  वडा न-५ मा रहेको स्वास्थ्य चौकी(बर्थिङ्ग सेन्टर)को लागि सो मुल्य बराबरको  मेडिकल उपकरण तथा स्वास्थ्यकर्मी उपचार सामाग्रीहरु हस्तान्तरण गरेको एल.एस.डि.सी का प्रोग्राम म्यानेजर अर्जुन थापाले जानकारी दिए।हस्तान्तरण गरिएका सामाग्रीहरुमा विद्युतिय पेसेन्ट बेडसहित बिरामीको उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरु र सिरिन्जदेखि अन्य अतिआवश्यक सामाग्रीहरु रहेको थापाले जनाएको छ। 

       पुर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सांसद विमला अन्सारी र गा.पा अध्यक्ष यादवको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा  हेल्पिङ्ग हर्टका महासचिव मेराज खान,एल.एस.डि.सी का प्रतिनिधि रेवती कुमारी न्यौपाने   स्थानीय समाजसेवी,भद्रभलादमी,स्वास्थ्य चौकी तथा गाउँकार्यपालिकाका कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

   हस्तान्तरण कार्यक्रमको अवसरमा  बोल्दै गा.पा अध्यक्ष यादवले गरिब तथा विपन्न समुदायको लागि भनेर हेल्पिङ्ग ह्यान्ड र एल.एस.डि.सी ले प्रदान गरेको यस्ता उपकरण र स्वास्थ्य सामाग्रीहरुको सहायताले  यस स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टरमा आउने बिरामीहरुको उपचारमा ठूलो सहयोग पुग्ने बताए।साथै उनले यस क्षेत्रका हजारौं गरिब जनताहरुलाई लाभ हुने गरि गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै  पर्सा गाउँकार्यपालिकाको तर्फबाट उनीहरूलाई कदर पत्र सहित मायाको चिनो उपहार स्वरुप  प्रदान गरेका थिए।

     जिल्लाको हरिपुर नगरपालिका-१,हजारबिधामा रहेको एल.एस.डि.सी संस्थासँगको सहकार्यमा हेल्पिङ्ग ह्यान्डले आफ्नो कार्यक्षेत्रमा शुद्ध खाने पानीको लागि फिल्टरेसन प्लान्टहरुको निर्माण गर्नुका साथै गत वर्षदेखि  हरिपुर नगरपालिका र पर्सा गाउँपालिकाका गरिब तथा विपन्न समुदायको लागि भनेर शिक्षा,स्वास्थ्य, सिप विकास,क्षमता अभिबृद्धि र राहत वितरण कार्यक्रमहरुको साथसाथै  ५० जना बाबुआमा गुमाएका टुहुरा  बालबालिकाहरुको अभिभावक बनेर उनीहरूको  पढाइलाई निरन्तरता दिन राहत स्वरुप जनही नगद १२ हजार रुपैयासहित खाद्यान्न,शैक्षिक सामाग्री र मौसम अनुसारको लत्ताकपडाहरु प्रदान गर्दै आइरहेको र  ती कार्यक्रमहरु विभिन्न प्याकेजको रुपमा ५ वर्ष सम्म निरन्तर चलिरहने एल.एस.डि.सी का प्रोग्राम म्यानेजर थापाले जानकारी दिए।  

     सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भइसके पश्चात् यसै दिन (बुधबार) पर्न गएको एल.एस.डि.सी का प्रोग्राम म्यानेजर थापा र  सोही संस्थाकी प्रतिनिधि रेवती कुमारी न्यौपानेको वैवाहिक वर्षगाँठको अवसरमा एउट छोटो कार्यक्रमको आयोजना गरि उपस्थित अतिथिहरुले  उनीहरुको सफल वैवाहिक जिवनको कामना गर्दै उपहारहरु प्रदान गरेका थिए। 

   कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नवल किशोर महतोले गरेका थिए।


No comments:

Post a Comment