Thursday, May 25, 2023

सर्लाहीको नेपाल-भारत नाकामा प्रहरीकै सेटिङ्गमा तस्करी , करोडौंको राजस्व चुहावट घुमुवाको नाममा नक्कली प्रहरी परिचालित

 


सर्लाहीको नेपाल-भारत नाकामा प्रहरीकै सेटिङ्गमा तस्करी , करोडौंको राजस्व चुहावट

 घुमुवाको नाममा नक्कली प्रहरी परिचालित


मनोज यादव---

सर्लाही,जेष्ठ ११

    सर्लाहीको नेपाल-भारत सिमानाका स्थित विभिन्न ठाउँबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । बिहेवारीको सिजनमा भारतीय सामाग्रीहरुको माग बढी हुने गरेकोले त्यस्ता सामानको ओसारपसारमा तस्करहरुको सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट  तस्करी भइरहेको हो ।

    सर्लाही जिल्लास्थित संग्रामपुर,नारायणपुर,पर्सा,सखुअवा, त्रिभुवननगर, मलंगवा, भाँडसर, फेन्हारा ,अर्नाहा, मधुवनी र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुने गरेको पाइएको छ। भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा विभिन्न किसिमका कपडा,किराना तथा खाद्यान्नका सामान, हार्डवेयरका सामान,छड, तेल, चामल, मलखाद्य,विभिन्न गाडीका स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा,पशु चौपाया , कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले  नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको पनि चोरी निकासी गर्दै आएका छन् । यसरी दिनहुँजसो खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

    नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेता पनि तस्करी नियन्त्रणमा भने उनीहरुको खासै भूमिका देखिदैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा तस्करी हुँदै आइरहेको स्थानीयहरुले  दावी गरेका छन्  ।सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु डिउटीको नाममा तस्करहरुसँग पैसा असुल्ने काममा मात्र संंलग्न रहने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

   स्रोतका अनुसार जिल्लामा अहिले मिलेमतोमा तस्करीको लाइन संचालन  भइरहेको छ।सिमानाकाका चौकी तथा बिओपीलाई  मासिक रकम(नजराना) दिएर जतिसुकै सामानहरु भित्राउन सकिन्छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीले घुमुवा राख्ने नियम नभए पनि घुमुवाको नाममा बिना वर्दीका नक्कली प्रहरीहरु जिल्लाका विभिन्न नाकामा खुलेआम घुमेर रकम असुली गर्दै आइरहेका छन् ।

     

No comments:

Post a Comment